८६ लाख विद्यार्थीमध्ये झण्डै आठ हजारले मात्र पढ्छन् कृषि

0
63

काठमाडौं २७ असोज २०७७
प्राथमिक तहदेखि नै कृषि शिक्षाको पाठ्यक्रम नराखेसम्म कृषिमा आत्मनिर्भर हुन नसक्ने सरोकारबालाहरुले बताएका छन् । नेपालको कृषि एकातिर र शिक्षा अर्कोतिर गएका कारण कृषिमा दिगो विकास हुन नसकेको सरोकारबालाहले दावी गरेका छन् । उनीहरुले नेपालको कृषिअनुसारको शिक्षा पद्धति हुनुपर्नेमा जोड दिएका छन् । हाल नेपालमा विद्यालय तथा उच्च शिक्षा तहमा गरी सातहजार ९६४ विद्यार्थी मात्र कृषि अध्ययन गरिरहेका छन् जब कि सो तहमा करिब ८६ लाख विद्यार्थी अध्ययनरत छन् ।

यो सँख्याले कृषिमा विकास गर्न गाह्रो हुने सरोकावारले चिन्ता व्यक्त गरे । कृषि शिक्षामा विद्यार्थी वृद्धि गर्नका लागि प्राथमिक तहदेखि नै पाठ्यक्रम निर्माण गरी पढाई सञ्चालन गर्नुपर्ने सबैको सुझाव थियो ।
साताव्यापी रुपमा मनाइरहेको ४० औं विश्व खाद्य दिवसको अवसरमा खाद्यका लागि कृषि अभियानलगायत सरोकारवाला संस्थाद्वारा तेस्रो दिन मंगलबार आयोजित ‘शिक्षा एवम् खाद्य र कृषि’ छलफल कार्यक्रममा सरोकारवालाहरुले यस्तो बताएका छन् ।

कार्यक्रममा जनजज्योति माध्यामिक विद्यालय, सुर्खेतका प्रधानअध्यापक नाराणण सिग्देलले बालबालिकालाई विद्यालयस्तर देखि नै खाद्य शिक्षामा जोड दिनुपर्ने कुरामा जोड दिए ।
आफ्नो स्कुलले १ देखि ५ कक्षा सम्मको विद्यार्थीलाई निशुल्क खाना वितरण गरेको बताउँदै उनले के खाज खुवाएको र त्यो कहाँबाट उत्पादन हुन्छ भनि जानकारी दिनका लागि स्कूलमै बाली लगाएको जानकारी गराए ।
स्कूलले विद्यार्थीले खाने खाजा खाना कहाँबाट आउँछ भनेर देखाउन स्कुल हाता भित्रै मौसमअनुसारको मकै, गहुँ, धान लगाउनुको साथै विभिन्न पशुपंक्षी समेत पालेको उनले बताए ।

विद्यार्थीलाई गाईवस्तुको मलमुत्रबाट कसरी अग्र्यानिक खाद्यान्न उत्पादन सकिन्छ भन्ने कुरा पनि विद्यालयस्तरबाटै सिकाइने गरेको उनले बताए ।
विद्यार्थीलाई कृषि डायरी दिएर आफूले हरेक दिन खाएको खाद्यान्नको सूची बनाउन लगाउँछौँ,’ उनले भने, ‘र यो कहाँबाट आएको हो, यो कसरी बनाउने भनेर विद्यार्थीलाई होमवर्क दिन्छौं ।’

विद्यार्थीको आवश्यकताको आधारमा भन्दा पनि राज्यलाई कस्तो जनशक्ति चाहिने हो त्यो अनुरूपको शिक्षा दिनु पर्ने पाठ्यक्रम विकास केन्द्रका प्राविधिक पाठ्यक्रम विज्ञ खिलनाथ धमलाले बताए ।
कृषि पढाउने विश्वविद्यालयले बोर्डबाट नभई माटो बाट कृषि पढाइनु पर्ने उनले धारणा राखे ।

