कोरोना संक्रमण फेरि बढ्यो

0
89

२०७८ असार २१ गते

विराटनगर : प्रदेश १ मा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको छ। दोस्रो लहरपछि महामारीको रूप लिएको संक्रमण विस्तारै कम हुँदै गइरहेका बेला पुनः बढ्न थालेको हो। सुरुआती चरणमा महामारीले भयावह रूप लिँदा उत्पन्न असामान्य अवस्था जेठ अन्तिम साताबाट संक्रमण कम हुँदै जाँदा सहज हुन थालेको थियो। तर असार दोस्रो साताबाट दैनिक संक्रमण बढ्दै गएको तथ्यांकले पुष्टि गरेको छ।

प्रदेश १ मा असार १३ गते १ हजार ४८ जनाको पीसीआर परीक्षण गर्दा ३ सय ३९ जनामा संक्रमण पुष्टि भएको थियो। १४ गते १ हजार २३ परीक्षण हुँदा ३ सय ४२, १५ गते १ हजार २ सय ९८ मा ३ सय ६२, १६ गते १ हजार १ सय २ मा ३ सय ६८, १७ गते १ हजार ३ सय ५९ मा ४ सय ७८, १८ गते ८ सय ९४ मा ३ सय ८, १९ गते ५ सय ७५ जनाको परीक्षण हुँदा २ सय ७१ जनामा संक्रमण पुष्टि भएको छ। असार २० अर्थात् आइतबार ८ सय ३ जनाको पीसीआर परीक्षण हुँदा ३ सय १२ जनामा कोरोना यकिन भएको छ।

प्रदेश १ मा हालसम्म ७३ हजार ३८ जनामा संक्रमण पुष्टि भइसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार ६५ हजार ५ सय ३५ जना उपचारपछि निको हुँदै कोरोनामुक्त बनेर सामान्य जीवनमा फर्किसकेका छन्। हाल प्रदेश १ मा सक्रिय संक्रमितको संख्या ६ हजार २ सय २८ रहेको छ। सामान्य अवस्थाका अधिकांश होम आइसोलेसनमा छन्। प्रदेश १ मा हालसम्म कोरोनाका कारण १ हजार २ सय ७५ जनाको मृत्यु भइसकेको छ। जसमध्ये ४ सय ६५ जनाले पहिलो भेरियन्टमा ज्यान गुमाएका थिए। पहिलोभन्दा दोस्रो भेरियन्टमा मृत्यु हुने संक्रमितको संख्या झन्डै दोब्बर छ। दोस्रो भेरियन्टमा ८सय १० जना संक्रमितको मृत्यु भएको तथ्यांक सामाजिक विकास मन्त्रालयसँग छ।

‘दोस्रो भेरियन्टपछि अवस्था सामान्य बन्दै गइरहेका बेला फेरि संक्रमण बढ्न थालेको कोसी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले बताए। उनका अनुसार दैनिक संक्रमण यकिन हुने र उपचारका लागि अस्पताल भर्ना हुने संख्याले कोरोनाका बिरामी बढ्न थालेको पुष्टि हुन्छ। डा. दासका अनुसार खाली भएका अस्पतालका बेडहरूमा पुनः भर्ना हुने बिरामीको चाप बढेको छ। दोस्रो भेरियन्टपछि संक्रमण दर १५ प्रतिशतमा झरेको उनले बताए। ‘महामारी चरमबिन्दुमा पुग्दा ५० प्रतिशतसम्मको रिपोर्ट पोजिटिभ आउँथ्यो,’ उनले भने, ‘तर १५ प्रतिशतमा झरिसकेको संक्रमण पुनः बढेर ५० प्रतिशत हाराहारीमा पुगेको छ।’ पछिल्लो समय संख्या पुनः बढ्न थालेपछि बेडको अभाव नै हुने अवस्था आउने हो कि भन्ने चिन्ता थपिएको डा. दासले बताए। कोसी अस्पताल कोभिड केयर सेन्टरमा ७५ जनासम्म बिरामी भर्ना गरेर उपचार गरिएको थियो। असार १२ गते ९ जना मात्रै संक्रमित थिए। अहिले अस्पतालमा उपचाररत संक्रमितको संख्या २५ पुगिसकेको छ। ‘अब संक्रमण घट्यो होला भन्ने अपेक्षा गरिएको थियो,’ डा. दासले भने, ‘तर पछिल्लो तथ्यांकले बढ्दै गएको देखाएको छ।’ अस्पतालमा शंकास्पद बिरामी पनि धेरै आउन थालेका छन्। यसअघि एक दिनमा ७ जनाभन्दा बढी बिरामी भर्ना हुन्थे। ‘केही दिन नयाँ भर्ना शून्य थियो। अवस्था सामान्य भयो भन्ने ठानेका थियौँ,’ डा.दासले भने, ‘तर अहिले पुनः दैनिक ४ जनासम्म भर्ना गर्नुपर्ने अवस्था छ। यही स्थिति हो भने परिस्थिति झन् जटिल बन्छ होला।’ मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा ३ सय जनासम्म संक्रमितको उपचार हुन्थ्यो। त्यो संख्या घटेर २० मा झरेको थियो। अस्पतालले बेड पनि घटाएर एक सयमा झा¥यो। अहिले ६५ मा सीमित छ।

विराटका कोभिड अस्पताल इन्चार्ज सुनील देवका अनुसार अहिले ४५ जना संक्रमित उपचाररत रहेकोमा २२ जनाको आईसीयूमा उपचार भइरहेको छ। ‘संक्रमण निक्कै कम भएर गएको थियो,’ उनले भने, ‘तर अहिले तेस्रो भेरियन्ट नै आएको हो किजस्तो देखिने गरी संक्रमण बढ्दै गएको छ।’ देवका अनुसार पछिल्लो समय फेरि अवस्था गम्भीर बनेका र आईसीयू चाहिने बिरामीको संख्या बढ्न थालेको छ।