२०८३ साउन ७, बिहीबार
६:५९:४० बिहान

एनसिएफ नेपाल बागमती युवाद्वारा ३ दिने फोटोग्राफी तालिम सम्पन्न

Sahayatri Logo Square
Sahayatri Khabar
२०८३ जेठ २५, सोमबार

चितवन, २०८३ जेठ २५
नेपाल राष्ट्रिय मण्डली संगति (एन.सि.एफ.नेपाल) बागमती प्रदेश युवा आयोगको आयोजनामा ३ दिने फोटोग्राफी तालिम भव्य रूपमा सम्पन्न भएको छ। प्रविधिको आधुनिक युगमा इसाई युवाहरूको आन्तरिक क्षमता र सीपलाई अभिवृद्धि गर्ने उद्देश्यका साथ आयोजित उक्त तालिम गत जेठ २२ गतेदेखि सुरु भई २४ गते समापन भएको हो।

नेपाल गोस्पल फिल्म एकेडेमीको विशेष प्राविधिक समन्वयमा सञ्चालित सो कार्यक्रम एनसिएफ नेपाल बागमती प्रदेश युवा आयोगका अध्यक्ष प्रकाश तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो।
विषयविज्ञ प्रशिक्षकहरूद्वारा व्यावसायिक प्रशिक्षण
तालिमलाई पूर्ण रूपमा व्यावहारिक र व्यावसायिक बनाउन नेपाल गोस्पल फिल्म एकेडेमीका वरिष्ठ तथा दक्ष पदाधिकारीहरूले प्रशिक्षण दिनुभएको थियो। प्रशिक्षक टोलीमा नेपाल गोस्पल फिल्म एकेडेमीका डाईरेक्टर आशिष रिजाल, फिल्म मिनिस्ट्री कोअर्डिनेटर बर्नबास चौधरी,
एकेडेमी प्रोडक्सन म्यानेजर फ्रान्सिस उराओ रहनुभएको थियो।

उक्त तालिममा बागमती प्रदेशका विभिन्न स्थानबाट छनोट भई आएका २० जना उत्सुक युवाहरूको उत्साहजनक सहभागिता रहेको थियो। ३ दिनसम्म सञ्चालित सघन सत्रहरूमा सहभागीहरूलाई क्यामेराको प्राविधिक ज्ञान, कम्पोजिसन, लाइटिङ र भिजुअल स्टोरीटेलिङका आधारभूत तथा आधुनिक सिद्धान्तहरू, ईडिटिङ लगायत सिकाइएको थियो।
तालिमको सफलतापूर्वक समापनसँगै सहभागी युवाहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो भने अमूल्य योगदान पुर्‍याएका प्रशिक्षकहरूलाई कृतज्ञता स्वरूप ‘मायाको चिनो’ प्रदान गरिएको थियो।

समापन समारोह कार्यक्रमका प्रमुख अतिथि एनसिएफ नेपालका केन्द्रीय कोषाध्यक्ष रेभ. पास्टर वीर बहादुर तामाङले प्रविधिको माध्यमबाट परमेश्वरको राज्य विस्तारमा टेवा पुग्ने बताउनुभयो। आधुनिक युगमा सञ्चार र प्रविधिको ठूलो महत्त्व रहेको औंल्याउदै उहाँले भन्नुभयो: यस प्रकारको विशिष्ट फोटोग्राफी तालिमले परमेश्वरको राज्य विस्तारमा ठूलो टेवा पुर्‍याउने विश्वास हामीले लिएका छौँ। मिडिया र कलाको माध्यमबाट सत्यको सन्देश फैलाउन युवाहरूको भूमिका अग्रणी हुन्छ। त्यसैले, संस्थाको तर्फबाट आगामी दिनमा पनि इसाई युवाहरूको क्षमता र सीपमा अझ बढी निखार ल्याउन विभिन्न रचनात्मक र सीपमूलक कार्यक्रमहरू पस्कन हामी सदैव प्रतिबद्ध रहेको उहाँले बताउनुभयो।

कार्यक्रममा विभिन्न सामाजिक, धार्मिक तथा पत्रकारिता क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको आतिथ्यता रहेको थियो।
कार्यक्रममा केन्द्रीय कोषाध्यक्ष
रेभ. पास्टर वीर बहादुर तामाङ, केन्द्रीय युवा आयोगका सचीव सचिव वीर रत्न दोङ, बागमती प्रदेशका सचीव पास्टर शेर बहादुर मुक्तान, सदस्य रेभ. पास्टर नारायण भगत, तामाङ पत्रकार संघ चितवनका उपाध्यक्ष सन्तोष तामाङ, कोषाध्यक्ष युबक तामाङ, पास्टर रुपक तामाङ लगायतको बिशेष सहभागीता रहेको थियो।

वर्तमान प्रविधिको युगमा युवाहरूलाई केवल सैद्धान्तिक ज्ञानमा मात्र सीमित नराखी स्वरोजगार र आत्मनिर्भरतातर्फ उन्मुख गराउन यो तालिम कोशेढुङ्गा सावित हुने विश्वास लिइएको छ। तालिम निकै फलदायी, समयसान्दर्भिक र व्यावहारिक रहेको भन्दै सहभागी युवाहरूले आगामी दिनमा आफ्ना स्थानीय मण्डली तथा समाजमा यहाँ सिकेका सीपहरूलाई पूर्ण रूपमा सदुपयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।