सदनमा छताछुल्ल भयो, सभामुख र विपक्षीको ‘झगडा’

0
826

८ माघ, काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले सरकारप्रति अनावश्यक रुझान देखाउँदा प्रमुख विपक्षी नेपाली कांग्रेसको निशानामा परेका छन् ।
नेकपा नेतृत्वको सरकारसँग लड्दै आएको कांग्रेसले झगडा सभामुखतिर सिफ्ट भएको बताएको छ ।

सभामुखले माफी माग्नुका साथै आइन्दा यस्तो घटना नदोहोर्‍याउने विश्वास नदिलाउँदासम्म संसद चल्न नदिने कांग्रेसको अडान छ ।

दिवंगत नेता गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना भएका दुई अस्पताललाई खारेज गर्न खोजेको भन्दै कांग्रेसले सोमबार नै संसद अवरुद्ध गरेको थियो ।

स्वास्थ्य मन्त्रालयले ११ वटा अस्पताललाई केन्द्र सरकार मातहतमा राख्न प्रस्ताव गरेको भए पनि मन्त्रिपरिषदले तनहुँमा रहेको जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र र बाँकेमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई छाडेर निर्णय गर्‍यो । यो कांग्रेसको अस्तित्व अस्वीकार गर्ने प्रारम्भ मात्र भएको भन्दै कांग्रेसले सरकारलाई दबाव दिइरहेको छ ।

मंगलबारको बैठकको सुरुमा नै बोलेका सांसद प्रकाशमान सिंहले दुबै अस्पताललाई संघ सरकार मातहत राख्ने निर्णय नगरेसम्म संसद चल्न नदिने बताए ।

कांग्रेस नेताहरुका अनुसार मंगलबारको बैठक सुरु हुनुअघि सरकारले सम्वाद गर्ने अपेक्षा थियो ।

यदि सरकारले अस्पतालबारे माग पुरा गर्छौं भन्यो भने चिकित्सा शिक्षा विधेयकलाई लिएर के गर्ने भन्ने छलफल भएको थियो । त्यसबेला सदनमा नै निर्णय गर्ने सल्लाह भयो ।

तर, संसद भवन नपुग्दै सभामुख कृष्णबहादुर महराले सम्वाद गरेनन्, चिकित्सा शिक्षा विधेयकलाई मात्र एजेण्डामा राखेको र बैठक चल्ने सूचना कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडलाई पठाएका थिए । शिक्षामन्त्री गिरिरामणि पोखरेल अरु भन्दा भिन्न ठाउँ, जहाँबाट रोष्टममा जान सहज हुन्छ, त्यहाँ बसेका थिए । त्यसैले कांग्रेस सांसदहरुले मन्त्रीलाई रोक्ने उद्देश्यले सिंह बोले लगतै रोष्टम घेराउ गर्न गए ।

सभामुखले देखाए नेकपा रुझान

लगत्तै सांसदहरुले रोष्टम घेर्न खोजे । तर, मर्यादापालकहरुले विपक्षी सांसदहरुलाई वेलको बीचमा नै रोक्न खोजे । समान्यतया मर्दायापालकको जिम्मेवारी सभामुखको सुरक्षा गर्नु हो । तर, चिकित्सा शिक्षा विधेयक संसदमा जसरी पनि प्रस्तुत गर्ने सरकारको योजनालाई सघाउने गरी मर्दायापालकले वेलको बीचमा नै रोक्न खोजेपछि विपक्षी सांसदहरु आक्रोशित भए ।

उनीहरुले ठेलमठेल गर्दै मर्यादापालकहरुलाई पछाडि धकेले र मन्त्री रोष्टममा जाने बाटो रोके । लगतै सांसदहरु मिनेन्द्र रिजाल, गगन थापा लगायतले सभामुखतिर चोर औला उठाएर ‘यसरी चल्छ सदन ?’ भन्दै प्रश्न गरे ।

मन्त्रीलाई नेकपा सांसदको स्कटिङ

संसद १५ मिनेटलाई स्थगित भयो । दोस्रो बैठक सुरु गर्न सभामुख महरा कुर्सीमा मात्र के बसेका थिए, विपक्षी कांग्रेसका सांसदहरु दौडिएर रोष्टम घेराउ गर्न पुगे । सभामुखले बैठक नै सुरु गरेको छैन भन्दै रोक्न खोजे पनि सांसदहरुले सुनेनन् ।

