२९ आश्विन २०७७
चितवन । राप्ती नगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । बिहिबार भण्डारामा नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीसहित सरोकारवालाहरुको प्रतिनिधिमुलक सहभागितामा सार्वजनिक सुनुवाई आयोजना गरिएको हो । कार्यक्रममा नगरपालिका क्षेत्रमा अव्यवस्थित फोहर तथा अस्तव्यस्त बजारको बिषयमा सहभागिले प्रश्न गरेका थिए । नगरपालिका क्षेत्रमा सार्वजनिक शौचालय सञ्चालन हुनुपर्ने, योजना छनौट तथा बजेट बाँडफाँड पारदर्शी र आवश्यकताका आधारमा गरिनुपर्ने, नगरपालिकाको नयाँ भवन अपांग तथा बालबालिका मैत्री हुनुपर्ने लगायत आवाज सहभागीले उठाएका थिए । नगरपालिकामा हालसम्म खेलकुद समिति बन्न नसक्नु दुखद रहेको बताउदै सहभागीले निर्वाचित भएको झण्डै ४ बर्ष बितिसक्दासमेत जनप्रतिनिधिले अझै सिकाइकै क्रममा रहेको भन्दै आलटाल गर्न नपाइने बताए । कुशल पाठक, चुम्बक लामा, सुरेश बिश्वकर्मा, जगत कुवँर, आर्यन सेढाई, आशिष खरेल लगायतले नगरपालिकाको बिकास निर्माण, योजना कार्यन्वयन तथा विभिन्न क्रियाकलापका बारेमा प्रश्न गरेका थिए । जवाफमा नगरपालिकाका प्रमुख प्रभा बरालले तत्काल नतिजा खोज्नु भन्दा सकरात्मक प्रयास गरिनु नै महत्वपुर्ण भएको बताइन् । उनले नगरभित्रको फोहर जापनिज प्रविधिबाट ब्यवस्थापन गर्नका लागि सम्झौता भइसकेको बताउदै अब फोहर तत्काल ब्यवस्थापन हुने बताइन् । नगरपालिकाका भुभागहरु असमान रहेको र बिकासको रेखांकन गर्नका लागि महत्वपुर्ण कामहरु भएको उनको भनाई छ । उनले विभिन्न सिपमुलक तथा आयमुलक कार्यक्रमहरु, खेलकुद, शिक्षा तथा स्वास्थ्यमा उल्लेख्य लगानी गरिएको प्रस्ट पारिन् । नगरपालिकाका उपप्रमुख इमानसिहं लामाले कोरोना भाइरसका कारण कार्यसम्पादनमा बाधा पुगेको बताउदै फोहर ब्यवस्थापन, शौचालय ब्यवस्थापन, योजना कार्यन्वयन लगायत कामहरु चुस्त र दुरुस्त बनाइने बताए । उनले जनताबाट आएका गुनासाहरु मनन गरि थप सुधार गर्दै लगिनेसमेत बताए । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गंगा बहादुर भुजेलले काम गर्दै जाने क्रममा गल्ती हुने बताउदै सुधार गर्दै अघि बढ्ने बताए । उनले कर्मचारीले सेवाग्राहीलाई दुख दिएको, काममा आलटाल गरेको, पैसा माग्ने गरेको प्रमाणित भए तत्काल कारबाहि गरिने प्रतिबद्धता जनाए ।
कार्यक्रममा नेकपा राप्तीका इन्चार्ज मान बहादुर स्यांबो, नेपाली काँग्रेसका नगर सभापति नारायण उप्रेती लगायतले सबैसँग सहाकार्य र हातेमालो गर्दै अघि बढ्न सुझाव दिए । कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सदस्य किरण भुषण ओली, नगरपालिकाका प्रबक्ता अमर बहादुर तामागं, विभिन्न वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरु लगायत जनप्रतिनिधि तथा सरोकारवालाहरुको उपस्थिति रहेको थियो । सार्वजनिक सुनुवाईका लागि नागारिक प्रतिवेदन तथा बहिर्गमन अभिमतको आधारमा सेवाग्राहीमाझ सर्वेक्षण गरिएको थियो । सो क्रममा नगरपालिकाका विभिन्न भुगोलका ५० जना सेवाग्राहीमा सर्वेक्षण गरिएको थियो ।