cmc ads

मनहरी उपाध्यक्ष कप भलिबलको उपाधि ४ नम्बर वडालाई

Sahayatri Khabar fav icon
Sahayatri Khabar
February 10, 2024

मनहरी – प्रथम उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिताको उपाधि मनहरी गाउँपालिका ४ नं वडाले हात पारेको छ । प्रतियोगितामा ३ नं वडाको टिमले उपविजेतामा चित्त बुझायो ।
मनहरी गाउँपालिका– ४ गोलघरस्थित खेल मैदानमा माघ २३ गतेदेखि जारी प्रथम उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिताको शुक्रबार भएको फाइनल खेलको पाँचौ सेटमा १५–११ अंकमा ४ नं वडाले जीत निकालेको हो । त्यसअघिका भएका ४ सेट खेलमध्ये पहिलो सेट ४ नं वडाले २५–२३ अंकमा सकसका साथ जितेको थियो ।
त्यसपछिका दोस्रो र तेस्रो सेटमा २५–१९ र २५–१७ मा लगातार वडा नं ३ ले जीत हासिल गरेपछि अत्तालिएको ४ नं वडाले पुनः चौथो सेटमा ३ नं वडालाई ब्रेक लगाएको थियो । दुबै टिमले २, २ सेट जीत हासिल गरेपछिको अन्तिम १५ अंकको सेटमा ४ नं वडाले ३ नं वडालाई १५–११ मा पराजित गरिदिएको थियो ।
यसअघि बिहीबार भएको सेमिफाइनल खेलमा वडा नं ३ ले वडा नं ७ लाई र वडा नं ४ ले वडा नं ५ लाई पराजित फाइनल यात्रा तय गरेको थियो । बिजेता र उपबिजेता टिमलाई जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, मनहरी गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगर लगायत प्रमुख अतिथि, बिशिष्ट अतिथि र अतिथिहरुले शिल्ड, प्रमाण पत्र र पुरस्कार रकम बितरण गरेका थिए ।
पहिलो हुने ४ नं वडाको टिमले ५० हजार नगदसहित शिल्ड र प्रमाणपत्र, द्वित्तीय हुने ३ नं वडाले ३० हजार रुपैयाँ नगदसहित शिल्ड र प्रमाणपत्र प्राप्त गरेको थियो । प्रतियोगितामा बेस्ट सटर ४ नं वडाका प्रज्वल अधिकारी, बेस्ट डिफेन्डर वडा नं ३ का इमान सिं थिङ, बेस्ट ब्लकर वडा नं ३ का अजित थिङ, बेस्ट स्पाइकर वडा नं ३ कै आशिष मुक्तान, उदयीमान खेलाडी वडा नं ४ का रञ्जन बिडारी घोषित भए ।
उनीहरु प्रत्येकले ट्रफी, प्रमाणपत्र तथा नगद ३ हजार रुपियाँ प्राप्त गरेका थिए । त्यसैगरी बेस्ट कोच ४ नं वडाका रामेश्वर कार्की घोषित भए । बेस्ट प्लेयरको रुपमा प्रमाणपत्र, ट्रफी र नगद ५ हजार रुपियाँसहित वडा नं ४ का जोसन गौतमले प्राप्त गरे ।
पुरस्कार बितरण तथा प्रतियोगिता समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि ललित घलानले खेल क्षेत्रमार्फत युवाको व्यक्तित्व र नेतृत्व विकास गर्ने र अनुशासन सिकाउने कुरामा स्थानीय सरकारले गरिरहेको योगदानको चर्चा गरे । कार्यक्रममा मनहरी गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगर, २ नं वडाध्यक्ष राजकुमार पाख्रीन, नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि शंकर न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीका २ नं क्षेत्रका सभापति सन्जीव पाठक लगायतले शुभकामना व्यक्त गरेका थिए । आयोजक मनहरी खेलकुद विकास समितिका अध्यक्ष बिरु लामाको सभाध्यक्षतामा पुरस्कार बितरण तथा समापन कार्यक्रम आयोजना भएको हो ।

goreto ads