भरतपुरका तामाङ समुदायले धुमधामका साथ मनाए ल्होछार

Sahayatri Khabar fav icon
Sahayatri Khabar
January 31, 2025

१८ माघ २०८१
भरतपुर । चितवनमा तामाङ समुदायले धुमधामका साथ सोनाम ल्होछार मनाएका छन् । भरतपुरमा भरतपुर तामाङ नगर समाजले भोजाडस्थित छेच्यु थर्पलिङ गुम्बामा भव्य कार्यक्रम आयोजना गरेर ल्होछार मनाएका हुन् । बिहीबार दिनभर विविध सांस्कृतिक कार्यक्रम आयोजना गरेर ल्होछार मनाएका हुन् ।

तामाङ जातिको नयाँ वर्ष एवम् सांस्कृतिक पर्वको रुपमा रहेको सोनाम ल्होछारमा एकार्काबीच शुभकामना आदानप्रदान गरिनुका साथै ठूलाबडाबाट आशीर्वाद ग्रहण गरेका छन् । भरतपुर नगर तामाङ समाजका अध्यक्ष इन्जिनियर सूर्यप्रकाश लामाका अनुसार यसवर्ष तामाङहरुले गरूड वर्गलाई बिदाइ गर्दै सर्प (नाग) वर्गको स्वागत गरेर २८६१औँ सोनाम ल्होछार मनाएका हुन् ।
भरतपुर नगर तामाङ समाजले विगत १५ वर्षदेखि यही गुम्बामा नियमित ल्होछार मनाउँदै आएका छन् । ल्होछार पर्वले तामाङ जातिको अस्तित्व र पहिचान जोगाएको हुँदा यसलाई कालान्तरसम्म विशेष पर्वको रुपमा मनाउन आवश्यक रहेको उनले बताए ।
नेपाल तामाङ घेदुङ बागमती प्रदेश सचिवालय समितिका सदस्य श्रीप्रसाद तामाङले कुनै समय तामाङ जातिको अस्तित्व मेटाउने कानुन बनाएर राज्यले तामाङ जातिमाथि अन्याय गरेको बताए । पछिल्लो समय सरकार केही लचिलो भए पनि तामाङ जातिलाई विभिन्न खालका अवसरबाट वञ्चित गराउँदै आएको उनको आरोप थियो । ‘हामीलाई मासिन्या जात भनेर हाम्रो अस्तित्व नै मेटाउन राज्य नै लागेको थियो,’ उनले भने, ‘अहिले अवस्था केही फेरिएको छ । तैपनि हामीले पाउनुपर्ने अधिकार अझै पाउन सकेका छैनौँ ।’
त्यसको लागि देशभरका तामाङ जातिको आवाज एउटै हुनुपर्ने उनले बताए । आजको पुस्ताले संस्कृति नजोगाए भावी सन्ततिलाई आफ्नो पहिचान खोज्न मुस्किल पर्ने हुँदा यसलाई पुस्तान्तरणको लागि पुरानो पुस्ताले निरन्तरता दिनु आवश्यक रहेको उनको भनाइ छ । ‘सोनाम ल्होछार भनेको तामाङ जातिको पहिचान हो, अस्तित्व हो,’ उनले भने, ‘हाम्रा पूर्खाले हामीलाई सुम्पिएको सम्पत्तिको संरक्षण हामीले नै संरक्षण नगर्ने हो भने हामीपछिका पुस्ता समस्यामा पर्नेछन् । त्यसैले संस्कृति जोगाउन सबैले आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्छ ।’
कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुले भरपुर मनोरञ्जन प्रदान गरेका थिए । ल्होछारको अवसरमा गुम्बा परिसरमा चित्रकला प्रदर्शनी, खुला रक्तदानलगायतका कार्यक्रमसमेत आयोजना गरिएको थियो । त्यसबाहेक तामाङ समुदायमा विभिन्न क्षेत्रबाट योगदान दिएका व्यक्तिहरुलाई सम्मानसमेत गरेको थियो । भोजाडमा मात्र नभई तामाङ जातिको बसोवास रहेका बस्तीहरुमा धुमधामका साथ ल्होछार मनाएका छन् ।