नारायणगढ । नेपाली भाषामा बनेको गुरूङ संस्कृतिमा आधारित चलचित्र ‘ह्रोसैँ ङ्हो’ अर्थात् आफ्नै कर्मको नारायणगढमा भव्य प्रदर्शन गरिएको छ। काठमाडौँ, लम्जुङ, कास्की, गोरखा हुँदै मलेसियामा समेत प्रदर्शन गरिएको चलचित्रलाई शनिबार नारायणी कला मन्दिरमा प्रदर्शन गरिएको हो । दर्शकहरूको उल्लेख्य उपस्थितिमा दुई शो प्रदर्शन गरिएको थियो।
सामाजिक विषयवस्तुलाई मुख्य कथा बनाइएको चलचित्रले माया, प्रेम, वियोग, विभेदलगायतका विषयलाई उठाउने प्रयास गरिएको छ। द्वन्द्व निर्देशक जनक गुरूङको लेखन÷निर्देशनमा बनेको चलचित्र रविन गुरूङको सहनिर्देशन र परिकल्पनामा निर्माण भएको हो। तमू (गुरूङ) सञ्चारकर्मी संघ नेपालका केन्द्रीय अध्यक्षसमेत रहेका रविन गुरूङले नवज्योति भिजनको ब्यानरमा चलचित्र निर्माण गरेका हुन्।
उनीसँगै लालबहादुर गुरूङ, शमशेर गुरूङ, मन्त्रीजंग गुरूङ, प्रतिमा गुरूङ, जुनु गुरूङ, माया गुरूङ र जमान गुरूङले समेत लगानी गरेको चलचित्रमा रविन गुरूङ, वीरबल घले, जनक गुरूङ, अनुता गुरूङ, आकृती गुरूङ, माया गुरूङ, रेशम गुरूङ, राम गुरूङ, श्रद्धा गुरूङलगायतका कलाकारहरूले अभिनय गरेका छन्।
खेम थापामगरले छायांकन गरेको चलचित्रलाई मेखबहादुर थापामगरले सम्पादन गरेका हुन्। चलचित्रमा नृत्य निर्देशन रविन गुरूङ र मनाङ गुरूङले गरेका हुन् भने द्वन्द्व जनक गुरूङले निर्देशन गरेका हुन्। चितवनमा दर्शकको उपस्थिति अनपेक्षित देखिएपछि चलचित्रले सोचेभन्दा बढी सफलता पाएको निर्माण टिमको दाबी छ। चलचित्रका निर्माता रविन गुरूङले दर्शकसँग बसेर चलचित्र हेर्दा आफैँलाई भावुक बनाएको अनुभव सुनाए।
द्वन्द्व निर्देशक जनक गुरूङले लामो समय नेपाली चलचित्रको द्वन्द्व निर्देशक भएर काम गरेको अनुभवकै आधारमा चलचित्रकै निर्देशन गर्दै आएको बताए। उनले करिब एकसयभन्दा बढी नेपाली चलचित्रमा द्वन्द्व निर्देशक भएर काम गरिसकेका छन्। ‘चलचित्र क्षेत्रमै उर्जाशील जीवन बिताएँ । त्यसैले अब द्वन्द्व निर्देशकमा मात्रै सीमित हुन चाहिनँ,’ उनले भने। उनले तामाङ र थारू भाषामा बनेको चलचित्रसमेत निर्देशन गरेका छन्।
रानीखोलाका विद्यार्थीलाई शैक्षिक सामग्री
इच्छाकामना । नेपाल मगर विद्यार्थी संघ चितवनले संस्था स्थापना दिवसको अवसरमा रानीखोला माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ। संस्था स्थापनाको २८औँ वार्षिकोत्सवको अवसरमा इच्छाकामना–७, सिमलढापमा अध्ययनरत २८ जना मगर विद्यार्थीलाई वडाअध्यक्ष बमबहादुर थापामगरमार्फत कापी, कलम र झोलासहितको शैक्षिक सामग्री वितरण गरेको हो।
