१५ असार २०८३
चितवन। देशभर आज असार १५ गते राष्ट्रिय धान दिवस तथा दही-चिउरा खाने पर्व मनाइँदैछ। वि.सं. २०६२ देखि औपचारिक रूपमा मनाउन थालिएको यस दिनलाई नेपाली समाजमा सांस्कृतिक उत्सवका रूपमा लिइन्छ। खेतीपातीको कामले थाकेका किसानलाई शक्ति र शीतलता प्रदान गर्न आज दही-चिउरा खाने परम्परा छ। नेपाली संस्कृति र आयुर्वेदमा स्वास्थ्यवर्द्धक, पाचन शक्ति बढाउने तथा शुभ साइतको प्रतीक मानिने दहीको विशेष महत्त्व रहेको छ।
आजका दिन खेतमा ‘छुपुछुपु’ धान रोप्दै, असारे लोकभाका गाउने र हिलो छ्यापाछ्याप गरेर रमाइलो गर्ने गरिन्छ। नेपाल कृषिप्रधान देश भए पनि यस वर्ष असार मध्यसम्म पर्याप्त वर्षा नहुँदा रोपाइँको गति भने केही सुस्त देखिएको छ। किसानहरूले समयमा रासायनिक मल नपाएको गुनासो गरिरहेका छन्, यद्यपि कृषि मन्त्रालयले भने देशभर पर्याप्त मल मौज्दात रहेको दाबी गरेको छ।



















































