राक्सिराङ्ग-१ को कार्यालयमा युवाहरुले तालाबन्दी, कारण के थियो?

0
209

२४ आश्विन २०७७

मकवानपुर । मकवानपुरको राक्सिराङ्ग गाउँपालिका वडा नं. १ मा वडाअध्यक्षको कार्यशैलीप्रति स्थानीय युवाहरुले बिरोध जनाएका छन । वडा अध्यक्ष कान्छाराम रुम्बाले कार्यशैलीप्रति बिरोध जनाउँदै युवाहरुले वडा कार्यलयमा तालाबन्दी गरेका छन । शुक्रबार वडा कार्यलयमा तालबन्दी गर्नुका साथै विभिन्न ४ बुँदे मागसहितको ज्ञापनपत्र बुझाइएको छ । राक्सिराङ्ग १ का युवा सञ्जालको नाममा बुझाइएको ज्ञापनपत्रमा वडा अध्यक्ष रुम्बाले बिकासबिरोधी क्रियाकलाप गरेको, सेवाग्राहीलाई पुर्वाग्रही ढंगले दुख दिने गरेको, बिकास निर्माणको काममा पक्षपात गरेको लगायत आरोपहरु लगाइएको छ । त्यस्तै वडामा निर्माण गरिने आधारभुत स्वास्थ्य सेवा केन्द्रको भवन निर्माणमा समेत सरकारी पैसा खर्च भइसक्दासमेत प्रक्रिया अघि नबढाइएको उल्लेख छ ।
ज्ञापनपत्रमा ग्रामीण सडकहरुको सरसफाई गाउँपालिकाकै टेन्डरमार्फत हुनुपर्ने, विभिन्न बाहाना बनाई सेवाग्राहीको काममा आलटाल गर्ने र दुख दिने काम तत्काल बन्द गर्नुपर्ने, वडा कार्यालय भवन र आधारभुत स्वास्थ्य सेवा केन्द्र विगतको निर्णयअनुसार निर्माण गर्नुपर्ने तथा उपभोक्ता समिति जनप्रतिनिधिले आफुखुशी गठन गर्ने प्रथाको अन्त्य हुनुपर्ने लगायत माग गरिएको छ । यी मागहरु पुरा नभए आन्दोलनमा उत्रने तथा माग पुरा नभएसम्म वडा कार्यालयमा लगाइएको ताला नखुल्ने चेतावनी युवाहरुले दिएका छन ।
कार्यालयको मुल ढोकामा युवाहरुले ताला लगाएका हुन । तालाबन्दी गरिएपछि वडा कार्यालयको कामहरु प्रभावित भएको छ । यसबारेमा युवाहरुसँग छलफल गरिने वडाअध्यक्ष रुम्बाले जानकारी दिए । रुम्बा स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट निर्वाचित भएका हुन । यसअघि पनि उनको कार्यशैलीप्रति युवाहरुले बिरोध जनाउँदै आएका थिए ।