कोभिड पछि हृदयघातको खतरा १४ प्रतिशत बढ्यो

0
100

२०७८ असोज १३ गते

काठमाडौं । कोभिड–१९ पछि सबैभन्दा ठूलो समस्या भनेको मुटुरोग देखिनु हो । संसारका एक–तिहाई मानिसको मृत्यु मुटुरोगका कारण भइरहेको छ । ६० वर्षपछि त क्यान्सर वा अन्य गम्भीर रोगको तुलनामा मुटु रोग हुने सम्भावना दुईदेखि तीन गुणा बढ्ने गर्छ । पछिल्ला केही समयदेखि मुटुका रोगीमा ज्येष्ठ नागरिकमात्रै नभई युवा पनि समावेश छन् । कोभिड–१९ पछि मुटुरोगीमा १४ प्रतिशतसम्मको वृद्धि भएको छ र यसमा धेरैजसो युवा नै छन् । ती पनि ३० देखि ४० वर्षका ।

भारतका टिभी अभिनेता सिद्धार्थ शुक्लाको ४१ वर्षमा हृदयघातका कारण भएको मृत्युपछि युवामा मुटुरोगसँग सम्बन्धित रोग कसरी बढिरहेको छ भनेर चर्चा भइरहेको छ । वर्ल्ड हार्ट डे (२९ सेप्टेम्बर) को मौकामा भारतीय सञ्चारमाध्यम दैनिक भास्करले फोर्टिस मेमोरियल रिसर्च इन्स्टिच्युटका हार्ट एण्ड भास्कुलर डिपार्टमेन्टका अध्यक्ष कार्डियोलोजिस्ट डा. टिएस क्लेर र मेदान्त मूलचन्द हार्ट इन्स्टिच्युटमा सिनियर कन्सल्टेन्ट कार्डियोलोजिस्ट डा. एचके चोपडा र केही अन्य डाक्टरसँग कुराकानी गरेका छन् । कम उमेरमा हृदयघात हुनुका कारण र कोभिड–१९ महामारीले यसलाई कसरी असर पारेको छ भन्नेबारे यहाँ जानकारी लिन खोजिएको छ ।

कम उमेरमा हृदयघातको खतरा निम्त्याउने ‘७ एस’:

स्ट्रेस (तनाव), स्मोकिङ (धुम्रपान), सेडेन्ट्री लाइफस्टाइल (सुस्त जीवनशैली), स्लिप इनएडिक्वेसी (सुत्नमा समस्या), स्याचुरेटेड फूड (डिब्बामा बन्द गरिएका खानेकुरा, जङ्कफूड), सल्ट एक्सेस (सामान्यभन्दा बढी नुन खानु), सुगर एक्सेस (सामान्यभन्दा बढी चिनी खानु) । यी सात ‘एस’ ले युवामा हृदयघात निम्त्याइरहेको छ ।

– अघिल्लो वर्ष कोभिड–१९ बाट निको भएपछि बिरामीमा हल्का, मध्यम र ठूलो आकारका रगतको ढिक्का युवाहरुको शरीरमा जमेको हामीले देखेका छौं । कोभिड संक्रमण प्रोथ्रोम्बोटिक, प्रो–्इन्फ्लेमेटरी, इम्युनोजेनिक हुन्छ । अर्थात् कतै न कतै यसले प्रतिरोधी क्षमतामा असर पारिरहेको हुन्छ र रगतको ढिक्का जम्ने प्रक्रियालाई मद्दत गर्छ ।

– यसैकारण कोभिड संक्रमणबाट निको भइसकेका मानिसहरुमा हृदयघातको खतरा बढ्यो, जो मोटो छन्, धुम्रपान गर्छन्, हाइपरटेन्सिव छन् वा सुस्त जीवनशैलीका कारण जसको कोलेस्ट्रोलको स्तर उच्च छ वा यस्ता मानिस जो तनावको उच्च स्तरसहित बाँचिरहेका छन् ।

जीवनशैलीसँग जोृृडिएका यी बानीले पनि बढाउँछ कम उमेरमा हृदयघातको खतरा जस्तैः

– असाध्यै धेरै तनाव, रिस

– निदाउने ढाँचामा गडबडी

– गलत समयमा गलत आहार

– अनियन्त्रित हाइपरटेन्सन

– मधुमेह र बढ्दो मधुमेह

– धुम्रपान, रक्सीको लत

– अबेर रातीसम्म काम गर्नु

– अपर्याप्त पानीको सेवन

के मुटुरोगका अन्य कारण पनि छन् ?

