माघ १६ देखि मनहरी महोत्सव हुने

Sahayatri Khabar fav icon
Sahayatri Khabar
January 16, 2024

२ माघ २०८०


मनहरी – पश्चिम् मकवानपुरको मनहरी बजारमा आगामी माघ १६ गतेदेखि मनहरी महोत्सव हुने भएको छ । मनहरी पुल नजिकैको खोला किनारमा पाँचौं मनहरी महोत्सवको आयोजना गर्न लागिएको सोमबार पत्रकार सम्मेलनमार्फत आयोजक मकवानपुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र समितिले जनाएको छ ।
माघ २८ गतेसम्म चल्ने महोत्सवमा मकवानपुरको राक्सिराङ, कैलाश र मनहरीमा उत्पादित स्थानीय उत्पादनको बिक्री तथा प्रवद्र्धनलाई प्राथमिकता दिइने मकवानपुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र समितिका सभापति गणेशमान मानन्धरले जानकारी दिए ।
महोत्सवको व्यवस्थापनका लागि सभापति मानन्धरणको संयोजकत्वमा मूल समिति गठन भएको छ भने पश्चिम क्षेत्र समितिमा रहेका २३ जना कार्य समिति सदस्य र पदाधिकारीहरु सबैलाई फरक फरक बिषय र क्षेत्रका संयोजक तोकेर २३ वटा समितिहरु निर्माण गरिएको छ ।
संघका निवर्तमान सभापति नारायण सुवेदीले पश्चिम मकवानपुरको मौलिक उत्पादनको प्रवद्र्धनमा महोत्सवले ध्यान दिएको बताए । चौथो मनहरी महोत्सवमा ‘लोकल कुखुरा, घट्टमो पिसेको मकै, कोदोको पिठोको व्यापार राम्रो भएको स्मरण गर्दै उनले यस भेगमा उत्पादन हुने मास, गहत, भटमाससहितका कृषि र पशुजन्य उत्पादनको प्रवद्र्धन गर्न मेला केन्द्रित भएको बताए ।
आयोजकका अनुसार महोत्सवमा १५० वटा स्टल रहनेछन् । यीमध्ये स्थानीय कृषि, पर्यटन, पशुपंक्षी लगायतको प्रवद्र्धनका लागि २० वटा स्टल मनहरी, कैलाश र राक्स्रिाङ गाउँपालिकाको सिफारिसमा निःशुल्क व्यवस्था गरिएको छ । महोत्सवमा हात्ती सफारीमार्फत वन्यजन्तुको अवलोकनको व्यवस्था पनि गरिने संघका महासचिव पदमबहादुर तितुङले बताए ।
प्रचारप्रसार समितिका संयोजक राजु राउतका अनुसार महोत्सवका लागि प्रचारात्मक कार्यक्रम सुरु भइसकेको छ । अन्य तयारीका कामहरु धमाधम भइरहेको आयोजकले जनाएको छ ।