२ असार २०८२
चितवन ।
चितवनको खैरहनी-८ स्थित आहार क्याफेमा खाजा खाइरहेका बेला खुकुरी प्रहारबाट घाईतेहरुले न्याय नपाएको गुनासो गरेका छन् ।
गत बैशाख ३० गते दिउँसो आहार क्याफेमा खाजा खाने क्रममा एक समुहले धारिलो हतियार प्रयोग गरी आक्रमण गरेका थिए। सो बेला गैंडाकोट बस्ने सरोज क्षेत्री लगायतका ३/४ जना व्यक्तिले धारिलो हतियार प्रयोग गरेर उनीहरूलाई घाइते बनाएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी रविन्द्र खनालले जानकारी दिएका थिए।
खुकुरी प्रहारबाट चितवनको राप्ती-४ बस्ने २८ वर्षीय दिपेन्द्र सिंह गोलेको बायाँ हातको नाडीमा गहिरो चोट, राप्ती-२ बस्ने २८ वर्षीय गणेश लामाको बायाँ हात र तिघ्रामा चोट लागेको थियो यसैगरी खैरहनी-९ सिमलटाँडी बस्ने २७ वर्षीय अमृत आचार्य पनि घाइते भएका थिए। गम्भीर घाइतेहरु चितवनको एक हस्पिटलमा अझै उपचाररत रहेका छन् । तर उदेकलाग्दो कुरा के छ भने घटना घटेको महिनौं बितिसक्दा पनि खुकुरी प्रहार गर्ने समूह अझै कानूनको पहुँचभन्दा बाहिर रहेका छन् । चितवनका प्रहरी प्रशासनले उनीहरुलाई अहिलेसम्म कानुनको कठघरामा उभ्याएका छैनन् । ती अभियुक्तहरू खुलेआम सामाजिक सञ्जालमा भिडियोहरू पोस्ट गर्दै, नेपाल प्रहरीको असक्षमता र निरीहता माथि व्यङ्ग्य गर्दै हाँसोको पात्र बनाइरहेका छन्।
पीडितहरु अस्पतालमा जीवन र मृत्युबीच संघर्ष गरिरहंदा थोरै भएपनी मल्हम लगाउने कार्य प्रहरी प्रशासनबाट नभएको पीडितहरु बताउँछन् । राज्यको संयन्त्रले न त अपराधी खोज्न सफल भएको छ, न त कुनै जवाफदेही प्रतिवेदन नै सार्वजनिक गरेको छ। अपराधी खुलेआम हिँड्ने, सामाजिक सञ्जालमा उन्मुक्तताको उत्सव मनाउने र प्रहरी प्रशासनले कुनै जवाफ नदिनुले समग्र देशको कानून व्यवस्था र आम नागरिकको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ।




