– छन् । कुनै परिवारमा यदि मुटुरोगका कारण मृत्यु भएको छ भने वंशानुगत रुपमा मुटुरोग अघि बढ्ने आशंका बनिरहन्छ । यस्ता परिवारका तीस वा सोभन्दा बढी उमेरका सदस्यले नियमित रुपमा रगत परिक्षण गरेर शरीरको कोलेस्ट्रोल स्तर हेरिरहनुपर्छ । कम्तीमा दुई वर्षमा एकपटक टीएमटी वा इको परीक्षण गराउनुपर्छ । यसमार्फत् मुटुको कार्य क्षमताबारे पत्ता लाग्छ । जति छिटो समस्याबारे थाहा हुन्छ, त्यति नै छिटो उपचार हुनसक्छ ।

– मुटुमा जन्मजात नै प्वाल हुनु, मुटुको भल्भ खराब हुनु, मुटुका मांसपेशीमा खराबी, मुटुमा संक्रमण, धड्कन बढ्नुजस्ता रोग पनि सामान्यतया देख्न सकिन्छ तर स्वास्थ्यको क्षेत्रमा भएका विकासपछि यी अधिकांश रोगको सफल उपचार अब सम्भव छ । नियमित परीक्षणपश्चात् यी रोगबारे समय हुँदा नै पहिचान गर्नुपर्ने हुन्छ ।

कम्मरको आकार बढ्ने बित्तिकै मुटुको आयु कम हुन्छः

पुरुषका पेटको मोटाई ९० सेन्टिमिटर र महिलाको ८० सेन्टिमिटर भन्दा कम हुनुपर्छ ।

यदि कम्मरको आकार बढी रहे समय अगावै हृदयघात हुने खतरा बढ्छ ।

– हामीले के खान्छौं ? त्यसलाई याद गर्न आवश्यक छ । हामी के खाइरहेका छौं, त्यसमाथि निगरानी राख्नुहोस् ।

– ७–८ घण्टा नियमित सुत्नुहोस् ।

मुटु रोगको समयमै पहिचान किन हुन सक्दैन ?

– शरीरले समय अगावै मुटु सम्बन्धि रोगको संकेत दिँदैन भन्ने हुँदैन तर हामी ती संकेतलाई एसिडिटी जस्ता साना तिना समस्या मानेर नजरअन्दाज गरिदिन्छौं । पछि यसको गम्भीर परिणाम भोग्नुपर्छ ।

– हालको परिस्थितिमा बिग्रँदो पर्यावरण, दुषित खानपिन र घट्दो शारीरिक गतिविधिलाई मध्यनजर गर्दै ३० वर्ष पुगिसकेपछि नियमित रुपमा मुटुको परीक्षण गरिरहनुपर्छ ।

कोभिडले कसरी मुटुको स्वास्थ्यमा प्रभाव पारेको छ ?

