२ साउन २०८३
मकवानपुर, मनहरी।
मकवानपुर जिल्लाको मनहरी गाउँपालिका वडा नम्बर ६, लोथर निवासी १२ वर्षीय बालक दिप्सन तामाङ विगत एक वर्षदेखि गम्भीर स्वास्थ्य समस्यासँग लडिरहेका छन्। हाल उनी भरतपुरस्थित चितवन मेडिकल कलेज (सीएमसी) अस्पतालमा उपचाररत छन्।
चिकित्सकहरूका अनुसार बालक दिप्सन ‘एचएलएच’ (HLH – Hemophagocytic Lymphohistiocytosis) नामक निकै जटिल र दुर्लभ बोनम्यारो सम्बन्धी रोगबाट पीडित छन्।
विगत एक वर्षदेखि निरन्तर अस्पताल धाउँदा र उपचार गराउँदा हालसम्म १५ लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको बुबा दिपक तामाङले बताए। भएको जायजेथा र जायजेथा बेचबिखन तथा ऋणधन गरेर अहिलेसम्मको खर्च धानिए पनि अब परिवार पूर्ण रूपमा आर्थिक संकटमा परेको छ।
आफ्नो एक्लो छोरालाई बचाउन बुबा दिपकले आँसु झार्दै देश-विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूसँग आर्थिक सहयोगका लागि अनुनय-विनय गरेका छन्।
भएको एउटा छोरा ओछ्यानमा छटपटिएको हेर्न सक्ने शक्ति हामीमा छैन। भएको सबै पैसा उपचारमै सकियो। अब हामीसँग केही बाँकी छैन। कृपया मेरो छोरालाई बचाइदिनुहोस्,”बुबा दिपक तामाङले भक्कानिँदै अपिल गरे।
उपचारमा संलग्न चिकित्सकहरूका अनुसार दिप्सनको पूर्ण उपचारका लागि बोनम्यारो ट्रान्सप्लान्ट (प्रत्यारोपण) गर्नुपर्ने हुन्छ। यो जटिल प्रकृतिको उपचार नेपालमा सम्भव नरहेकाले तत्काल भारत (इन्डिया) लैजानु पर्ने चिकित्सकको सुझाव छ।
भारतमा गरिने यस प्रत्यारोपण र उपचारका लागि मात्रै करिब ४० लाख नेपाली रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। आर्थिक अवस्था अत्यन्तै नाजुक भएको तामाङ परिवारका लागि यति ठूलो रकम जुटाउनु असम्भव प्रायः बनेको छ।
एउटा निर्दोष बालकको अमूल्य जीवन बचाउन र तामाङ परिवारको ओठमा खुसी फर्काउन स्थानीय सरकार, सामाजिक संघ-संस्था, देश तथा विदेशमा रहनुहुने सहयोगी मनहरूलाई स्वतःस्फूर्त रूपमा सहयोग गरिदिनुहुन हार्दिक अपिल गरिन्छ। तपाईंको सानो सहयोगले दिप्सनले नयाँ जीवन पाउन सक्छ।
सहयोग तथा विस्तृत जानकारीका लागि सिधै सम्पर्क गर्न सक्नुहुनेछ:
सहयोगको लागि सम्पर्क:
बुवा: दिपक तमाङ – 9869698026 eSewa No
बैंक खाता: A/C 20607010101057 Global IME
ठेगाना: मनहरि-६, मकवानपुर




















































