२०८३ बैशाख ४
राक्सिराङ/मकवानपुर ।
श्रम संस्कृति पार्टी, राक्सिराङ गाउँ कमिटीको आयोजनामा आगलागीबाट घर बिहिन भएकी राक्सिराङ्ग गाउँपालिका–३, लावतीकी निशा माया चेपाङको परिवारलाई नयाँ घर निर्माण गरी हस्तान्तरण गरेको छ ।

गत चैत ४ गते आगलागीबाट निशा माया चेपाङको घर पूर्ण रूपमा क्षति भएको थियो । उक्त घटनापछि पार्टीका केन्द्र, जिल्ला, पालिका तथा वडा तहका कार्यकर्ताले आर्थिक रकम संकलन गरी तत्काल राहतस्वरूप खाद्यान्न तथा कपडा सहयोग गरेका थिए। तत्पश्चात पार्टीका जिल्लास्तरीय बैठक डाकी राक्सिराङकी बिपन्न निशा माया चेपाङको घर श्रमदान गरि एक महिना भित्र हस्तान्तरण गर्ने निर्णय भएको थियो। जुन निर्णय अनुसार आर्थिक सहयोग संकलन र श्रमदानमार्फत एक महिनाभित्रै निर्माण सम्पन्न गरी आज(शुक्रवार) एक विशेष कार्यक्रम गरि दुई कोठे नयाँ घर हस्तान्तरण गरिएको हो।
घर निर्माण समितिका संयोजक एवम् पार्टीका जिल्ला सह-सचीव रुद्र मुक्तानले स्वागत मन्तब्य सहित घर निर्माणको पुर्ण आयब्यय सुनाएका थिए। उनले श्रमदान संगै आर्थिक सहयोग गरि घर हस्तान्तरण गर्न सफल भएकोमा खुशी ब्यक्त गर्दै सबै सह्योगीदातालाई धन्यवाद दिए। बिपन्न चेपाङ दम्पती घर बिहिन भएको देखेपछी सहयोग गरेर घर बनाउनुपर्छ भन्ने आंट आएको उनले बताए। दुई कोठे घर करिव सांढे तीन धुर क्षेत्रफलमा चेपाङ दम्पतीकै ऐलानी जग्गामा निर्माण गरिएको मुक्तानले बताए। वडाकै अत्यन्तै बिकट गाउँमा बनेको भएपनि विभिन्न ब्यक्ती, संघसंस्था तथा पार्टी कार्यकर्ताको सह्योग, जिन्सी सामान सहयोगका कारण २ लाख ५ हजार १ सय ६६ रुपैयाँमै निर्माण सम्पन्न गर्न सफल भएको उनले बताए ।

राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा रिबन काटी घरको चाबी चेपाङ परिवारलाई हस्तान्तरण गरिएको थियो । सोही अवसरमा अध्यक्ष मल्लले पीडित परिवारको समस्या समाधानमा गरिएको पहलको खुलेर प्रशंसा गर्दै श्रम संस्कृति पार्टी पंक्तिलाई धन्यवाद प्रकट गरे, साथै नागरिकता नभएका कारण सेवा सुविधाबाट वञ्चित भएको विषयमा समेत पहल गर्ने बताए।

घर हस्तान्तरण कार्यक्रममा श्रम संस्कृति पार्टीका केन्द्रीय सदस्य मन्दिरा मोक्तानले विपद्मा परेका नागरिकको साथमा पार्टी सधैं साथमा रहिरहने प्रतिबद्धता व्यक्त गरिन् ।

यसैबीच राक्सिराङ ३ का वडा अध्यक्ष उत्तम लामाले श्रम संस्कृति पार्टी मकवानपुर पंक्तिले आफ्नो वडामा गरेको कार्यप्रती प्रशंसा गर्दै दुखी, गरिब र बिपन्नलाई सदैब वडाले प्राथमिकतामा राखी सहयोग गरिरहेको बताए। उनले चेपाङ परिवारलाई घर जलेको जानकारी पाउनसाथ वडाको तर्फबाट त्रीपाल लगायत राहत स्वरुप सहयोग गरेका थिए।

यसैगरी श्रम संस्कृति पार्टी मकवानपुरका अध्यक्ष युनेश लामाले घर निर्माण गरि हस्तान्तरण गरिएको कार्यक्रम बागमती प्रदेशमै पहिलो र ऐतिहासिक भएको ठोकुवा गर्दै बिपन्न र कमजोर ब्यक्तिहरुलाई पार्टी सदैब सहयोग गरि अघि बढिरहने प्रतिबद्धता जनाए।

घर हस्तान्तरण कार्यक्रममा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज सुन्दर लामा, पुर्ब वडा अध्यक्ष बाबुलाल स्याङतान, बरिस्ठ समाजसेवी निश्चल थिङ, जिल्ला उपाध्यक्ष ध्रुब प्रसाद दाहाल, जिल्ला प्रबक्ता प्रकाश तामाङ लगायत पार्टीका विभिन्न पालिका, वडाबाट समेतको बाक्लो उपस्थिति रहेको थियो ।


जिल्ला सचिव युवा राईले कार्यक्रमको सहजीकरण गरेका थिए भने पालिका अध्यक्ष मान बहादुर मुक्तानको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

















































