मकवानपुर । नेपाल चेपाङ संघ मकवानपुरको अध्यक्षमा महेश कुमार चेपाङ निर्बाचित भएका छन्। बुधबार हेटौंडामा सम्पन्न सातौँ जिल्ला अधिबेशनबाट महेश कुमार चेपाङको नेतृत्वमा १७ सदस्यीय जिल्ला कार्यकारिणी समितीको नयाँ समिती गठन भएको हो । अधिबेशनले उपाध्यक्षमा शोभा चेपाङ, सचीव किशोर चेपाङ, कोषाध्यक्ष भक्त बहादुर चेपाङ र सहसचिवमा अभि राना चेपाङ सर्बसम्मत निर्वाचित भएका हुन्। यसै गरि सदस्यहरुमा राजेन्द्र कुमार चेपाङ, ईन्द्रलाल चेपाङ, सबिन चेपाङ, मिलन चेपाङ, दिप चेपाङ, अस्मिता चेपाङ, दिलिप चेपाङ, कमल चेपाङ, निराजन चेपाङ, प्रज्वल चेपाङ, लक्ष्मी चेपाङ(क) र लक्ष्मी चेपाङ (ख) निर्वाचित भएका हुन्।
अधिबेशनमा नेपाल चेपाङ संघ केन्द्रिय अध्यक्ष गोबिन्दराम चेपाङको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै गरि निबर्तमान बागमती प्रदेश सभा सदस्य तथा पुर्व भौतिक पुर्बाधार राज्य मन्त्री सन्त कुमार चेपाङ र नेपाल चेपाङ संघ बागमती प्रदेश अध्यक्ष खुशिलाल चेपाङको बिशिष्ट आतिथ्यता रहेको थियो भने चेपाङ समुदायका अन्य बौद्धिक एवम् सामाजिक ब्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको थियो ।
नब निर्वाचित अध्यक्ष महेश कुमार चेपाङले चेपाङ जातिको उन्नयनका लागी सरकार तथा गैरसरकारी निकाय संग समन्वय गरी काम गरिने प्रतिबद्धता जनाए । उनले जिर्ण अबस्थामा रहेको संग्रहालयलाई छिटै मजबुत र आकर्षक ढंगले संचालनमा ल्याईने समेत ठोकुवा गरे।
नेपालको सीमान्तकृत आदिवासी जनजाति समुदायभित्र पर्ने चेपाङ जाति मकवानपुर सहित २६ जिल्लामा फैलिएको छ। तर, विशेष गरी चितवन, मकवानपुर, धादिङ र गोरखा चेपाङ जातिको मुुख्य बसोबास रहेको जिल्लाभित्र पर्दछन्। पछिल्लो समय विभिन्न कारणले यिनै क्षेत्रबाट अन्य जिल्लामा समेत बसोबास गर्न थालेपछि हाल २६ जिल्लामा चेपाङ जातिको बसोबास रहेको चेपाङ संघका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले जानकारी दिए।




















