नेकपाका दुबै पक्षको केन्द्रीय कमिटी बैठक बस्दै, सचिवालय सदस्य हेरफेरको तयारी

0
234

पुस,९।
प्रतिनिधिसभा विघटनपछि समानन्तर बैठक थालेका सत्तारूढ नेकपाका ओली र दाहाल(नेपाल समूहको आज अलगअलग केन्द्रीय कमिटी बैठक बस्दैछ । प्रतिनिधिसभा विघटनपछि गत मंगलबार पहिलो पटक समानन्तररूपमा केन्द्रीय कमिटी बैठक गरेका दुबै समूहले आजको बैठकमार्फत सचिवालय सदस्य हेरफेरको तयारी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली समूहले दिउँसो साढे १२ बजे बालुवाटारमा डाकेको छ । बैठकमा सचिवालय सदस्यहरूको संख्या थप्ने, चुनावी तयारी तथा अर्को समूहले सरकारलाई पारेको अप्ठेरोको भण्डाफोर गर्न गाउँ तहसम्म कार्यकर्ता खटाउने विषयमा ओलीले निर्देशन दिने तयारी गरेको एक सदस्यले जानकारी दिए । काठमाडौँको बबरमहलस्थित एक पार्टी प्यालेसमा बिहान ११ बजे हुने पुष्पकमल दाहाल र माधव कुमार नेपाल समूहको बैठकमा पनि सचिवालय हेरफेर र महासचिवको मनोनयनको तयारी गरेको निकट स्रोतले जनाएको छ । दुबै समूहले पार्टीमा वैधताको लडाइँ पनि सुरू गरेका छन् । आफू पार्टीको संस्थापन भएको जनाउन दिने गरी दुबै समूहले समानन्तर बैठक र निर्णय तीव्र पारेका छन् । अल्पमतमा परेको ओली समूहले ५५६ जना केन्द्रीय सदस्य थप्दै ११९९ सदस्यीय महाधिवेशन आयोजक समिति घोषणा गरेको जानकारी निर्वाचन आयोगलाई गराएको छ । दाहाल(नेपाल समूहले पनि ओलीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको तथा आफ्नो पक्षमा साविकको ४४१ केन्द्रीय सदस्यको बहुमत संख्या रहेको ब्यहोराको जानकारी निर्वाचन आयोगमा गराइसकेको छ । एकीकरणको ३२ महिनापछि नेकपा अन्ततः विभाजनमा गएको छ । तर, यसलाई औपचारिक घोषणा गरिएको छैन । गत फागुनमा बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने पार्टी निर्णयलाई प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले चुनौती दिएपछि सुरू भएको नेकपाको संकट अन्ततः फुटको औपचारिक तहमा पुगेको हो । ओली पक्षले सम्झौतामा संकट टार्ने र दाहाल(नेपाल पक्षले ओलीलाई पदच्युत गर्ने परस्पर दाउकाबीच पछिल्ला १० महिना गुज्रिए पनि नेकपामा विभाजन अब अवस्यम्भावी भएको छ । दुई समूहबीच अब पार्टीको केन्द्रीय कार्यालय, छाप, चुनाव चिह्न र पार्टीको नामको लडाइँ सुरू भएको छ । यो विषय निर्वाचन आयोगबाट नटुंगिए अदालतसम्म पुग्न दुवै पक्षले तयारी थालेको निकट स्रोतले जनाएको छ ।