आज राक्सिराङ आउँदै कुलमान, चेपाङलाई बिजुली सुचारु गरिने

Sahayatri Khabar fav icon
Sahayatri Khabar
March 24, 2025

११ चैत्र २०८१
राक्सिराङ । उज्यालो नेपालका नायकका रुपमा चिनिएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सोमबार राक्सिराङ आउने भएपछि राक्सिराङबासी उत्साहित छन् ।

देशमा भइरहेको १८ घण्टासम्मको लोडसेडिङ हटाएर वाहवाही कमाएका घिसिङलाई राक्सिराङमा भव्य स्वागतको तयारीसमेत भएको छ ।
गाउँपालिका कार्यालयले बिशेष सम्मानका साथ घिसिङलाई चेपाङलाई बिजुली कार्यक्रमको शुभारम्भ गराउन राक्सिराङ निम्त्याएका हो । घिसिङले राक्सिराङ ९ खैराङमा रहेको ट्रान्समिटर सुचारु गराएर चेपाङलाई बिजुली कार्यक्रम सुचारु गर्ने तयारी छ ।
बिशेष समारोहका बीच घिसिङले विपन्न चेपाङ तामाङ समुदायलाई निशुल्क मिटर वितरण गर्ने पनि कार्यक्रम रहेको राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताउनुभयो ।
उहाँले गाउँपालिकाले प्रतिष्ठाको रुपमा लिएर आव २०७६/७७ देखि नै चेपाङलाई बिजुली कार्यक्रम अघि बढाएको स्मरण गर्दै प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ पुर्ण साथ दिएको उल्लेख गर्नुभयो । योसँगै अब राक्सिराङको सबै वडामा विद्युतको पहँुच पुगेको उहाँले बताउनुभयो ।
सर्वसाधारणमा नायकको छवि बनाएका घिसिङलाई राक्सिराङमा स्वागत गर्न स्थानीयबासीसमेत उत्साहित छन् । चेपाङ बाहुल्य क्षेत्रमा कुलमान पहिलोपटक आउनु लाग्नुभएको हो ।
संविधानसभा सदस्य गोविन्दराम चेपाङ, बागमती प्रदेशका पुर्वराज्यमन्त्री सन्त बहादुर प्रजा, निवर्तमन बागमती प्रदेश सभा सदस्य ओमबहादुर ग्लान लगायत गाउँपालिकाका जनप्रतिनिधिहरु सबै कुलमानको स्वागत र सम्मानका लागि कार्यक्रममा सहभागी हुने तयारी छ । उनीहरुले सार्वजनिक रुपमै कुलमानको सम्मान तथा स्वागतमा सहभागी हुन आव्हान गर्नुभएको छ ।
राक्सिराङको ९ नं. वडा कार्यालयले बिशेष स्वागत तथा सम्मानको तयारी गरेको छ ।