त्यसक्रममा अनौठो दृश्य देखियो, शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई नेकपा सांसदहरुको स्कटिङ । नेकपाका प्रमुख सचेतक देव गुरुङ, सांसदहरु खगराज अधिकारी, शान्ता चौधरीलगायतले स्कटिङ गर्दै मन्त्री पोखरेललाई रोष्टममा पठाउन खोजे । सत्तारुढ र विपक्षी सांसदहरुबीच ठेलमठेल भयो । मर्यादापालकले पनि मन्त्रीलाई रोष्टममा लैजान खोजे तर, विपक्षीले घेरे पनि सफल भएनन् ।

‘संसदमा कुर्सी तोडफोड र बि्रफकेस फोड्नेसम्मका घटना भएका छन् तर, सत्तापक्षले यसरी रोष्टममा झगडा गर्न गएको थाहा छैन’ सांसद मिनेन्द्र रिजाल भन्छन्, ‘सत्तापक्षले धैर्यता गुमायो भने दुर्घटना हुन्छ । सभामुखले पनि धैर्यता गुमायो भने दुर्घटना हुन्छ । आज सभामुख सभामुख रहन सक्नुभएन ।’

अब सभामुख भर्सेस कांग्रेस 

नेकपा नेतृत्वको सरकार चिकित्सा शिक्षा विधेयक कुनै पनि हालतमा पास गर्ने मुडमा छ । आमरण अनसनरत डा. गोविन्द केसीको समर्थनमा रहेको कांग्रेस त्यसलाई रोक्न चाहन्छ । यद्यपि यो विषयमा प्रवेश गर्नुअघि आफ्ना नेताको नाममा रहेको दुई अस्पतालबारे आफ्ना माग सम्बोधन गर्नुपर्ने कांग्रेसको शर्त छ ।

मंगलबारको बैठकमा सभामुख महरा पनि सरकारकै सहयोगीको रुपमा प्रस्तुत भएको विपक्षी कांग्रेसको आरोप छ । त्यसैले कांग्रेस सांसदहरुले तेस्रो बैठक सुरु गर्ने क्रममा सभामुखलाई संसद बैठक कक्षमा प्रवेश गर्न नै दिएनन् ।

बैठक स्थगित भएपछि कांग्रेस सांसदहरु सम्वाद गर्नुछ भन्दै सभामुखको कोठामा पुगेका थिए । तर, उनी उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको कार्यकक्षमा गएका थिए । सभामुखले सम्वाद गर्नुको साटो बैठक चलाउने सूचना दिएपछि कांग्रेस सांसदहरु सभामुख संसदको बैठक कक्षमा प्रवेश गर्ने दुबै ढोकामा बसेका हुन् ।

सभामुख आफ्नो कोठामा आएपछि बिजयकुमार गच्छदार लगायतले भेटेर आपत्ति जनाए । तर, सभामुखले बैठक चलाउने अडान नछाडेपछि गगन थापा लगायतका केही सांसदले त्यही धर्ना दिए । महराले अझै बैठक चलाउने अडान छाडेका थिएनन् तर, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ हिँडेको खबर आएपछि सूचना टाँसेर बैठक ११ गतेलाई स्थगित गरेका छन् ।

बैठक स्थगित भएपछि नेकपा नेता झलनाथ खनाल र कांग्रेस नेताहरुबीच समान्य कुराकानी भएको छ तर, कुनै सहमति जुटेको छैन । साथै सभामुख महरासँग आफूहरुको असहमति कायमै रहेको कांग्रेस सांसदहरुले बताएका छन् । ‘सरकारको विषय तेस्रो बुँदामा गइसक्यो, हामी झगडा सभामुखसँग हो’ सांसद मिनेन्द्र रिजालले भने।

