कांग्रेसको कान्छो उमेदवार सुशील ब्लोन राक्सिराङ्गको वडा सभापतिमा निर्वाचित

0
450

२०७८ भदौ २१ गते ।

मकवानपुर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत वडा अधिवेशनबाट मकवानपुरमा सबैभन्दा कान्छो उमेरका सभापति बनेका छन् । राक्सिराङ्ग गाउँपालिका वडा नं ५ पेङ्चे निवासी २५ बर्षका सुशील ब्लोन वडा सभापतिमा निर्वाचित भएका हुन ।

राजनीतिप्रति युवा पुस्ता आकर्षित छैनन् भन्ने बुझाइलाई गलत सावित गर्दै भदौ २० गते भएको नेपाली कांग्रेसको वडा अधिवेशनमा सुशील ब्लोन नेतृत्वमा आएको हो । युवाको सक्रियता बुढापाकालाई नेता बनाउनेमा मात्र सीमित छैन । कति युवा आफैँ नेतृत्वमा स्थापित हुन थालेका छन् ।

विगत इतिहासमा ९० वर्षसम्मका क्रियाशील सदस्य हुने पार्टीका नेता कार्यकर्तामा २५ वर्षका ब्लोनले वडा सभापतिमा जीत हात पारेपछि सामाजिक सञ्जालमा बधाई दिनेको सङ्ख्या बढेको छ । सञ्जालमा धेरैले ‘अब देशमा केही हुन्छ’ भनी सकारात्मक सन्देश प्रवाह गरेका छन् ।

मकवानपुर जिल्ला राक्सिराङ्ग गाउँपालिका वडा नं ५ को सभापतिमा २५ वर्षका ब्लोन निर्वाचित भएपछि पार्टीका नेता कार्यकर्ता मात्र नभइ अन्य दल एवं क्षेत्रबाट पनि बधाई सन्देशको ओइरो लागेको हो । केन्द्रीय सभापतिमा ६० पार गरिसकेका पाका नेताहरुले दाबी गरिरहेका बेला पार्टीको सबैभन्दा तल्लो निकायमा २५ वर्षका युवा पुग्दा पार्टीमा क्रियाशील युवा समूहमा रक्तसञ्चार भएको छ । सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै सुशील ब्लोनले वडाका पार्टी नेता कार्यकर्ताले गरेको विश्वासलाई कायम राख्दै नमूनाका रुपमा काम गर्ने प्रतिक्रिया दिनुभयो ।

राजनीतिका माध्यमबाट समाजमा केही गरेर देखाउने सोच बनाएका युवालाई पार्टीको सबै तहको नेतृत्वमा स्थान दिनुपर्ने सभापति सुशील ब्लोनले बताउनु भयो । लोकतन्त्रको पर्याय दाबी गरे पनि कांग्रेसले समयमा पार्टी र भ्रातृ एवं शुभेच्छुक संस्थाको स्वस्थ अधिवेशन समेत नगराएको टिप्पणी हुने गरेको छ । वडा तहसम्म लोकतान्त्रिक अभ्यासलाई तीव्रता दिन पनि युवा पुस्ता सक्रिय राजनीतिमा आउनु पर्ने धारणा प्रबल बन्न थालेको छ । साथै अहिले यति कान्छो उमेरमै राक्सिराङ्ग गाउँपालिका वडा नं ५ को सभापति बनेका ब्लोनको गाउँपालिकामा मात्रै नभएर मकवानपुर जिल्लाभर नै निक्कै चर्चा हुन थालेको छ ।