२०८३ साउन ५, मंगलबार
१२:०१:५५ दिउँसो

अब न्यूनतम पारिश्रमिक ४० हजार, अधिकतम १ लाखभन्दा बढी

Sahayatri Logo Square
Sahayatri Khabar
२०८३ जेठ १५, शुक्रबार

काठमाडौँ, १५ जेठ २०८३

विगत चार वर्षदेखि रोक्किएको राष्ट्रसेवक कर्मचारीहरूको तलब सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत भारी वृद्धि गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज संसद्‌मा बजेट भाषण प्रस्तुत गर्दै कर्मचारीहरूको तलब कुल २१ प्रतिशतले बढाउने घोषणा गर्नुभएको हो। यो वृद्धिसँगै अब सरकारी कर्मचारीको न्यूनतम तलब ४० हजार रुपैयाँ पुगेको छ।

​तलब वृद्धिको नयाँ सूत्र र वर्गीकरण

​अर्थमन्त्री डा. वाग्लेका अनुसार यसपटकको वृद्धि वैज्ञानिक र कार्यसम्पादनमा आधारित रहेको छ। कुल २१ प्रतिशतको वृद्धिलाई निम्नानुसार विभाजन गरिएको छ:

  • आधारभूत तलबमान: १० प्रतिशत वृद्धि (साविकको महंगी भत्तालाई यथावत् राखिएको छ)
  • मासिक प्रोत्साहन भत्ता: कार्यसम्पादनका आधारमा थप १० प्रतिशत
  • ग्रेड वृद्धि: १ प्रतिशत
  • विगतको सिफारिस: तीन वर्षअघि (२०७९ फागुन) उच्चस्तरीय तलब सुविधा आयोगले न्यूनतम तलब ३५ हजार बनाउन सिफारिस गरे पनि त्यो कार्यान्वयन हुन सकेको थिएन।
  • हालको मुख्य सचिवको प्रतिवेदन: मुख्य सचिव सुमनराज अर्याल नेतृत्वको ‘तलब तथा भत्ता पुनरावलोकन समिति’ ले तलब नबढ्दा कर्मचारीहरूमा नकारात्मक मनोवैज्ञानिक असर परेको र कार्यसम्पादन खस्किएको भन्दै तत्काल तलब बढाउन सरकारलाई कडा सिफारिस गरेको थियो। सोही प्रतिवेदनलाई आधार मान्दै सरकारले यो लोकप्रिय निर्णय लिएको हो।