देश बनाउन हामी कहाँनेर सुध्रिनुपर्छ ?

0
39

२०७८ असोज ६ गते

काठमाडौं । सन् १७७५ तिर एशियाले कुल विश्वको अर्थतन्त्रको ८० प्रतिशत हिस्सा ओगटेको थियो । विश्वको कुल उत्पादनको दुई तिहाइ उत्पादन चीन र भारत एक्लैले गर्थे भने त्यसबखत युरोपको अर्थतन्त्र निकै धरासायी थियो । न त त्यसबेला अमेरिकाको अर्थतन्त्र नै बलियो थियो ।

त्यस समयमा एशिया विश्वशक्तिको केन्द्रविन्दुमा थियो । तर सन् १७५० देखि सन् १८५० को बीचमा युरोपेलीहरूले यति द्रुतगतिमा छलाङ्ग मारे कि त्यसपछि विश्व अर्थतन्त्रको साँचो एशियादेखि युरोपको हातमा परिसकेको थियो र त्यसपछि युरोपको एकतर्फी राज चल्न थाल्यो ।

सन् १९५० तिर पुग्दा युरोप र अमेरिकाले विश्वको कुल उत्पादनको दुई तिहाइ हिस्सा ओगटेका थिए भने चीनको योगदान जम्मा ५ प्रतिशत थियो । सन् १७५० तिरको एशियाली अर्थतन्त्रलाई नियाल्ने हो भने त्यसबखतको नेपाल पनि बलियो नै भएको पाइन्छ । नेपालको अर्थतन्त्र राणाकालीन समयसम्म पनि बलियो रहेको र राणाकालका शासकहरूले विभिन्न देशहरूलाई आर्थिक, सैन्य अनि खाद्यान्न सहयोग गर्ने गरेको उल्लिखित इतिहास पढ्न पाइन्छ ।

तर कसरी सम्भव भयो त एशिया केन्द्रबिन्दु भएको अर्थतन्त्र युरोपतिर ढल्किन ? अनि वर्तमान अर्थतन्त्रको बलियो स्तम्भ त अमेरिका नै हो । युरोप अझै बलियो छ । तर के अब फेरि चीनले गरिरहेको द्रुतगतिको अर्थतन्त्रको प्रगति, त्यस्तै गतिमा लम्किन तम्सिरहेको भारत लगायत एशियन टाइगर उपाधिले चिनिने सिङ्गापुर, दक्षिण कोरिया, मलेसिया र ताइवानले गरेको प्रगतिले फेरि विश्व अर्थतन्त्रको केन्द्र एशिया हुने निश्चित नै छैन र ? एशियाले छलाङ्ग मार्दै गर्दा हात्ती (भारत) र ड्रयागन (चीन) बीचको तरूल (नेपाल) ले भने किन आफ्नो गति लिन सकिरहेको छैन ? के नेपाल सधैं अस्तव्यस्त नै भइरहने हो ? अबको नेपालले समृद्धिको छलाङ्ग मार्न कुन अध्याय अवलम्बन गर्न जरुरी छ ? यी यस्ता प्रश्नहरूमा घोत्लिएर विश्व परिस्थिति नियाल्दै नेपाल अघि बढ्न नितान्त आवश्यक छ ।

अबको अध्याय

हामीले राणाशासन फाल्यौं, पञ्चायत फाल्यौं, राजतन्त्र फाल्यौं, लोकतन्त्रको पुनर्स्थापना गर्‍यौं र संघीय लोकतान्त्रिक गणतन्त्रमा हामी हिंडिरहेका छौं । तर पनि हामीले सोचे जस्तो उपलब्धि प्राप्त गर्न सकेनौं । यो नै वर्तमान अवस्थाको हाम्रो संघर्षको कथा हो ।

धेरै उपलब्धि हामीले प्राप्त पनि गरेका छौं तर के त्यतिकैमा सन्तुष्ट भएर बस्न सक्ने अवस्था छ त ? कि हामी यति नै पाउन योग्य छौं ?