मगर विद्यार्थी अक्षयकोषमार्फत शैक्षिक सामग्री वितरण गरेको संघका अध्यक्ष कुमार सिंजालीमगरले जानकारी दिए।
सामुदायिक विद्यालयमा अध्ययनरत मगर विद्यार्थीको शैक्षिक भविष्यमा टेवा पु¥याउने उद्देश्यले शैक्षिक सामग्री वितरण गरिएको उनले बताए। उनका अनुसार विद्यालयमा अध्ययनरत कक्षा शिशुदेखि १० सम्मका विद्यार्थीलाई सहयोग गरिएको हो।
आफ्नो विद्यालयमा अध्ययनरत विद्यार्थीको शैक्षिक प्रगतिका लागि विद्यार्थी संघले देखाएको सहयोगी भावले विद्यार्थीसँगै विद्यालय परिवारमा थप उर्जा प्राप्त भएको भन्दै विद्यालयका प्रधानाध्यापक अर्जुन मगरले धन्यवाद दिए। ‘विद्यार्थीले विद्यार्थीलाई नै गरेको सहयोगले समाजमा सकारात्मक छाप छोड्नेमा विद्यालय परिवार विश्वस्त छौँ,’ उनले भने, ‘यो कार्यक्रमले अन्य समुदाय र संघसंस्थालाई पनि समाजप्रतिको उत्तरदायित्वबारे पाठ सिकाएको छ।’
अक्षयकोषका अध्यक्ष निर्मल मगरले अक्षयकोषमा रहेको पाँच लाख रूपैयाँबाट आएको ब्याज रकमबाट विद्यार्थीकै शैक्षिक उन्नतिको लागि खर्च गर्दै आएको बताए। २०६६ सालमा मगर विद्यार्थी कल्याणकारी कोषको रूपमा स्थापना भएको कोषलाई विकसित रूप दिँदै २०७५ सालबाट अक्षयकोषको रूपमा स्थापना गरेपछि मगर विद्यार्थीको लागि थोरै भए पनि सहयोग गर्ने मौका मिलेको उनले बताए।
कार्यक्रमका प्रमुख अतिथि इच्छाकामना–७ का वडाअध्यक्ष बमबहादुर थापामगरले विपन्न विद्यार्थीलाई सामुदायिक विद्यालयमा पढ्नसमेत समस्या भइरहेका बेला मगर विद्यार्थीले देखाएको सदासायताले समग्र वडावासी नै खुसी भएको बताए। ‘स्थानीय सरकारलाई सफल बनाउनमा यस्तै संघसंस्थाको सहयोग आवश्यक छ,’ उनले भने, ‘जुन आज मगर विद्यार्थीले गरेर देखाएको छ।’
पाठकको अदालतमा ‘सिन्का पाउँरू’
उपन्यासमा गुरूङ समुदायको बलियो उपस्थिति
नारायणगढ । चर्चित गजलकार शीतल कादम्बिनी गुरूङले औपन्यासिक कृति ‘सिन्का पाउँरू’माथि शनिबार नारायणगढमा चर्चा गरिएको छ। अक्षर समूह चितवनले आयोजना गरेको ‘पाठकको अदालतमा सिन्का पाउँरू’ नाम दिइएको कार्यक्रममा लेखक गुरूङसँग बहस गरिएको हो। अक्षर समूह चितवनका अध्यक्ष रमेश प्रभातले सहजीकरण गरेको उक्त कार्यक्रममा लेखक गुरूङले गुरूङ समुदायको पुरानो समयकै कथा लेख्न मन लागेर उपन्यासमार्फत पाठकसामु उपस्थित भएको बताइन्। ‘सिन्का पाउँरूमा केही मेरा कुरा छन्, केही अरूका पनि,’ उनले भनिन्, ‘यसलाई पाठकले कसरी मूल्यांकन गर्नुहुन्छ। त्यो उहाँहरूकै कुरा हो।’
