राक्सिराङ वडा नं १ को कार्यालयमा लगाइएको ताला तोडियो

0
134

२७ असोज २०७७
मकवानपुर । पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नं १ को कार्यालयमा लगाइएको ताला तोडिएको छ । केही युवाहरुले वडाको कार्यशैलीप्रति असन्तुष्टि राख्दै असोज २३ गते वडा कार्यालयमा तालाबन्दी गरेका थिए । वडा कार्यालयमा तालाबन्दी भएपछि वडाबाट जनतालाई सेवा प्रवाह गर्न कठिनाई भएकोले ताला तोडेर सेवा सुचारु गरिएको वडा अध्यक्ष कान्छाराम रुम्बाले बताए ।

युवाहरुले व्यक्त गरेको असन्तुष्टिप्रति वडा कार्यालयले प्रेस विज्ञप्ति जारी गर्दै बुँदागत रुपमा स्पष्टीकरण दिइसकेको छ ।

‘यस कार्यालयसंग सम्बन्धित गुनासो तथा समस्याको नाममा राजनैतिक पुर्वाग्रह राखी केही सिमित व्यक्तिहरुद्धारा निजी स्वार्थ पूर्तिका लागि तालाबन्दी गरिएको हो । विगतमा पनि यस वडा कार्यालयमा तोडफोड, तथा धम्की जस्ता अनैतिक क्रियाकलापहरु पटक–पटक हुँदै आएका छन् ।’ – वडा अध्यक्ष कान्छाराम रुम्बाले भने ।

वडा नम्बर १ अन्तर्गत रहेको ग्रामीण सडकहरु सरसफाई गर्ने कार्य हालै गाउँपालिकाले गरेको टेण्डर मार्फत हुन पर्ने युवाहरुको माग थियो । तर उक्त सडक सरसफाइको सन्दर्भमा वडा कार्यालयबाट बजेट विनियोजन भइसकेकाले दोहोरो खर्च गर्न नमिल्ने वडा अध्यक्ष रुम्बाको भनाई छ ।

त्यसैगरी सेवाग्राहीहरुलाई वडा कार्यालयबाट नियमित रुपमा सेवा प्रदान गरिएको, सेवाबाट कोही पनि बञ्चित हुन नपरेको र उक्त विषयमा सर्वसाधरण जनताहरुबाट गुनासो समेत नआएको अवस्थामा सिमित व्यक्तिहरुले राजनैतिक पुर्वाग्रह राखेर वडा कार्यालयमा तालाबन्दी गरेको उनले बताए ।

ग्रामिण सडक सरसफाइको लागि गाउँपालिकाबाट टेन्डर आह्वान गरिएको थियो । सो कामको जिम्मा तामाङ कन्स्ट्रक्सनले पाएको छ । तर वडाले बजेट विनियोजन गरेर सडक सरसफाइको लागि संघीय वाइवा सडक निर्माण उपभोक्ता समिति नामक उपभोक्ता समिति समेत गठन गरिसकेको छ ।

एउटै कामको लागि दोहोरो खर्च गर्न नमिल्ने वडा अध्यक्ष रुम्बाले बताउँदै आएका छन् । वडाले बजेट विनियोजन गरिसकेकोले गाउँपालिकाबाट आह्वान गरिएको टेन्डरको विषयमा थप छलफल गर्नु पर्ने वडा अध्यक्षले बताएपछि युवाहरु तालाबन्दीमा उत्रिएका थिए । त्यसको अगुवाई नेकपाका वडा सेक्रेटरी सिंहराम रुम्बाले गरेका हुन् ।

उनकै पहलमा तामाङ कन्स्ट्रक्सन नामक निर्माण व्यवसायी कम्पनीले गाउँपालिकाबाट सडक सरसफाइको कामको जिम्मा पाएको थियो । वडाबाट असहयोग भएपछि उनैले तालाबन्दी गर्न युवाहरुलाई उक्सावट गरेको वडा अध्यक्ष रुम्बाको भनाई छ ।