यत्रतत्र अझै नेतादेखि कर्मचारीतन्त्रमा भ्रष्टाचार व्याप्त छ । न्यायालय अनि अख्तियार जस्ता स्वतन्त्र हुनुपर्ने धरोहरहरू दुईचार जनाको गोजीको पत्ता बनेका छन् । प्रशासन पनि सोचे जस्तो विश्वासिलो हुनसकिरहेको छैन र केवल मालिकको रक्षक जस्तो बन्न पुगेको छ ।

शिक्षा अनि स्वास्थ्य क्षेत्र व्यापारीकरणले ध्वस्त हुन थालिसके । बिचौलियाको बिगबिगीले यत्रतत्र नियाल्ने हो भने एउटा कर्मशील मानिस मनोबल गिराएर अब नेपालमा केही हुन्न विदेश नै ताक्नुपर्छ भन्ने निर्णयमा पुग्छ ।

हाम्रो आफ्नो कुनै भरपर्दो बलियो अर्थतन्त्र छैन । पर्यटन व्यवसाय फस्टाउन सकेको छैन । झण्डै ५० लाख युवायुवतीको अरबको पसिनामा जवानी खर्चिएर कतिले आफ्नो ज्यान गुमाएर पठाएको रेमिटेन्सले देशको अर्थतन्त्र जसोतसो चलेको छ । भन्न त हामी कृषिप्रधान देशका नागरिक भन्छौं तर हाम्रो लगभग ६० प्रतिशत किसानले उत्पादन गरेको खाद्यान्नले चार महीना पनि खान पुग्दैन । ब्रेनड्रेनले देशको भोलिको भविष्यमाथि नै शंका गर्ने अवस्था छ ।

हामी नेतृत्व राम्रो भइदेओस् भन्ने चाहन्छौं तर भोट दिने बेलामा भने कहिल्यै केही गर्न नसकेका अनुहारहरूलाई पुनः आशा गर्दै उनीहरूलाई नै प्रतिनिधि चुन्छौं । समस्या नेतृत्व, पद्धतिमा मात्र छैन । समस्या त हामी आम नेपालीमा छ
एक किसिमले भन्नुपर्दा नेपालमा इमानदार भएर बाँच्न निकै मुश्किल छ किनकि यहाँको वातावरण हामीले यस्तो निर्माण गर्‍यौं कि इमानदार नागरिकलाई पनि कुनै दलदलमा मुछिहाल्न हामी संलग्न हुन्छौं । नत्र कि त्यो नागरिक कसैको दास अनि नोकर बन्नुपर्ने हुन्छ । शायद, यी यस्ता यावत् कुराहरू हामीलाई स्वाभाविक नै लाग्छन् । किनकि यी कुराहरू झेल्दाझेल्दा हाम्रो अब बानी नै परिसक्यो । त्यसैले यस्ता हामीलाई असामान्य लाग्नुपर्ने कुराहरू पनि सामान्य लागिरहेका छन् ।

हामी सबैलाई केवल आफ्नै चिन्ता छ । हामी बाहिर खुबै आदर्शका कुरा गर्छौं तर परिआएको खण्डमा आफैं सानासाना स्वार्थका लागि देश छाडिदिन्छौं । हामी देश यस्तो भएन, त्यस्तो भएन त भन्छौं तर आफ्नो कर्तव्य बिर्सन्छौं । हामी देश राम्रो बनाइदिए हुन्थ्यो भन्ने त चाहन्छौं तर आफैं देश बनाउन लागि पर्दैनौं ।

हामी नेतृत्व राम्रो भइदेओस् भन्ने चाहन्छौं तर भोट दिने बेलामा भने कहिल्यै केही गर्न नसकेका अनुहारहरूलाई पुनः आशा गर्दै उनीहरूलाई नै प्रतिनिधि चुन्छौं । समस्या नेतृत्व, पद्धतिमा मात्र छैन । समस्या त हामी आम नेपालीमा छ । एकपटक अब हामी सबै सुध्रिनु आवश्यक छ । नत्र समृद्धि हाम्रो मीठो सपना मात्र रहनेछ ।

