२३ असार २०८३
राक्सिराङ ।
मकवानपुरको राक्सिराङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ६५ करोड ३१ लाख ७९ हजार रुपियाँ बराबरको वार्षिक बजेट, नीति तथा कार्यक्रम स्वीकृत गरेको छ। पालिकाको २० औँ अधिवेशनमा उपाध्यक्ष वनस्तम थिङले प्रस्तुत गर्नुभएको यस बजेटमा चालु तर्फ ३७ करोड ८६ लाख ७३ हजार र पूँजीगततर्फ २७ करोड ४५ लाख ६ हजार रुपियाँ विनियोजन गरिएको छ। क्षेत्रगत रूपमा सुशासनमा १६ करोड ३९ लाख, पूर्वाधारमा १२ करोड २५ लाख, आर्थिक विकासमा २ करोड ९३ लाख र सामाजिक विकासमा २ करोड ८६ लाख रुपियाँ छुट्ट्याइएको छ। यो बजेट बेहोर्न सङ्घीय सरकारबाट ४६ करोड ८४ लाख, प्रदेश सरकारबाट ८ करोड ६९ लाख र आन्तरिक स्रोतबाट ९ करोड ७७ लाख रुपियाँ परिचालन गरिनेछ।
बजेटसँगै अध्यक्ष राजकुमार मल्लले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासलाई मुख्य आधार बनाइएको छ। विशेष गरी चेपाङ समुदायको पोषण सुधार, किशोरी गर्भवती न्यूनीकरण, पशु गर्भाधान सेवा र सुत्केरी आमा पोषिलो खाना कार्यक्रमलाई प्राथमिकता दिइएको छ। साथै, युवाहरूलाई व्यावसायिक कृषिमा आकर्षित गर्दै खाद्य सुरक्षा कायम गर्न र स्थानीय गौरवका ठूला आयोजनाहरू अघि बढाउन बजेटले जोड दिएको छ। मकवानपुरका १० स्थानीय तहमध्ये राक्सिराङ बजेट ल्याउने नवौँ पालिका बनेको छ।




















































