नेपाली फिल्म ‘एक्स ९’ मा भिलेनको भूमिकामा सुनील शेट्टी, नायकमा अनमोल केसी

0
123

२०७८ असार ४ गते

काठमाडौं । पछिल्लो समय निर्देशक मुकुन्द भट्टको फिल्म ‘एक्स ९-लेभल १’ को निकै चर्चा छ । निर्देशक भट्टले केही समय अगाडि यस फिल्मको घोषणा गरेका थिए ।

उनले यस फिल्मका लागि कलाकार छनोट गरिरहेका छन् । फिल्मको नायकको भूमिकामा अभिनेता अनमोल केसीलाई अफर गरिएको बताइएको छ ।

मुकुन्दको अफर अनमोलले स्वीकार गरेका छन् तर उनीहरुबीच कागजी सम्झौता भएको छैन । अनमोल बाहेक फिल्ममा सौगात मल्ल र पुष्प खड्काको पनि अभिनय रहने बतायएको छ ।

यस्तै यस फिल्मका लागि भिलेनको भूमिकामा बलिउडका चर्चित अभिनेता सुनील शेट्टीलाई अफर गरिएको बताइएको छ ।

फिल्ममा सुनील हुने भएपछि फिल्मको चर्चा पनि बढेको छ । निर्देशक भट्टले करीब एक महिना अगाडि सुनिलसँग फिल्म बारे कुरा गरेको उनी बताउछन् ।

फिल्मलाई लिएर उनी सकारात्मक रहेको निर्देशक भट्ट बताउँछन् । यसअघि पनि सुनिल नेपाल आइसकेका छन् । तिहारपछि फिल्मको छायांकन सुरु हुने बताइएको छ ।