बलियो अर्थतन्त्र

कुनै पनि देश समृद्ध बन्न पहिला आफू बलियो हुन नितान्त आवश्यक छ । हामीले आफ्नो कमजोरीमा ध्यान दिएर होइन हाम्रो शक्ति के हो त्यसमा ध्यान दिएर आफू शक्तिशाली बन्नुपर्ने देखिन्छ । हामीले जे जति राष्ट्रवादका गफ हाँके पनि हामी पूर्णरूपमा भारतमाथि परनिर्भर छौं । हाम्रो भू-राजनीतिक अवस्था त हामी बदल्न सक्दैनौं तर फाइदा भने लिन सक्छौं, जसको निमित्त हामीले दृढताका साथ घोत्लिएर खट्नुपर्ने देखिन्छ ।

पहिलो कुरा हाम्रो सामर्थ्य वा शक्ति के केमा छ भनी पहिचान गर्नुपर्ने जरूरी देखिन्छ । त्यो जलविद्युत् हुनसक्छ, पर्यटन हुनसक्छ, आधुनिक कृषि प्रणाली, औद्योगिक क्रान्ति वा अन्य कुनै । यी सबै हामीले पहिचान गरेर त्यसमा पूर्णरूपमा लगानी गरी हामीले आफ्नो सामर्थ्य प्राप्त गर्नुपर्छ । जस्तो कि हाम्रा ५० लाख युवा बाहिर छन्, के तिनीहरूलाई आधुनिक कृषितर्फ आकर्षण गर्न सकिंदैन ? त्यसका निमित्त पहिला राज्यले तयारी गर्न जरूरी देखिन्छ ।

जब क्युबाली क्रान्तिताका खाद्यसंकट हुन थाल्यो तब त्यहाँको कृषि मन्त्रालयले नै सम्पूर्ण नागरिकलाई जहाँ जे सम्भव छ त्यही रोप्न र कुनै पनि जग्गा बाँझो नराख्न आह्वान गरियो । आफूले मन्त्रालय अघिको जग्गामा नै कृषिकार्य शुरू गर्‍यो । क्युबाले त्यसपछि पाठ सिक्यो र कृषिक्रान्तिमा छलाङ मार्‍यो ।

त्यस्तै नेपालमा पनि आवश्यक नीतिहरू ल्याई यदि केही बाधा अड्चन छ्न भने तिनलाई फुकाई आधुनिक कृषिलाई देशको मेरुदण्ड बनाउनुपर्ने देखिन्छ । हामी प्रविधिमा निकै पछि छौं । हामीले यसको भरपूर प्रयोग गर्न जरूरत छ । जस्तो कि नेदरल्यान्डमा १० हजार हेक्टरमा ग्रीनहाउस (ठूलो अपार्टमेन्ट मोडेलको) निर्माण गरी खेती गरिंदोरहेछ । आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरी कुन बिरुवालाई कति मात्रामा के के तत्व चाहिने हो, कति प्रकाश चाहिने हो, कति पानी चाहिने हो, फल राम्रो नराम्रो के कस्तो लाग्यो भनेर मनिटर गरिंदो रहेछ । यसरी नेदरल्यान्डले कृषिजन्य उत्पादन निर्यातमा यूरोपको दोस्रो हिस्सा ओगटेको रहेछ । यसरी के कसरी हुन्छ हामीले इच्छाशक्ति लिएर काम गर्नुपर्ने हुन्छ ।

अनि जलविद्युतको विकास तीव्र रूपमा गरी सम्पूर्ण नेपालमा वितरण गर्ने काम सबैभन्दा पहिला गर्नुपर्ने हुन्छ र उत्पादन धेरै गरी विद्युत बेच्न सक्नुपर्छ । जब जलविद्युतको विकास हुन्छ । तब त्यस सँगसँगै प्रविधि पनि भित्र्याउन सजिलो हुन्छ र डिजिटल नेपाल रूपान्तरण गर्न सजिलो भएसँगै माथि उल्लेख गरेजस्तै कृषि, शिक्षा, स्वास्थ्य, यातायात, औद्योगिक क्षेत्रमा आमूल परिवर्तन आउँछ । एक किसिमको विकासको चेन रियाक्सन हुनपुग्छ । तसर्थ, हामीले प्राथमिकतामा के राख्यो भने सजिलो हुन्छ भन्ने पहिचान गर्दै कार्य गर्नुपर्ने देखिन्छ ।

