तामाङ पत्रकार संघ चितवनले भित्तेपात्रो विमोचन आज गर्ने

0
769

७ बैशाख २०८०
भरतपुर । तामाङ पत्रकार संघ, जिल्ला शाखा चितवनले २०८० सालको भित्तेपात्रो विमोचन गर्दैछ । आज (बिहीबार) विशेष कार्यक्रम आयोजना गरी भित्तेपात्रो प्रकाशन तथा शुभकामना आदानप्रदान गर्ने तयारी गरिएको संघका अध्यक्ष बबिलाल तामाङले जानकारी दिए । चितवनमा रहेर विभिन्न सञ्चारमाध्यमहरूमा आवद्ध रहेका तामाङ सञ्चारकर्मीहरूको संगठनले आमाको मुख हेर्ने दिनलाई विशेष अवसर पारेर कार्यक्रम गर्ने तयारी गरेको उनले बताए ।
संघले हरेक वर्ष भित्तेपात्रो प्रकाशन गर्दै आएको छ । भित्तेपात्रोमा तामाङ समुदायको संस्कृति झल्कने टोपी, समुदायले गर्ने विभिन्न बाजा तथा घरायसी सामग्रीलाई भित्तेपात्रोमा समावेश गरिएको उनको भनाइ छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम गर्न लागेको संघले जनाएको छ ।
संघले संस्थागत गतिविधिमा महत्वपूर्ण योगदान दिने एक जना तामाङ सञ्चारकर्मीलाई सम्मान गर्ने तयारी गरेको समेत उनले बताए । कार्यसमितिका सह–सचिव सन्तोष तामाङलाई सम्मान गर्ने निर्णय भएको अध्यक्ष तामाङले बताए । वि.सं. २०७८ सालको अधिवेशनबाट कार्यसमितिमा निर्वाचित नमस्ते टेलिभिजनकर्मी तामाङले संस्थाको हरेक गतिविधिमा महत्वपूर्ण योगदान दिएकाले सम्मान गर्न लागिएको हो ।
‘भाषा तालिम’को तयारी
संघमा आवद्ध तामाङ सञ्चारकर्मीहरूले तामाङ समुदायको पहिचान र मुद्दालाई पत्रकारितामार्फत उजागर गर्दै आएको छ । तामाङ समुदायको लोप हुन लागेको भाषा, संस्कृति र पहिचानलाई जीवित राख्नको लागि निकट भविष्यमै ‘तामाङ भाषा प्रशिक्षण’ गर्ने तयारी गरिएको संघका अध्यक्ष बबिलाल तामाङले जानकारी दिए ।
उनका अनुसार पहिलो चरणमा करिब ४० जना तामाङहरूलाई सहभागी गराई भाषा कक्षा सञ्चालन गरिनेछ । उक्त कार्यलाई निरन्तरता दिँदै जाने तयारी गरिएको उनले बताए ।