२०८३ वैशाख ९, बुधबार
१०:४२:२२ बिहान

भोलि हुने राक्सिराङ कृषि हाटबजार मेलामा कृषिमन्त्री श्रेष्ठ आउने

Sahayatri Logo Square
Sahayatri Khabar
२०८० माघ २९, सोमबार

२९ माघ २०८०, मनहरी ।
राक्सिराङ गाउँपालिकाको चौथो पटकको कृषि हाटबजार मेला यहीँ फाल्गुन १ गते हुने भएको छ। मेलाको उद्घाटन गर्न प्रमुख अतिथिको रुपमा बागमती प्रदेश कृषि तथा पशुपन्क्षी बिकास मन्त्रालयका माननीय डा. राजेन्द्रमान श्रेष्ठ आउने भएका छन।

राक्सिराङ गाउँपालिका वडा नम्बर ७ को विशेष आयोजनामा गाउँपालिका परिसर वार्ड नम्बर ५ स्थित चैनपुरमा यहीँ फाल्गुन १ गते अर्थात भोलि हुन लागेको हो। स्थानीय स्तरमा उत्पादित कृषि उपज र कृषिजन्य वस्तुलाइ बजारीकरण गर्दै स्थानीयको आय आर्जनमा वृद्धि गरी व्यावसायिक, आत्मनिर्भर बनाउनुका साथै स्थानीय उत्पादनलाइ प्रोत्साहन र प्रबर्द्धन गर्ने उद्धेश्यका साथ हाट बजार मेला संचालनलाई निरन्तरता दिन लागिएको हो।

हाटबजार मेला ब्यबस्थापन संयोजक तथा वडा नम्बर ७ का वडा अध्यक्ष रामबहादुर प्रजाले राक्सिराङ कृषि हाट बजारका लागि रैथाने कृषि बाली संकलन र मेला व्यवस्थापनमा तयारी पूरा भएको भन्दै सबै कृषक तथा राक्सिराङ बासिन्दा उपस्थित हुन आग्रह गरेको छ।

बहु-सरोकार साझेदारी मन्च(नाफान) संस्थाको समन्वय र राक्सिराङ गाउँपालिका वडा नम्बर ७ को आयोजनामा हुने कार्यक्रममा आर्थिक सहयोग तथा सहजीकरण गाउँपालिकाले गर्ने भएको हो।

पुर्ब प्रदेश भौतिक पुर्बाधार राज्यमन्त्री सन्त बहादुर चेपाङले राक्सिराङ गाउँपालिका भित्रका सबै वडाका जनप्रतिनिधिहरुलाई मेलामा उपस्थित हुन आग्रह गरेको छ। उनी आफैं पनि राक्सिराङ वडा नम्बर ७ कै भएकोले आफ्नो तर्फबाट पुर्ण रुपमा साथ र सहयोग रहेको भन्दै यस अभियानमा सहयोग र समन्वय गर्न उनले स्थानीय सहकारी संस्था, कृषक समूह, कृषक, राजनैतिक दल, वुद्धिजिवी, एनजिओ/आईएनजिओ, समाजसेवीहरुका साथै सबै वडाबासीहरुमा अपिल गरेको छ ।

हाटबजार मेला गत पौष १५ गते शुरु भई निरन्तर रुपमा हरेक महिनाको १ र १५ गते संचालन भईरहेको छ। हाटबजार मेला गत बर्ष पनि यसैगरी यहीँ समयमा संचालन भएको थियो।
यस बजार संचालनबाट कृषकहरुको उत्पादनको बजारीकरण र प्रबर्द्धनका साथै उपभोक्ताले सुपथ मुल्यमा स्थानीय स्वस्थ र ताजा कृषि तथा कृषिजन्य उत्पादन उपभोग गर्ने वातावरण सिर्जना गर्नको लागि यो बजारको अवधारणालाई निरन्तरता दिएको पनि गाउँपालिकाले जनाएको छ ।
कार्यक्रमको आकर्षणहरुमा रैथाने कृषि उपज बस्तुहरुको प्रदर्शनी तथा बिक्रीवितरण, स्थानिय खानाको परिकारहरु, स्थानिय चर्चित कलाकारहरुको प्रस्तुति, जातिय पहिचानसहितको सांस्कृतिक झांकी तथा नृत्य प्रदर्शन रहेको आयोजकले जनाएको छ।