पर्यटनको निमित्त त नेपाली एउटा प्रकृतिले प्रदान गरेको स्वर्ग नै हो, त्यसलाई कसरी अर्थतन्त्रको मेरुदण्ड बनाउने भन्ने खोजी गर्दै कार्यान्वयन गरिनुपर्छ । हामीले हिन्दुस्थानदेखि नै करोडौं हिन्दूलाई धार्मिक पर्यटनको रूपमा भित्र्याएर अथाह फाइदा कमाउन सक्छौं। पर्यटनको सम्भावना केलाएर कहिल्यै सकिंदैन । बस आवश्यक छ त दृढ इच्छाशक्ति अनि त्यही अनुसारको नीति र अवस्थाको निर्माण गरिदिनु ।

बलिया संस्था अनि शून्य भ्रष्टाचार

कुनै पनि देश समृद्ध बन्न त्यस देशका संस्थाहरू निकै बलिया हुन आवश्यक छ । बलिया संस्था विना विकसित देशको कल्पना गर्नु मूर्खता हुन जान्छ । संस्था बलियो बनाउन राज्य सञ्चालनमा रहेका नेतृत्ववर्गले उदाहरण प्रस्तुत गर्न नितान्त आवश्यक छ । राज्यव्यवस्थामा इमानदारी, पारदर्शिता, पद्धति र उत्कृष्टतालाई प्राथमिकता दिंदै सुशासन कायम गरी जनतालाई विश्वासमा लिन जरूरी छ ।

बलिया संस्थाभित्र राजनीतिक हस्तक्षेप मुक्त अदालत, अख्तियार, संवैधानिक निकाय, विश्वविद्यालय र शैक्षिक क्षेत्र, ठूला ठूला स्वास्थ्य संस्था, प्रहरी प्रशासन, आयोगहरू इत्यादि हुन जरुरी छ । यी संस्थाहरू बलिया र कामयावी नभई देश बलियो कदापि बन्न सक्दैन ।

मुख्यत: समृद्ध मुलुकको आधार जनाउने भनेको उत्कृष्ट शिक्षा क्षेत्र र उत्कृष्ट स्वास्थ्य क्षेत्र हुन् । तपाईंहरू दुनियाँको जुनसुकै विकसित वा समृद्ध मुलुक नियाल्नुहोस् कुनै पनि देशको शिक्षा र स्वास्थ्य क्षेत्र अब्बल नभइकन ती कुनै पनि मुलुक विकसित भएको पाउनुहुन्न । त्यस्ता विकसित मुलुकहरूमा भ्रष्टाचार निकै न्यून हुन्छ, राज्य सञ्चालकहरूमा इमानदारी र नैतिकता अटेसमटेस भएर भरिएको हुन्छ । पद्धति अनि पारदर्शिता कायम भएको हुन्छ र त्यस्ता मुलुकहरूले कामदार अरूको देशमा पठाउँदैनन् । बरू विश्वका विभिन्न देशका दक्ष जनशक्ति आयात गर्छन् ।

विश्वमा त्यस्ता समृद्ध देशहरू विरलै होलान् जसले आफ्नो जनशक्ति बेचिकन देशमा समृद्धि हासिल गरेका होलान् र विकसित मुलुकहरूमा देशलाई चिनाउने संस्थाहरू निकै नै बलिया हुन्छन् । यी माथिका विकसित देशका पहिचानहरू हुन अब एकपटक नेपाललाई नियालौं । हामी कुन धरातलमा छौं छर्लङ्ग नै हुन्छ। हामीले राज्यलाई प्रतिनिधित्व गर्ने संघसंस्थाबाट राजनीति निकालेर एउटा असल पद्धतिको थालनी गरी मेरिटोक्रेसीलाई प्राथमिकता दिइनु आजको अपरिहार्यता नै हो र जसको अरु कुनै विकल्प छैन ।

विश्वलाई कोरोनाले चुनौती दिइरहँदा विकसित देशको काम गर्ने शैली छुट्टै छ र नेपालजस्ता विकासोन्मुख देशको काम गर्ने शैली निकै फरक छ । उनीहरू सम्पन्न छन् भने हामी केही स-सानो कुराको निमित्त उनीहरूकै मुख ताकिरहनु परेको छ । उनीहरू भ्याक्सिन बनाइरहेका छन् भने हामी पीपीईमा समेत भ्रष्टाचार गर्न खोज्छौं ।

