मनहरी । मनहरी पास्टर एसोसिएसनको आयोजनामा मनहरीमा क्रिसमस तथा नयाँ वर्षको अवसरमा विशेष आत्मिक कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। उक्त कार्यक्रमको सभाध्यक्षता मनहरी पास्टर एसोसिएसनका अध्यक्ष पास्टर नागेन्द्र मुक्तानले गर्नुभएको थियो।
कार्यक्रमका प्रमुख वक्ताका रूपमा क्यापिटल मिनिस्ट्रीजका एशिया निर्देशक पास्टर कुमार सिंह प्रजा उपस्थित रहनुभएको थियो। उहाँले “प्रभु येशू किन जन्मनुभयो?” र “वास्तविक क्रिसमस कसरी मनाउने?” भन्ने विषयमा आधारित आत्मिक र प्रभावशाली प्रवचन दिनुभयो। उहाँले क्रिसमस केवल पर्वको रूपमा सीमित नभई येशू ख्रीष्टलाई हृदयमा ग्रहण गर्नु नै वास्तविक क्रिसमस भएको कुरामा विशेष जोड दिनुभयो।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा पास्टर छवि लाल मुक्तान, पास्टर महिपाल प्रजा, पास्टर सुनिल मुक्तान तथा पास्टर बाबुराम थिङको उपस्थिति रहेको थियो। सबै अतिथिहरूले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो।
कार्यक्रमको सञ्चालन पास्टर मिन बहादुर तामाङले गर्नुभएको थियो भने स्वागत मन्तव्य सौल प्रजाले गर्नुभएको थियो। कार्यक्रममा करिब १५० जना पास्टर तथा सेवकहरूको सहभागिता रहेको थियो। सहभागीहरूले कार्यक्रम अत्यन्तै आत्मिक, आशीषपूर्ण तथा प्रेरणादायी भएको प्रतिक्रिया दिएका छन्।


















































