“ Every learner can learn,
Just not on the same day or not in a same way.”
:- George Evans
एउटा भनिँदै आएको उखान छ – ‘मान्छेको पहिलो विद्यालय घर हो ।’ तर साक्षरता दरको आँकडामा मक्ख पर्दै बसिरहेको हाम्रोजस्तो विकाशोन्मुख देशमा के साँच्चै घर नै बालबालिकाको प्राथमिक पाठशाला बन्न सक्ला त ? परम्परा र सांस्कृतिक अन्धविश्वासमा जकडिएको हाम्रो समाजमा शिक्षासम्बन्धी बुझाई नै एकतर्फी छ जुन बुझाइले धैरै सम्भावनाहरुलाई पाखा लगाउँदै शिक्षालाई नैसर्गिक अधिकार नभै एउटा निश्चित वर्गको मात्र पहुँचको विषय बनाइरहेको छ भने अर्कोतिर राज्यले ‘समावेशी समाजका संविधानहरु’ निर्माण गर्दै समृद्धिको सपना देखिरहेको छ । कार्यान्वयनमा सधैं चुक्ने संविधान र समाजबीचको जुन दूरी छ, त्यही दूरी यो आलेखको मुख्य विषय हो र नीतिनिर्माण र कार्यान्वयनबीचका असंख्य खाडलहरु मध्ये शिक्षामा रहेका अप्ठ्यारा दूरीहरुलाई जोड्ने साँघु हो – ‘घरमा आधारित शिक्षा’ जो समावेशी शिक्षाको जगमा उभिएको छ ।
समावेशी शिक्षा एक सहभागितामूलक अवधारणा हो, जसमा शिक्षाको मूलधारबाट वञ्चित वर्ग, समुदाय वा बालबालिकालाई शिक्षामा सहभागी गराइन्छ । जुन अवधारणाले विशेष पद्धति र ढाँचामा शिक्षा लिन र दिन आवश्यक भएका बालबालिकाका लागि उनीहरुको सिकाइ सम्बन्धी आवश्यकताको सम्बोधन गर्छ । नेपालको अन्तरिम संविधान २०६३ ले समावेशीकरणका मुद्दाहरु प्रकाशमा ल्याए पनि कार्यान्वयनमा अझै पनि स्रोत र संरचनाका अभावजस्ता विविध समस्याहरु विद्यमान छन् । ती समस्याहरुको जरो नेपालजस्तै विकाशोन्मुख राष्ट्रहरुको शिक्षासम्बन्धी एकतर्फी बुझाई नै हो ।
द युनाइटेड नेसन्स चिल्ड्रेन फण्ड (UNICEF) को पछिल्लो आँकलनअनुसार विश्वभरमा अपाङ्गता भएका करिब २४ करोड बालबालिका छन् भने तीमध्येका करिब ४७ प्रतिशत बालबालिकाहरु शिक्षाको प्राथमिक पहुँचबाट पनि वञ्चित छन् । झन् नेपालजस्ता निम्न आय भएका विकाशोन्मूख देशहरुमा यो प्रतिशतको आँकडा ठूलो देखिन्छ । उनीहरुलाई विद्यालयमा भर्ना गरिए पनि पहुँचयोग्य पूर्वाधार र शिक्षणविधिको अभावले गर्दा उनीहरु विद्यालय जान छाडेको देखिएको छ । विकाशोन्मुख देशहरु विभिन्न सामाजिकका समस्याका साथसाथै विविध सांस्कृतिक कुरिति, कुसंस्कार र रुढीवादी परम्पराबाट पनि ग्रसित छन् । जसका कारण अपाङ्गतालाई ‘पूर्वजन्मको पापको फल’ जस्ता मनोवृत्तिहरू हावी भएकाले कतिपय अपाङ्गता भएका बालबालिकाहरु इज्जतको डरले घर र समाजमै लुकाइने पनि गरिन्छन् । मूलतः श्रममा आधारित अर्थतन्त्र भएकाले