कोरोनाले हामी जस्ता देशको औकात देखाइदिएको छ । यस्तो परिस्थितिमा सरकारी अस्पताल कति कमजोर रहेछन् भन्ने हाम्रो अघि छर्लङ्ग भएको छ र निजी स्वास्थ्य क्षेत्रले केवल टुलुटुलु हेरिरहेको अवस्थामा डा. गोविन्द केसीले राख्नुभएका मागहरूको सार्थकता निकै बढेको छ । यो अहिलेको परिस्थितिमा हाम्रा स्वास्थ्य संस्था बलिया भइदिएको भए डराइहाल्नुपर्ने अवस्था हुने थिएन ।

नेपालको स्वास्थ्य र शिक्षा क्षेत्रमा व्यापार भइरहेको छ । राज्य र त्यसका माफियाहरू मूकदर्शक बनेर बसिरहेका छन् । एउटा सामान्य परिवारका छोराछोरीले सरकारी स्कूलबाट गुणस्तरीय शिक्षा प्राप्त गर्न निकै मुश्किल छ । यदि गरिहाले पनि निजी स्कूलका विद्यार्थीसँग प्रस्तिस्पर्धा गर्न सक्ने अवस्था छैन । साइन्स, म्यानेजमेन्ट, मानविकी अनि कानून जस्ता संकायमा +२ गर्न सामान्य परिवारको छोराछोरीलाई मुश्किल छ । किनकि यी विषयहरू न्यून शुल्कमा सरकारी कलेजमा पढाइ नै हुँदैनन् वा त्यति सरकारी कलेज नै छैनन् भनौं ।

काठमाडौंमा यी विषय पढाइ हुने निजी कलेजहरू यत्रतत्र छन् जसको शुल्क छोइनसक्नु छ । दुई वर्षमा +२ पास गर्न ५-६ लाख रुपैयाँ खर्च गर्नुपर्छ जुन सामान्य परिवारका अधिकांश नेपालीको औकात बाहिरको कुरा हो । अनि कसरी अधिकांश मध्यम अनि न्यून वर्गका परिवारका छोराछोरी डाक्टर, इन्जिनियर, कृषिविज्ञ, वकिल लगायत धेरै पेशाहरूमा कसरी पुग्छन् ?

यी कुराहरूमा राज्यले ध्यान दिनुपर्छ र यसरी विचौलियाहरूले गरेको व्यापार राज्यले नियन्त्रण गरि शिक्षा र स्वास्थ्यमा समान अवसर सबैलाई प्रदान गर्नु राज्यको कर्तव्य उसले बिर्सन हुँदैन । यी यावत् कुराहरूमा घोत्लिएर नेपालले नयाँ उपयुक्त मार्ग खोल्नु आजको आवश्यकता हो ।

अबको राजनीतिक स्कुलिङ

अब फेरि बन्दूक बोकेर देश समृद्ध बन्दैन र यो जति मूर्खता अब केही हुन पनि हुँदैन । अब त दिमागको प्रयोग गरेर भिजनले देश बनाउने हो । हामीले धेरै राजनीतिक व्यवस्था त परिवर्तन गर्‍यौं तर नेपालको अवस्था परिवर्तन गर्न भने कहिल्यै सकेनौं । यसले व्यवस्था परिवर्तन गर्न आएकाहरूले अब अवस्था परिवर्तन गर्न सक्दैनन् भन्ने प्रश्न गर्न बाध्य पारिदिएको छ। अब नयाँ सोच, नयाँ विचार अनि नयाँ जोशको आवश्यकता परेको हो कि भन्ने सबैमा पर्न थालिसकेको छ किनकि अहिले जोश जाँगरको युवाले सोच्ने सोचले मात्र देशले छलाङ्ग मार्न सक्छ नत्र कछुवा जस्तो घिस्रिने बाहेक अरु केही हुन सक्दैन ।

देशलाई अहिलेको समयमा नयाँ उँचाइ दिन नसक्ने हो भने अब फेरि एकपटक नयाँ उथलपुथल हुनेछ र जुन समयको माग सावित हुनेछ । अहिलेका पार्टीहरू पुरानै शैलीमा चलिरहेका छन् । अनि क्याम्पस र कलेजहरूमा खोलिएका विद्यार्थी संगठनहरूले फाइदा कम ज्यादा घाटा लगाइरहेको भन्ने बहस चल्न थालेको छ र जुन कुराको अध्ययन गर्दा थाहा पनि पाउन सकिन्छ ।

