२०८३ जेठ २८, बिहीबार
६:००:२२ बेलुका

रत्ननगर वडा नं. १५ को आगामी वर्षका लागि ११० लाखको बजेट अनुमान

Sahayatri Logo Square
Sahayatri Khabar
२०८३ जेठ २८, बिहीबार

रत्ननगर, चितवन।

रत्ननगर नगरपालिका वडा नम्बर १५ चितवनको आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक योजना तर्जुमा बैठक आज एक विशेष कार्यक्रमका बीच सम्पन्न भएको छ। वडा कार्यालयको सभाहलमा आयोजित उक्त बृहत् भेला तथा बैठकमा वडाको समग्र विकास, बजेट विनियोजन र आगामी रणनीतिबारे सरोकारवालाहरूबीच छलफल भएको छ।

​वडा अध्यक्ष आसिक तामाङको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, महिला, बालबालिका, खेलकुद तथा ज्येष्ठ नागरिक लगायतका विभिन्न विषयगत क्षेत्रका प्रतिनिधिहरूको उत्साहजनक सहभागिता रहेको थियो। बैठकमा वडाभित्रका अधुरा योजनाहरूलाई पूर्णता दिने र नयाँ योजनाहरूलाई प्राथमिकताका आधारमा छनोट गर्ने विषयमा सहभागीहरूले आ-आफ्नो धारणा राखेका थिए।

​योजना तर्जुमा बैठकलाई सम्बोधन गर्दै वडा अध्यक्ष तामाङले आगामी आर्थिक वर्षका लागि वडाको अनुमानित बजेट रु. १ करोड १० लाख रहने जानकारी दिनुभयो।
सिलिङ बजेट १ करोड २५ लाख भएपनि वडामा खर्च हुने १ करोड १० लाख मात्र रहेको स्पष्ट पार्नुभयो।

​”बजेटको आकार केही घटेर आउने सम्भावना भए तापनि उपलब्ध स्रोत र साधनलाई अधिकतम सदुपयोग गर्दै न्यायोचित र जनमुखी योजनाहरूलाई प्राथमिकता दिइनेछ,” वडा अध्यक्ष तामाङले भन्नुभयो।

​बैठकमा उपस्थित स्थानीय सामाजिक अगुवा, बुद्धिजीवी तथा विभिन्न क्षेत्रका विषयगत प्रतिनिधिहरूले वडाको चौतर्फी विकासका लागि शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार, दिगो पूर्वाधार निर्माण तथा लक्षित वर्ग (महिला, बालबालिका, एकल महिला र वृद्धवृद्धा) का लागि प्रभावकारी कार्यक्रमहरू समावेश गर्न सुझाव दिएका छन्।

​वडा कार्यालयले आजको बैठकमा प्राप्त भएका रचनात्मक सुझाव र सरोकारवालाहरूको मागलाई वर्गीकरण गरी अन्तिम बजेट तथा कार्यक्रम तर्जुमा गर्ने र आगामी नगर सभामा पेस गर्ने जनाएको छ। कार्यक्रममा दर्जनौँ सामाजिक अभियन्ता, स्थानीय बासिन्दा र कर्मचारीहरूको उपस्थिति रहेको थियो।