१३ जेठ, मकवानपुर ।
मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ६ स्थित श्री राष्ट्रिय माध्यमिक विद्यालय सिलिङ्गेमा जुत्ता राख्ने र्याक पल्टिएर गम्भीर घाइते भएका चार वर्षीय बालक एरोन चेपाङ (प्रजा) को दुःखद निधन भएको छ।
चितवनको भरतपुरस्थित सरकारी अस्पतालको सघन उपचार कक्ष (ICU) मा उपचाररत बालकको जेठ १२ गते सोमबार राती ११ बजे निधन भएको अस्पताल प्रशासनले जनाएको छ। हाल मृतक बालकको शवलाई पोस्टमार्टमका लागि अस्पतालकै शवगृहमा राखिएको छ।
छोराको मृत्युको खबरले आमा वैदेशिक रोजगारीमै बेहोस
घरको ऋण तिर्नका लागि कुवेतमा वैदेशिक रोजगारीमा रहेकी बालककी आमा अबिशा प्रजा छोराको मृत्युको खबर सुन्नासाथ बेहोस भई ढलेकी छिन्। हाल उनको कुवेतस्थित एक अस्पतालमा भर्ना गरेर उपचार भइरहेको पारिवारिक स्रोतले जनाएको छ। घरमा भएका एकमात्र सन्तानको असामयिक निधन र आमा पनि विदेशमा अस्पताल भर्ना भएपछि पीडित परिवार यतिबेला गहिरो शोक र स्तब्धतामा छ।
कसरी भएको थियो घटना?
गत जेठ ७ गते बिहीबार विद्यालयमा शिशु कक्षामा अध्ययनरत सिमरगाउँ निवासी एरोन खेल्ने क्रममा जुत्ता राख्ने फलामको र्याक उनीमाथि पल्टिएको थियो। घटनालगत्तै विद्यालयका शिक्षकद्वय सरोज थापा मगर र वृन्दा लामिछानेको समन्वयमा उनलाई तत्काल भण्डारा अस्पताल पुर्याइएको थियो।
त्यहाँ उपचार सम्भव नभएपछि बुबा रामकुमार प्रजा र आफन्तले थप उपचारका लागि भरतपुर अस्पताल पुर्याएका थिए। र्याकले थिचेका कारण बालकको आन्द्रा, मिर्गौला (किड्नी), फोक्सो र मुटु जस्ता संवेदनशील अंगहरूमा गम्भीर चोट लाग्नुका साथै संक्रमण फैलिएकाले चिकित्सकहरूले उनलाई बचाउन सकेनन्।
विद्यालयको लापरबाहीप्रति परिवार आक्रोशित, कानुनी कारबाहीको चेतावनी
बालकका बुबा रामकुमार प्रजाले विद्यालय व्यवस्थापन समिति र कर्मचारीहरूको घोर लापरबाही र गैरजिम्मेवारपनका कारण आफ्नो एकमात्र सन्तान गुमाउनुपरेको आरोप लगाउनुभएको छ। विद्यालयमा बालबालिकाको सही रेखदेख र भौतिक पूर्वाधारको सुरक्षित व्यवस्थापन नहुँदा यो भयानक दुर्घटना घटेको भन्दै पीडित परिवारले विद्यालय प्रशासन र जिम्मेवार व्यक्तिहरू विरुद्ध कानुनी कारबाहीका लागि अदालत जाने चेतावनी दिएको छ।


















