विद्यार्थी संगठनले पनि नेपाली शिक्षा क्षेत्रको विकासमा अंकुश लगाउने काम गरेको भान हुन्छ । हाम्रा धेरै विद्यार्थीहरू क्पाम्पस कलेज अध्ययन गर्न, खोज अनुसन्धान गर्न होइन कि एक संगठनका र अर्को संगठनका कसरी भिड्ने भन्ने प्रशिक्षण लिन जान्छन् । भ्रष्टाचार कसरी गर्ने, चन्दा आतंक कसरी गर्ने, ठेकापट्टा कसरी गर्ने भन्ने अदृश्य प्रशिक्षण लिन जान्छन् अनि तस्करीमा कसरी पैसा कमाउने, गुण्डागर्दी, भाँडभैलो कसरी गर्ने भन्ने प्रशिक्षण गरिरहेको भान पनि हुन्छ ।

उनीहरूको धेरै समय पुस्तक र कक्षाकोठा भन्दा बाहिर बितिरहेको हुन्छ । के अबको विद्यार्थी राजनीतिको मोड त्यही हो त ? अबको विकल्पको रूपमा यी विद्यार्थी संगठनहरू पूर्णरूपमा खारेज गर्दै एउटा मात्र स्वतन्त्र विद्यार्थी युनियन कायम गरिनुपर्छ र विद्यार्थीले समग्ररूपमा यसमार्फत नै नेतृत्व विकास गर्न सिक्नेछन् र नेता पनि यसबाट नै उत्पादन हुनेछन् । फेरि नेता त कुनै परिस्थिति र आन्दोलनले पनि त निर्माण गर्ने होला ।

अबको समयमा हरेक क्षेत्रमा राजनीतीकरण गरिनु आवश्यक छैन । पार्टीगत ट्रेड युनियनहरू, पत्रकारका संगठन, पेशागत संगठन र अन्य अनावश्यक जे जे छन्, तिनीहरू पूर्ण रूपमा बन्द गरी स्वतन्त्र छोडिनुपर्छ । अब कि त काङ्ग्रेस कम्युनिष्टले देशलाई निकास दिन सक्नुपर्छ वा आफ्नो सबै संरचना भंग गरेर पूर्णरूपमा शून्यदेखि नयाँ समयानुकूल पार्टीगत संरचनामा जानुपर्छ । होइन भने अबको १० देखि १५ वर्षमा यी पार्टीहरूले आफ्नो अस्तित्व गुमाउनु समयको माग हुनेछ ।

धेरै सक्षम अनि बौद्धिक युवा जमात जो अहिलेको राजनीतिक अवस्थादेखि आकुलव्याकुल छन् र देश विदेशमा अध्ययन गरिरहेका छन तिनीहरू निकै असन्तुष्ट छन् । तिनीहरूको हण्डरठक्कर अनि भोगाइले धेरै पाठ सिकिसकेका छन् र देश नबनुन्जेल केही नहुने रहेछ भन्ने बुझ्न थालेका छन् । एकदिन तिनीहरूको असन्तुष्टि विस्फोट भएर नयाँ आयाम थपिने निश्चित नै छ । किनकि तिनीहरूको क्षमतालाई देशको राजनीतिक संयन्त्रले पचाएन र नातावाद, कृपावाद र लम्पसारवादले प्रश्रय पाउँदा उनीहरूलाई देशले अवमूल्यन गरिरह्यो । भनिन्छ नि नोकर जन्माउन ल्याएको शासन व्यवस्थाले कहिल्यै मालिक जन्माउँदैन । त्यस्तै संसदीय व्यवस्था पनि नोकर जन्माउने कारखाना बन्न पुगेको छ । अब संसदीय व्यवस्थाले नेपाललाई पार नलगाउने समयक्रमले पुष्टि गरिसकेको छ । त्यसैले जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको मोडेलमा जानुको अन्य विकल्प देखिंदैन । साथै अबको चुनावी व्यवस्थालाई निकै कम खर्चिलो बनाउँदै पैसावाला मात्र होइन, जो कोही चुनाव लड्न सक्ने वातावरण निर्माण गर्नुपर्छ ।