कोभिड–१९ मुख्य रुपमा स्वासप्रश्वास सम्बन्धि संक्रमण हो । केही मानिसहरुमा यो संक्रमणले मुटुसमेत थुप्रै अंगलाई नराम्रोसँग प्रभावित गरेको छ । अन्य भाइरल संक्रमणजस्तै कोभिड–१९ मा प्रतिरोधी क्षमतामा हमला गरेर मायोकार्डिटिसको कारण बन्ने गर्छ । तनावका कारण एक्यूट कोरोनरी सिन्ड्रोम तथा इलेक्ट्रोलाइट एवं एसिड–बेस्ड समस्याका कारण एरिथिमिया, जुन मुटु सम्बन्धि जटिलताका कारण अचानक मृत्युको कारण बन्ने गर्छ ।

महामारीमा हार्ट फेलका घटना बढिरहेका छन् । कोरोनाका सामान्य लक्षण देखिएका बिरामीको पनि मुटुमा हानी देखिएको छ । फोर्टिस अस्पतालमा कार्डियोलोजी विभागका प्रमुख डा. नित्यानन्द त्रिपाठीका अनुसार कोभिड–१९ बाट निको भइसकेका करिब २५ प्रतिशतमा कार्डियोभास्कुलर समस्या देखिएको छ । कोभिड–१९ का कारण भएको ४० प्रतिशत मृत्यु मुटुसँग सम्बन्धित रोग नै जिम्मेवार छन् । राहतको कुरा के हो भने कोभिडका कारण देखिएको मुटुरोगमा ७८ प्रतिशत बिरामी पूर्ण रुपमा निको भएका छन् । धेरैजसो मानिसलाई पहिलाको तुलनामा असाध्यै थकाई लाग्छ । अत्यधिक थकाई लाग्नुको कारण फोक्सोको समस्या हो वा मुटुको, त्यो भने पत्ता लगाउन मुश्किल छ ।

यी लक्षण देखिए अस्पताल जानुहोस्ः

– छाती दुखाई,

– छातीमा संकुचन महसुस हुनु

– छातीमा दबाब महसुस हुनु

– घाँटी, बंगारा, पेट र कम्मरको माथिल्लो भागमा पीडा हुनु

– यस्ता पिडा शरीरको बायाँतर्फ बढ्नु पनि मुटुरोगको सूचक हो ।

मुटुरोगबाट बच्न युवाले के गर्ने ?

– शारीरिक र मानसिक तन्दरुस्त असाध्यै महत्वपूर्ण भएको छ ।
जीवनलाई स्वस्थ तरिकाले अघि बढाउन अत्यावश्यक छ । यो बाल्यकालदेखि नै हुनुपर्छ । एउटा समय यस्तो पनि आउनेछ जब हामीले मुटुरोगभन्दा पनि मुटुको स्वास्थ्यबारे सोच्न सुरु गर्नुपर्नेछ ।

– मुटुलाई आनन्द र आराम दिने कसरत जस्तै दैनिक ३० मिनेट हिँड्नु, जगिङ, स्विमिङ र साइक्लिङ राम्रो कसरत हो । यसले मुटुलाई आराम दिलाउँछ । यदि तपाईं मुटुरोगी हुनुहुन्छ भने वेट लिफ्टिङ र पुश अप्सबाट बच्नुहोस् ।

– जिम्नेसियममा डाक्टरको निगरानीमा व्यायाम र डाइट प्रोटोकल हुनुपर्छ । योग र ध्यानले शारीरिक र मानसिक आरामलाई प्रोत्साहन दिनुहोस् । योगको सबै ८ कुरालाई ध्यानमा राख्नुहोस् – यम (के गर्ने, के नगर्ने ?), नियम (आत्म–अनुशासन), आसन (मुद्रा), प्राणायाम (श्वासक्रिया), प्रतिहार (विचार), धरना (एकाग्रता), ध्यान (आध्यात्मिक चिन्तन), समाधि (श्रेष्ठता) ।

मुटुलाई स्वस्थ राख्नका लागि के खाने ?

– धेरैभन्दा धेरै फलफूल, सागसब्जी खाने

– नट्स, ओखर, बदाम र पिस्ता खानुहोस्

– ओमेगा–थ्री फ्याटी एसिडको भरपुर सेवन गर्नुहोस्

– फास्ट फूडबाट बच्नुहोस्, जसमा नुन असाध्यै धेरै हुन्छ

– कम्तिमा दुई लिटर पानी दैनिक पिउनुहोस्