नेपालमा १० वर्षभन्दा कम उमेरका ५ हजार भन्दा बढी बालबालिका कोरोना संक्रमित

0
52

२०७७ मंसिर ५ गते
काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९) बाट नेपालमा १० वर्षभन्दा कम उमेरका ५ हजार ५६५ बालबालिका संक्रमित भइसकेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमित बालबालिकामध्ये एक हजार ९०० जना काठमाडौंका छन् । देशभरि ११ वर्षदेखि २० वर्षका १४ हजार ६३० जनामा कोरोना पुष्टि भएको छ ।

संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) ले ८७ देशमा गरेको अनुसन्धान अनुसार हरेक ९ संक्रमितमध्ये १ जना अर्थात् करिब ११ प्रतिशत बालबालिका छन् ।

यी तथ्यांकले देखाउँछ बालबालिका कोभिड–१९ को जोखिमबाट मुक्त छैन । युनिसेफकी कार्यकारी निर्देशक हेनेरिटा फोर बालबालिका कोरोनाबाट विरलै मात्रै संक्रमित हुन्छन् भन्ने भनाइ सत्य नभएको बताउँछिन् ।

कान्ति बाल अस्पतालका निर्देशक डा. कृष्णप्रसाद दाहाल आफ्नो अस्पतालमा दीर्घरोगीदेखि लक्षण नभएको बालबालिकामा पनि संक्रमण देखिएको बताउँछन् । उनका अनुसार तुलनात्मक रुपमा १४ देखि १८ वर्ष उमेर समूहका बालबालिकामा बढी संक्रमण देखिएको छ ।

मनोविज्ञानमा विद्यावारिधी गरेकी सुमाया राई बालबालिकाको व्यक्तित्व विकासमा कोरोनाले प्रत्यक्ष प्रभाव पार्ने बताउँछिन् । उनी भन्छिन्, ‘सिकाइको फाउन्डेसन बन्ने बेलामा आएको महामारीको दीर्घकालीन प्रभाव नहोस् भन्नेतर्फ सचेत हुनु जरूरी छ ।’

डा. दाहाल बालबालिकाको पोषणमा पनि विशेष ध्यान दिनुपर्ने बताउँछन् । कमजोर बालबालिकामा संक्रमण देखिँदा मृत्युदर बढ्ने सम्भावना अत्याधिक हुने उनको भनाइ छ ।

दीर्घकालीन प्रभावको जोखिम

युनिसेफ र सेभ द चिल्ड्रेनको प्रतिवेदन अनुसार विश्वमा कोभिड–१९ महामारीको कारण बहुआयामिक गरिबीमा बाँच्न बाध्य भएका बालबालिकाको संख्या १ अर्ब २० करोड पुगेको छ । निम्न, निम्न–मध्यम आय भएका देशहरूमा अभावमा बाँचिरहेका बालबालिकाको संख्यामा १५ प्रतिशत अर्थात १५ करोडले वृद्वि भएको छ ।

कोरोनाले बालबालिकामा पोषणको समस्या पनि बढाएको छ । युनिसेफले १३५ वटा देशमा गरेको अनुसन्धानले महिला तथा बालबालिकाको लागि प्रदान गरिने पोषण सेवाको पहुँचमा ४० प्रतिशत घटेको छ ।

२०६८ सालको जनगणना अनुसार नेपालमा बालबालिकाको संख्या एक करोड १० लाख ८४ हजार ३११ छन् । बागमती प्रदेशका प्रमुख सचिव डा. मानबहादुर बिके कोभिड–१९ ले गर्दा बाल श्रम, दुराचार र हिंसा बढेको बताउँछन् ।

‘कोरोनाले गर्दा बालबालिकामा प्रतिकूल मानसिक असर परेको छ भने बालापन जस्तो स्वर्णीम समय पनि गुमेको छ’ सचिव बिके भन्छन् ।

मनोविज्ञानमा विद्यावारिधी गरेकी सुमाया राई बालबालिकाको व्यक्तित्व विकासमा कोरोनाले प्रत्यक्ष प्रभाव पार्ने बताउँछिन् । उनी भन्छिन्, ‘सिकाइको फाउन्डेसन बन्ने बेलामा आएको महामारीको दीर्घकालीन प्रभाव नहोस् भन्नेतर्फ सचेत हुनु जरूरी छ ।’

कोरोनाबाट जोगाउन के गर्ने ?

युनिसेफका अनुसार स्वास्थ्य सेवाहरूमा सिर्जना हुने गम्भीर अवरोध तथा बढ्दो कुपोषणको कारणले आगामी १२ महिनामा संसारभरि थप २० लाख बालबालिकाको मृत्यु र २ लाख मृत शिशु जन्मिने सक्ने प्रक्षेपण गरेको छ ।

बालबालिकालाई सुरक्षित राख्न कति आवश्यक छ भन्ने यो प्रक्षेपणले देखाउँछ । चिकित्सकहरू बालबालिकालाई जति सक्दो कोभिड संक्रमणबाट बचाउन सल्लाह दिन्छन् ।

नगई नहुने अवस्थामा बाहेक बालबालिकालाई घरबाहिर जान नदिने, आफन्त वा पाहुनालाई घरमा नबोलाउने, जन्मदिन वा अन्य जन्मघट हुने कार्यक्रम नगर्ने, सम्भव भएसम्म फरक फरक शौचालय प्रयोग गर्ने, ठूलाले प्रयोग गरेको टावेल–काइँयो बालबालिकालाई प्रयोग गर्न दिन नहुने जनस्वास्थ्यविद्हरू बताउँछन् ।

त्रिवि शिक्षण अस्पतालका कोभिड फोकल पर्सन डा. सन्तकुमार दास बृद्धबृद्धा र परिवारका अन्य सदस्यहरूसँग बढी घुलमिल हुने भएकाले बालबालिकालाई भाइरस सर्ने सम्भावना बढी रहेको बताउँछन् । उनी भन्छन्, ‘बालबालिकालाई कोभिडबाट सुरक्षित राख्नु अभिभावकको पहिलो दायित्व हो ।’

कान्ति बाल अस्पतालका निर्देशक डा. दाहाल पनि बालबालिकालाई संक्रमणबाट जोगाउन अभिभावकहरूले नै सुरक्षाका उपायहरू अपनाउनुपर्ने बताउँछन् । घरबाहिर काम गर्ने अभिभावकलाई विशेष सावधानी अपनाउन उनको सुझाव छ ।

‘बाहिरबाट फर्किसकेपछि सरसफाइ गरेर र अर्को कपडा लगाएर मात्र बच्चाको नजिक जानुपर्दछ’, दाहाल भन्छन्, ‘सकेसम्म बाहिर काम गर्नेहरू बच्चासँग सुत्नु हुँदैन ।’ स्रोत : अनलाइनखबर