अबको राजनीतिक स्कुलिङले राजनीतिक कार्यकर्तालाई भेडापन होइन कि विना पूर्वाग्रह विचारको बहस गरी भिजन सहितको सहीलाई सही अनि गलतलाई गलत भन्ने सामाजिक चेतसहितको व्यवहार सिकाउने हुनुपर्छ । नेपाली राजनीतिमा इमानदारी, नैतिकता, कर्तव्यपरायणता, पद्धति, पारदर्शिता, दूरदर्शिता, उत्कृष्टता अनि जनताको मानमर्यादा कायम गर्दै जनतालाई नै प्राथमिकतामा राख्ने लोककल्याणकारी राज्यव्यवस्था अवलम्बन गरिनुपर्ने आजको आवश्यकता बनिसकेको छ, नत्र समृद्ध नेपाल मीठो स्वैरकल्पना मात्र हुनेछ।

अन्त्यमा,

जसरी लि क्वान युनले सिङ्गापुरलाई सजाए त्यही दृढताका साथ नेपालले आयाम ग्रहण गर्नुपर्न देखिन्छ । त्यतिबेला सिङ्गापुरसँग न आफ्नै सुरक्षा सेना थियो, न राम्रो अर्थतन्त्र नै । न त प्राकृतिक स्रोत र साधनले नै सम्पन्न थियो । न ९० प्रतिशत जनतासँग घर नै थिए तर पनि लिको नेतृत्वमा त्यस्तो दयनीय देशले त कायापलट फेर्दै विश्व अर्थतन्त्रलाई आकर्षण गर्न सक्यो भने नेपालले नसक्ने त कुरै छैन ।

अहिले सिङ्गापुर विश्वमा सजिलै अनि सुरक्षित तरिकाले लगानी गर्न सकिने देश बनेको छ । धेरै बहुराष्ट्रिय कम्पनीहरू त्यहाँ खुलेका छन्, समुद्रलाई पुरेर आफ्नो जमीन बढाइएको छ, मुख्य व्यापारिक केन्द्रको रूपमा विश्वमा छाप पारेको छ र अहिले सिङ्गापुरमा जे छ त्यो विश्वकै सर्वोत्कृष्टमा पर्दछ । उसले आफू जुन ठाउँमा अवस्थित छ त्यसबाट निकै फाइदा उठायो र सम्पन्नता हासिल गर्‍यो ।

तसर्थ, नेपाली पनि दुई ठूला राष्ट्रहरूबीच अवस्थित छ र दुवैको जनसंख्या विश्वको कुल जनसंख्याको लगभग आधा हिस्सा हुन आउँछ । अब दक्षिणतिरका नाका मात्र होइन, उत्तरतिरका नाकाहरू नि धमाधम खोलिनुपर्छ र सडकमार्ग, रेलमार्गबाट तुरुन्त जोडिनुपर्छ । जसले धेरै सम्भावनाहरूका निमित्त ढोकाहरू खोलिदिन सक्छ । नेपालमा पनि नीतिगत जटिलताहरूलाई फुकाउँदै सकेसम्म नेपालमा विदेशी लगानी सुरक्षित गर्ने प्रयास गर्दै बहुराष्ट्रिय कम्पनीलाई लगानी गर्न प्रोत्साहित गर्नुपर्छ । यसले गर्दा उत्पादित वस्तुहरूले चीन अनि भारतको ठूलो बजारमा फाइदा लिन सकून । यसबाट नेपाललाई प्रत्यक्ष अनि अप्रत्यक्ष दुवै रूपमा फाइदा नै हुनेछ ।

नेपालमा हुन नसक्ने भनेको केही छैन तर जरुरत छ त असल नेतृत्वको, असल राजनीतिक पद्धतिको, उपयुक्त वातावरणको अनि चेतना, दक्षता, उत्कृष्टताले युक्त नागरिकको । आशा गरौं- सुनौला दिनहरू उषाका किरणहरूसँगै उदाउनेछन् ।
(लेखक टेलिभिजन कार्यक्रम निर्माता एवम प्रस्तोता हुन् ।)