पनि कामको व्यस्तताका कारणहरुले पनि ती बालबालिकाको हेरचाहमा अभिभावकहरुको पनि उस्तो ध्यान पुगेको देखिदैन । यी यावत् कारणहरुकाबीच बालबालिका शिक्षाको मौलिक अधिकारबाटै अलग्याइएको सन्दर्भमा अपाङ्गता भएका बालबालिकाहरुको लागि ‘घरमा आधारित शिक्षा’ परियोजना बेलायत, स्पेनलगायत हाम्रै छिमेकी राष्ट्र भारतमा बालबालिकाको शिक्षा पाउने अधिकार सुनिश्चित गर्नको लागि उपयुक्त नमुनाको रुपमा सान्दर्भिक देखिन्छ । नेपालमा पनि कहीँकतै यसको अभ्यास थालिएको छ भने चितवनमा ‘राष्ट्रीय बहिरा महासंघ’ नेपाल जस्ता संघसंस्थाहरुले स्थानीय निकायहरुसंग समन्वय गरी ‘घरमा आधारित शिक्षाका’ कार्यक्रमहरु संचालन गरिरहेका छन् जसबाट बहुअपाङ्गता तथा जटिल प्रकारको अपाङ्गता भएका बालबालिका लाभान्वित भइरहेका छन् ।
अपाङ्गतालाई मूलतः प्रकृतिको आधारमा शारीरिक अपाङ्गता, दृष्टि सम्बन्धी अपाङ्गता, सुनाइ सम्बन्धी अपाङ्गता, श्रवणदृष्टि विहीन अपाङ्गता, स्वर बोलाई सम्बन्धी अपाङ्गता, मानसिक वा मनोसामाजिक अपाङ्गता, बौद्धिक अपाङ्गता, अनुंशीय रक्तश्राव सम्बन्धी अपाङ्गता, अटिज्म सम्बन्धी अपाङ्गता र बहुअपाङ्गता गरी दश प्रकारले वर्गीकरण गरिएको पाइन्छ । बहुअपाङ्गता एउटै व्यक्तिमा माथि उल्लेखित दुइ वा दुइभन्दा बढी अपाङ्गता भएको अवस्था हो । घरमा आधारित शिक्षा कार्यक्रममा यस्तै जटिल प्रकारका बहुअपाङ्गता भएका बालबालिकालाई प्राथमिकतामा राखिन्छ । यस कार्यक्रमले अभिभावकको उपस्थितिमा बालबालबालिकाको प्रारम्भिक स्थिति पहिचान गरी सिकाईका लागि आवश्यक उपकरण र शिक्षण विधिहरु सँगै बालबालिकाको अवस्थाअनुसार वैयक्तिक शैक्षिक योजना (Individualized Education Plan) निर्माण गर्छ । त्यसपश्चात् तालिमप्राप्त प्रशिक्षक र फिजियोथेरापिष्टहरुलाई घरमै पठाएर आवश्यकता अनुसार साप्ताहिक वा दैनिक रुपमा निश्चित समयमा विभिन्न पद्धतिबाट बालबालिकालाई आधारभूत सीपहरु सिकाउने र फिजियोथेरापी गराउने गरिन्छ । यस सम्पूर्ण प्रक्रियामा एक जना अभिभावकको उपस्थिति अनिवार्य रहने गर्छ । विभिन्न संकेतहरु तथा खेल अभ्यासहरुबाट संचालन गरिने भएकाले यो विधिले शिक्षाको शास्त्रीय व्याख्यालाई भत्काउँदै शिक्षाको व्यवहारिकतामा जोड दिन्छ । विद्यालयमा हुने समूहपरक शिक्षण विधि भन्दा यो घरमै रहेर व्यक्ति र उसका आवश्यकताहरुमा केन्द्रित शिक्षण विधि भएकाले पनि ‘घरमा आधारित शिक्षाको शिक्षणविधि जटिल प्रकारको अपाङ्गता भएका बालबालिकाको लागि प्रभावकारी देखिन्छ । दैनिक क्रियाकलापका आधारभूत सीप र संकेतहरुको