२ असोज २०८२
भरतपुर, चितवन।
नेपाली तामाङ कथानक चलचित्र ´ए ङाला ह्राङबा माया´ चितवन स्थित इन्द्रदेव सिनेमा हलमा प्रदर्शन गरिएको छ।
चितवन गुम्बा महासमितिको आयोजनामा भएको प्रदर्शनमा
चलचित्र हेर्न चितवन जिल्लाका विभिन्न स्थानबाट दर्शक आएका थिए । करिव तीन घण्टा लामो चलचित्र तामाङ तथा गैर तामाङ समुदायले चाख मानेर हेरेका थिए। चलचित्र अत्यन्तै राम्रो र सन्देश मुलक बनेको भन्दै भाग २ पनि निर्माण गर्न दर्शकले निर्माण पक्षलाई आश्वासन दिए।
फिल्म प्रदर्शनको लागि चलचित्रका निर्माता, निर्देशक तथा कलाकारहरु चितवन पुगेर दर्शकसँगै चलचित्र हेरेका थिए। चलत्रित्रमा हुत्त सञ्जय लामा, तारा थोकर, विक्रम लामा, प्रज्मी बोम्जन, हेमकुमार तितुङ, हीराबहादुर मोक्तान, गोकुल मोक्तान, अनिल ब्लोन, राजकुमार स्याङतान, सङ्गीता बोम्जन, राम तामाङ, राजकुमार बल लगायतका कलाकारहरुको अभिनय हेर्न पाइन्छ । चलचित्रका मुख्य नायकसमेत रहेका हुत्त सञ्जय लामाले आफैँ कथा तथा संबाद लेखेका छन् भने अभिनयसँगै निर्देशन पनि गरेका छन् । मुख्य सहायक निर्देशन भने विश्वजङ माझीले गरेका छन् ।
मनसुन सुपरस्टार मुभिज प्रालिको ब्यानरमा तयार भएको चलचित्र एचएमएम मिडिया हाउसमार्फत मेकबहादुर थापाले सम्पादन गरेका हुन् ।
गुम्बा महासमिती चितवनले एक औपचारिक कार्यक्रम गरि चलचित्र प्रदर्शन गरिएको हो। कार्यक्रममा तामाङ पत्रकार संघ संघीय सदस्य एवम् समाजसेवी राजेश रुम्बा लामाको प्रमुख आतिथ्यता रहेको थियो। प्रमुख अतिथी रुम्बाले यस चलचित्रले तामाङ समुदायले दिनानुदिन बिर्सिदै गएको भाषा, संस्कृतिलाई जगेर्ना गर्ने आशा व्यक्त गरे। यसैबीच सह्योगी दाताहरुलाई मायाको चिनो र प्रशंसा पत्र समेत प्रदान गरिएको थियो।
गुम्बा महासमितिका अध्यक्ष मेकना तामाङले आफुहरु सम्पुर्ण बौद्ध धर्मावलम्बीको सेवामा सरिक रहदै आएको बताउदै यस खालका तामाङ चलचित्रले बुद्ध दर्शनलाई अगाडि ल्याउन मद्धत पुगेकोले चलचित्रको प्रदर्शन कार्यक्रम आयोजना गरिएको जनाए।
लामो समयको अन्तरालपछि चितवनमा तामाङ चलचित्र प्रदर्शन भएको हो भने यसअघि तामाङ पत्रकार संघ चितवन शाखाको आयोजनामा तामाङ चलचित्र ‘आप्लेङ ला नाम्सा’ नामक चलचित्र प्रदर्शनमा ल्याईएको थियो।