उपन्यासमा गुरूङ समुदायमा प्रचलित संस्कृतिलाई उतार्ने प्रयास गरिएको छ। मौलिक संस्कृतिले धनी जाति भनेर परिचय बोकेको गुरूङ समुदायकै विषयवस्तुलाई उपन्यासको मुख्य कथा बनाएर गुरूङ समुदायको पहिचानलाई थप फराकिलो बनाउने प्रयास गरिएको तमू सञ्चारकर्मी संघकी सल्लाहकार एवम् अग्रज पत्रकार अनिता गुरूङले बताइन्। ‘उपन्यासले थुप्रै ठाउँमा गुरूङ समुदायको साँस्कृतिक पक्षलाई उतार्ने प्रयास गरिएको छ,’ उनले भनिन्, ‘उपन्यासले गुरूङ समुदायका साँस्कृतिक आयाम बोकेको छ। र, समग्रमा गुरूङ जाति संस्कृतिमा कति धनी छन् भन्ने उदाहरण पनि देखाइएको छ।’
समालोचक उदय अधिकारीले मुख्य पात्र मौसमीको उपस्थिति पुस्तकमा बलियोरूपमा उदाएको बताए। कवि गोविन्दराज विनोदीले नेपाली आख्यान बजारमा पछिल्लो समय राम्रो उपन्यास आएको बताउँदै लेखकले आफ्नै कथालाई उपन्यासमार्फत समाजमा उपस्थिति जनाउन सफल भएको बताए। कवि माया गुरूङले सिन्का पाउँरू पढ्दै गर्दा प्रमुख पात्र मौसमीको साहस र संघर्षले मन जितेको प्रतिकृया दिइन्।
कार्यक्रममा न्यायाधीश बनेका गजलकार धनराज गिरीले वास्तविक जीवनमा भन्न नसकिएका कुरालाई लेखकले उपन्यासको माध्यमबाट बताउन सफल भएको बताए। विषयवस्तु र लेखन दुवै कोणबाट हरेक पाठकको रोजाइमा पर्ने बलियो उपन्यास लेख्न सफल भएको उनले दाबी गरे। ‘अब जुनसुकै पुरस्कारका लागि पनि यो उपन्यास दाबी गर्न योग्य बनेको छ,’ उनले भने। लेखक कादम्बिनीको ‘कहाँ थियौ रंगमञ्च उठेपछि आयौ’, ‘धेरै चोटि मरेँ म त धेरै चोटि बाँचेँ’, ‘ओए झुमा, झुमा झुम्कावाली’लगायतका गजल चर्चित छन्।
लेखक गुरूङलाई पाठकको अदालतमा उभिनुपूर्व तमू ह्युल छोँज धीँ, गुरूङ राष्ट्रिय परिषद् चितवनले स्वागत तथा सम्मान गरेको थियो। गुरूङ समुदायबाट नेपाली साहित्यको श्रृवृद्धिमा लागेर समग्र गुरूङ जातिकै उपस्थितिलाई बलियो बनाउन सफल भएको भन्दै चितवन जिल्लाका गुरूङ समुदायले शनिबार सोही अवसरमा स्वागत तथा सम्मान गरेको हो। ह्युल छोँज धीँ चितवनकी अध्यक्ष विमलादेवी गुरूङले शीतल कादम्बिनी गुरूङले आफू गुरूङ भएकै नाताले गुरूङ जातिकै विषयलाई बाहिर ल्याउन खोज्नु सकारात्मक विषय भएको बताइन्।
कार्यक्रममा तमू ह्यूल छोंज धीं गुरूङ राष्ट्रिय परिषदका केन्द्रीय सचिव सन्तलाल गुरूङ, बागमती प्रदेश प्रमुख गणेशबहादुर गुरूङ, केन्द्रीय सदस्य भैंखुकुमारी गुरूङ, तमू ह्यूल छोंज धीँ चितवनका पूर्वअध्यक्ष एवम सल्लाहकार चन्द्रमान गुरूङलगायतको उपस्थिति थियो।