राप्ती नगरपालिकामा प्रहरिले राखे गुनासो संकलन पेटिका

0
82

——————
चितवन । प्रहरी कर्मचारीसँग सम्बन्धित गुनासो तथा सुझाव संकलनका लागि राप्ती नगरपालिकामा सुझाव संकलन पेटिका राखिएको छ । बिहिबार एक कार्यक्रमको आयोजना गर्दै जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख नान्तिराज गुरुगंले नगरपालिकाका प्रमुख प्रभा बराललाई सुझाव पेटिका हस्तान्तरण गरे । प्रहरी प्रमुख गुरुङले प्रहरीसँगका गुनासा र सुझावहरु सर्वसाधारणले सहजै रुपमा राख्न सकुन् भन्ने उद्देश्यले हरेक स्थानीय तहमा सुझाव पेटिका राखिएको बताए । प्रहरीले घटनाको अनुसन्धान, शान्ति सुरक्षा तथा हरेक गतिविधिमा समुदायको सहयोग विना काम गर्न नसक्ने भन्दै सबैको साथ र सहयोगले समुन्नत समाज निर्माण गर्न सकिने ,गुरुङले बताए । उनले जिल्ला प्रहरी कार्यालय चितवनको फोन नं. ०५६–५२०१५५ मा महिला, बालबालिका लगायत विभिन्न विषयमा जानकारी, उजुरी, गुनासो टिपाउँदा कलर आइडी नदेखिने बनाईको बताए । जसकारण सुचना दिने ब्यक्तिको परिचय गोप्य रहने र पिडितले निर्धक्क फोन गर्न सक्ने उनको भनाई छ ।
कार्यक्रममा नगर प्रमुख बरालले प्रहरीले आफ्नो बारेमा सुझाव लिने र अपेक्षा संकलन गर्नु साह्रै नै महत्वपूर्ण काम भएको बताइन् । सबै प्रहरी, कर्मचारी खराब नभएको भन्दै उहाँले केही खराबका कारण सबै बद्नामी हुने अवस्थाको अन्त्य हुन पनि सुझाव संकलनले मद्दत पुग्ने बताइन् । प्रहरी प्रतिको आरोप र यथार्थताको कडीको रुपमा पनि सुझाव पेटिकालाई आफूले लिएको उनको भनाई छ ।
सो अवसरमा इलाका प्रहरी कार्यालय भण्डाराका प्रमुख प्रहरी निरीक्षक शुशिल कुमार पाण्डे, राप्ती नगरपालिका वडा नं १० का वडा अध्यक्ष एवम् नगरपालिकाका प्रवक्ता अमर बहादुर तमाङ, राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार कंडेल, विभिन्न जनप्रतिनिधि लगायत स्थानीयहरुको उपस्थिती रहेको थियो ।
यसैबीच चितवनका अन्य स्थानीय तहहरुमा समेत सुझाव संकलन पेटिका राखिएको छ । बागमती प्रदेश प्रहरी कार्यालयको कार्यक्रमअनुसार खैरहनी, कालिका, रत्ननगर लगायत सबै स्थानीय तहहरुमा सुझाव संकलन पेटिका राखिएको हो ।