नेपाललाई कृषिमा आत्मनिर्भर बनाउने हो भने विद्यालय तहदेखि नै कृषि शिक्षा पढाउने र रोजगारीको अवसर दिनु पर्ने उनले सुझाव दिए ।
‘विद्यार्थीले उत्पादन गरेको सामान स्थानीय सरकारले लिने, ठाउँ र अवस्था अनुसार प्रक्षेपण गरि आवश्यकता अनुसार शिक्षा दिने गरेमात्र कृषिमा आत्मनिर्भर हुन सकिने उनले बताए ।
उनका अनुसा अहिले विद्यालय तहमा ८१ लाख, उच्च शिक्षामा ४ लाख ८६ हजार पढ्छन् । त्यसमध्ये कक्षा १० मा कृषि पढ्ने विद्यार्थी दुई हजार ५६९ र खाद्य विज्ञान पढ्ने ४७ जना मात्र रहेका छन् । यसमा वृद्धि गर्नुपर्ने आवश्यकता रहेको उनले बताए ।

त्यस्तै, कक्षा १२ मा ११ जना, प्राविधिक क्षेत्रमा पशु र वालि विज्ञान पढ्ने करिब ४ हजार ३९ जना रहेछन् । उच्च शिक्षामा बालि विज्ञान पढ्ने ९४५ जना र पशु विज्ञानमा ३५३ रहेका छन् ।
तुरून्त उत्पादन दिने शिक्षा पढ्ने विद्यार्थी थोरै र तुरून्तै उत्पादन नदिने शिक्षा पढ्ने विद्यार्थी धेरै भएकाले कृषिको विकास हुन नसकेको उनले बताए ।

कृषि शिक्षा पढ्ने विद्यार्थीलाई पर्याप्त मात्रामा छात्रवृद्धि दिन पर्ने, सुविधा सम्पन्न बनाउने, हरेक स्कुलले नमुना करेसाबारी, फलफल खेती, फुलबारी आदि जस्ता के लगाउन अनुकुल हुन्छ त्यो लगाउन दिनु पर्ने उनको धारणा छ ।
उनकाअनुसार अहिले राष्ट्रिय पाठ्क्रम २०७६ ले कक्षा ९ र १० को दोस्रो पत्रमा कृषि वागवानी, पुष्प खेती, रेशम खेती, मौरी पालन, पशु पालन, तरकारी खेती, माछा पालन, पंक्षी पालन, जडिबुटि खेती र खाद्य र विज्ञान राखेको छ । यसमा विद्यार्थीले छानेर पढ्न सक्छन् ।

त्यस्तै, कक्षा ११ मा पहिलो पत्रमा बालि विज्ञान, दोस्रो पत्रमा वागवानी, खाद्य र पोषण, तेस्रो पत्रमा पशुपालन, पंक्षी पालन र माछा पालन राखिएको छ ।
प्रकृतिलाई चिन्नको लागि, बुझ्नको लागि अध्यात्मिक शिक्षाको आवश्यकता रहेको मधेशमामिलाका जानकार चन्द्र किशोरले बताए ।

उनका अनुसार अध्यात्मिक शिक्षाले तत्कालिकतामा जाने की दीर्घकालिनतामा जाने भनेर बाटो तय गर्न सिकाउँछ । तत्कालिनता भनेको दोमन गर्ने तत्काल लाभ हुने क्षणलाई अध्यात्म हो । तत्कालिनताले समाज, समाजभन्दा पनि व्यक्तिलाई बुझाउँछ ।

पछिल्लो समय विभिन्न जनजातिको रैथाने परिकार हराउँदै गएको जनजातिको परिकारको विज्ञ सेफ प्रेम घिसिङले बताए।
सबैकुरा बाहिरका खाने प्रचलनले हाम्रो रैथाने बालीबाट हुने उत्पादनको परिकारको अध्ययन गर्नु आजको आवश्यकता रहको उनको भनाइ छ ।

‘जन्मने बेलादेखि मर्ने बेलासम्म प्रयोग गर्नका लागि हरेक जातिको आ–आफ्नै बाली छ त्यसलाई हराउँन दिनु हुँदैन, बाली हराउनु भनेको हाम्रो संस्कृति हराउनु हो,’ उनले भने ।
जीवनलाई सुखी राख्न खानको अत्यन्तै महत्व भएको डा. मुटुरोग विशेषज्ञ प्रकाशराज रेग्मीले बताए ।

त्यस्तै कार्यक्रममा केदार भक्त माथेमाले ‘नेपालमा कृषि शिक्षा एक विहङ्गावलोकनल’ नामक पुस्तक विमोचन गरेका छन् । रातोपाटी