१४ असार २०८३
राक्सिराङ, मकवानपुर
मकवानपुरको राक्सिराङ गाउँपालिका–३ लावतीमा एक विपन्न सुत्केरी महिलाको परिवारका लागि श्रमदान र आर्थिक सहयोग जुटाएर घर निर्माण कार्य सुरु गरिएको छ। आफ्नै घर नहुँदा नवजात शिशुसहित कष्टकर जीवन बिताइरहेकी सुनिता प्रजा र बाबुराम प्रजाको परिवारका लागि यो अभियान थालिएको हो।
श्रम संस्कृति पार्टी मकवानपुरका जिल्ला सह–सचिव रुद्र मुक्तानको संयोजकत्वमा तथा केन्द्रीय सदस्य मन्दिरा मुक्तानको पहलमा हालसम्म कुल १ लाख ३३ हजार रुपैयाँ आर्थिक सहयोग संकलन भइसकेको छ। उक्त रकमबाट निर्माण सामग्री खरिद गरिनेछ भने राक्सिराङ गाउँपालिकाले घरका लागि आवश्यक जस्तापाता सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
स्थानीय श्रमदाताहरूको भौतिक योगदान र दाताहरूको आर्थिक सहयोगको संयुक्त प्रयासमा घर निर्माण कार्य अघि बढाइएको हो। यसअघि पनि यसै क्षेत्रमा एक विपन्न चेपाङ परिवारका लागि श्रमदानबाटै घर निर्माण सम्पन्न भइसकेको छ।
यसैबीच, निर्माण कार्यलाई तीव्रता दिन भोलि असार १५ गते बिहान ८:०० बजेदेखि घरको डिपिसि ढलान गर्ने कार्यतालिका तय गरिएको छ। आयोजकले राक्सिराङ गाउँपालिका–३ लावतीभन्दा माथि रहेको निर्माणस्थलमा उपस्थित भई श्रमदान गर्न सम्पूर्ण स्थानीय श्रमदाताहरूलाई आह्वान समेत गरेको छ।
श्रमदानबाट राक्सिराङमा सुत्केरी महिलाको घर निर्माण सुरु


















