सिकाइबाट सुरु हुने यस विधिले बालबालिकामा आएको सुधारलाई पनि उत्तिकै मापन गर्दै पाठ्यक्रम अनुकुल गर्दै लगेर मूलधारको शिक्षासंग जोड्ने काम गर्छ । अतः ‘घरमा आधारित शिक्षा’ अपाङ्गता भएका बालबालिकाका लागि मूलधारको शिक्षाको पूर्वतयारी पनि हो । समावेशी शिक्षा सम्बन्धी विभिन्न कानूनहरु बने तापनि विद्यालयहरुमा पहुँचयोग्य पूर्वाधारको निर्माण र समावेशी शिक्षण विधि विकाश नभैसकेको अवस्थामा अपाङ्गता भएका बालबालिकाका लागि ‘घरमा आधारित शिक्षा’ एक उपयुक्त विकल्प हो । यस प्रक्रियामा अभिभावक पनि प्रत्यक्ष सहभागी हुने हुँदा अभिभावकहरुले पनि आफ्ना बालबालिकाको सिकाइका तौरतरिका सिक्न उनिहरूको आवश्यकतालाई पनि नजिकबाट नियाल्न र महशुश गर्न पाउँछन् । जसले गर्दा समाजमा स्थापित अपाङ्गता सम्बन्धी कुरीति र रुढिवादी प्रवृतिहरुसंग लड्दै आफ्ना बालबालिकाको क्षमतामा विश्वास राखी शैक्षिक अधिकारका लागि लड्न वा सङ्घर्ष गर्न पनि अभिभावकलाई बल पुग्छ । जब अभिभावकले आफ्नो सन्तानको शारीरिक र मानसिक विकास प्रक्रिया र उनीहरुका पृथक आवश्यकताहरुलाई बुझ्न र आत्मसात् गर्न थाल्छन् तब मात्र ‘मान्छेको पहिलो विद्यालय घर’ बन्न पुग्छ ।
शिक्षा आजको आधुनिक समाजको अनिवार्य सर्त हो । कसैलाई शारिरिक र मानसिक अवस्था र प्रकृतिका आधारमा शिक्षा पाउने अवसरबाट अलग्याइनु उनिहरूको भविष्यप्रतिको अनुत्तरदायिता र गैरजिम्मेवारी हो । तसर्थ जटिल प्रकारको अपाङ्गता भएका बालबालिकाकाले संविधानले प्रत्याभूत गरेको शिक्षा पाउने अधिकार सुनिश्चित गर्नको लागि तथा मुलधारको शिक्षा प्रणालीमा मुलप्रवाहीकरणको लागि घरमा आधारित शिक्षा उपयुक्त नमुना हुन सक्ने विषयलाइ राज्यले हृदयङ्गम गर्दै यसलाइ ऐन, नियम, नीति र प्रणालीले समेटी कार्यान्वयनमा ल्याउन केन्द्र, प्रदेश तथा स्थानीय तहले बेलैमा सोच्नु आवश्यक छ ।
[email protected]
(अन्जान प्रदीप पछिल्लो समय चितवनमा भईरहेका अपाङ्गता र समावेशी शिक्षा सम्बन्धी सचेतनामूलक कचहरी र रेडियो नाटकहरुका लेखक/निर्देशक पनि हुन् ।)
घरमा आधारित शिक्षाको सान्दर्भिकता – अन्जान प्रदीप
यो पनि पढौँ
ताजा खबर
सबैघेदुङ चितवनले तामाङ पत्रकार संघलाई गरे सम्मान
चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री
चितवन महोत्सवमा भोलि भुवन प्यासी र समिक्षा अधिकारीको प्रस्तुती हुने
महोत्सवमा स्लो साइकल रेस प्रतियोगिता सम्पन्न, विजेताहरुलाई साइकल पुरस्कार
मनहरीको दुई दिने ल्होछार कार्यक्रम मुख्यमन्त्री लामाले उद्घाटन गर्ने, ज्योती मगर आउने