अर्का सांसद गगन थापाले सभामुख पार्टीको कार्याकर्ता जस्तो भएको भन्दै आपत्ति जनाए । ‘सदनको जसरी हुन्छ आज सदनमा एउटा विधेयक टेबल गर्न चाहन्थ्यो । मैले सरकारको नियत मानेँ । तर, सदनको नियत पनि एउटै हुन्छ ?’ थापाले भने, ‘सदन र सरकार एक भएर आज देखाइदिने भनेर आउने ? देखाइदिने कुराको प्रतिरोध हुन्छ । आज पनि भयो, फेरि पनि हुन्छ ।’

सरकार शक्ति पृथक्कीकरणको सम्पूर्ण सिद्धान्त कुल्चिएर अगाडि बढ्न चाहेको र सभामुख पनि त्यसमा सहयोगी बनेको भन्दै उनले भने, ‘आज सदनमा प्रतिपक्षसँग जुन व्यवहार भएको छ, यो एउटा डरलाग्दो परिदृश्यको संकेत हो ।’

मंगलबारको घटनालाई लिएर सभामुखले क्षमायाचना गर्नुका साथै आइन्दा यस्तो घटना नहुने सुनिश्चितता नगर्दासम्म संसद चल्न नखिने उनले प्रष्ट पारेका छन् ।

सभामुखको साँचो नेम्वाङको हातमा ?

मंगलबार संसद बैठकमा क्रममा देखिएको एउटा दृश्यले संसद कसले चलाइरहेको छ भन्ने प्रश्न समेत उठेको छ ।

दोस्रो बैठकमा कांग्रेस सांसदहरुले नाराबाजी गर्दै शिक्षामन्त्रीलाई रोकिरहेका बेला संसदका महासचिव मनमोहनप्रसाद भट्टराईले नेकपा संसदीय दलका उपनेता नेम्वाङलाई एसएमएस गरे । उनले त्यो नेकपाका महासचिव विष्णु पौडेललाई देखाए । लगतै रिप्लाई गरे । नेम्वाङबाट आएको वपाफ भट्टराईले सभामुख महरालाई देखाए । लगत्तै संसद बैठक १५ मिनेटलाई स्थगित भयो ।

भट्टराईले एसएमएस गरेको दृश्य क्यामेरामा कैद भएको छ । तेस्रो बैठक सूचना टाँसेर स्थगित गर्नुअघि उनले सभामुख महराले नेम्वाङकै सन्देश पर्खिएका थिए । यसले संसदको साँचो सभामुखको साटो नेकपा संसदीय दलका उपनेतासँग त छैन भन्ने गम्भीर प्रश्न उठेको कांग्रेसका एक सांसदले बताए ।

सत्तापक्षको आरोप- कांग्रेसले छुद्र ब्यहार देखायो

मंगलबारको संसदको बैठक अवरुद्ध भएपछि नेकपा सांसद घनश्याम खतिवडा भन्दै थिए, ‘कांग्रेसले एकदमै छुद्र ब्यवहार देखायो । लोकतन्त्रमा बहुमतले निर्णय गर्न नपाउने ?’

नेकपाका प्रमुख सचेतक देव गुरुङले कांग्रेसले संसदीय प्रक्रियाको उल्लंघन गरेको आरोप लगाए । अर्का सांसद खगराज अधिकारीले त विपक्षी सांसद गगन थापाले सभामुखमाथि ‘तँ तल आइज’ भन्दै अपशब्द प्रयोग गरेको दाबी गरे ।

तर, भिडियो रेकर्डमा अधिकारीले दाबी गरेको जस्तो अपशब्द बोलेको सुनिँदैन । थापासँगै रिजाल, अमरेशकुमार सिंह लगायतले सभामुखतिर चोर औंला उठाएर कराएका थिए । त्यसक्रममा थापाले ‘तपाईँ तल आउनुस्, यही बसेर छलफल हुन्छ । हिजो पनि यही बसेर जानु भएको हो’ भनेको प्रष्ट सुनिन्छ ।

कांग्रेसका अर्का सांसद रिजालले ‘यसरी संसद चलाउने दुश्प्रयास नगर्नुस्, तपाई गृहमन्त्री होइन’ भनेका थिए भने दिपेन्द्रप्रसाद बडूले हामी कुर्सी बोकेर माथि जाँदैनौं, सभामुखले आफ्नो मर्यादा कायम राख्नुपर्छ’ भनेको सुनिएको छ ।

स्रोत: अनलाइनखबर

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here