२०८३ वैशाख ३, बिहीबार
७:५९:४० बेलुका

वैशाख ९ देखि पत्रकार महासंघमा तालाबन्दी गर्ने चेतावनी

Sahayatri Logo Square
Sahayatri Khabar
२०८३ वैशाख ३, बिहीबार

बिहिबार, बैशाख ३, २०८३
भरतपुर ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले स्वर्गीय सत्यनारायणबहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष घोषणा गर्न लामो समयदेखि माग गर्दै आएको जनाएको छ। तर उक्त मागलाई बेवास्ता गरिएको आरोप लगाउँदै फोनिजले यस वर्षको स्थापना दिवसका अवसरमा आन्दोलन गर्ने निर्णय गरेको छ।
फोनिजको संघीय समितिको बुधबार बसेको बैठकले वैशाख ९ गते देशभरका आफ्ना सबै समिति, संरचना तथा सदस्य संस्थाहरूलाई सत्यनारायणबहादुर श्रेष्ठलाई संस्थापक अध्यक्षका रूपमा स्थापित गर्ने विषयमा अन्तरक्रिया, संवाद, बहस तथा विभिन्न रचनात्मक कार्यक्रम आयोजना गर्न परिपत्र जारी गरेको महासचिव समीर बलामीले जानकारी दिए।
उनका अनुसार सोही दिन नेपाल पत्रकार महासंघका सम्बन्धित कार्यालयहरू अगाडि कार्यक्रम गरी खुला विज्ञप्ति टाँस गर्ने र महासंघले यस विषयमा अध्ययन समिति गठन नगरेसम्म मूल गेटमा तालाबन्दी गर्ने निर्णय गरिएको छ।
यसैबीच, फोनिजले आगामी जेठ महिनामा काठमाडौंमा चौथो अन्तर्राष्ट्रिय मातृभाषा सम्मेलन आयोजना गर्ने तयारीसमेत अघि बढाएको छ। सम्मेलनको तयारीका लागि संस्थागत सदस्यहरूसँग छलफल गरिनेछ भने समन्वयको जिम्मेवारी संस्थागत उपाध्यक्ष अर्जुन जम्नेली र सचिव सुनिल महर्जनलाई दिइएको छ। सम्मेलन संयोजनको जिम्मा भने नेवाः पत्रकार राष्ट्रिय दबूलाई दिइएको महासचिव बलामीले बताए।
त्यसैगरी, फोनिजले आफ्नो इतिहास, योगदान दिएका व्यक्तित्वहरू र आदिवासी जनजाति सम्बन्धी विषय समेटेर ‘फोनिज स्मारिका–२०८३’ प्रकाशन गर्ने निर्णय गरेको छ। साथै, संस्थाको चौथो पूर्ण बैठक, शाखाहरूको राष्ट्रिय भेला तथा बृहत् राष्ट्रिय कार्यशाला वैशाख २५ देखि २८ गतेसम्म मधेश प्रदेशमा आयोजना गर्ने निर्णयसमेत बैठकले गरेको छ।