२०८० माघ २
काठमाडौं । २०७९ सालको असोज १ गते गोंगबुस्थित ल्होत्से हलमा आयोजित ‘प्रेमगीत ३’को पत्रकार सम्मेलनमा अभिनेता प्रदीप खड्काले चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको राजीनामा मागे ।
त्यतिबेला भुवनले आफू अभिनित फिल्मलाई सेन्सर सिफारिसमा अवरोध गरेको र हललाई राती ११ बजे नै बन्द गर्नुपर्ने निर्णय गरेको प्रतिक्रियामा प्रदीपले यस्तो बताएका थिए ।
प्रदीपले राजीनामा मागेपछि तनाव चर्कियो र त्यसपछि यी दुईबीच खुलेरै आरोप-प्रत्यारोप चलिरह्यो । ‘प्रेमगीत ३’ रिलिजको समयमा भुवन र प्रदीपबीच सम्बन्ध निकै चिसिएको थियो ।
तर, यतिबेला भने यी दुईबीचको सम्बन्धमा सुधार आएको अनुमान गरिएको छ । यो अनुमानमा बल किन पनि पुग्यो भने मंगलबार आयोजित नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको पत्रकार सम्मेलनमा भुवन र प्रदीपले स्टेज सेयर गरे ।
दुबै एकअर्काप्रति कम्फर्टेबल देखिएका थिए । भुवनले त आफ्नो सम्बोधनमा प्रदीपलाई ‘सुपरस्टार’ भने । दुईबीचको कुराकानी र बडि ल्यांग्वेज हेर्दा भुवन र प्रदीप एकअर्कामा सहज देखिए । भुवनले सुपरस्टार भन्दा प्रदीप मुस्कुराए ।
खासगरि, ‘ऐरी’को घोषणा गरेर मुम्बईबाट फर्किएपछि प्रदीप खड्का सबैसँग सम्बन्ध सुधारमा लागेको देखिन्छ । उनी मिडियासँग पनि खुल्न थालेका छन् । यसबीचमा प्रदीप सुदर्शन थापा र पूजा शर्मासँग पनि फिल्म खेल्न तयार रहेको चर्चा चलिरहेको छ ।