आज चेपाङ जातिको न्वागी पर्व, राक्सिराङमा सार्बजनिक विदा

0
111

हेटौंडा – हरेक बर्ष चेपाङ समुदायले मनाउँदै आएको न्वागी पर्व यो बर्ष भने फितलो भएको छ। कारण हो, कोरोना प्रभाव। यो बर्ष कोरोनाको असरले गर्दा पहिलेको बर्षहरुझैं सबै भेला भएर न्वागी मनाउन नपाउने भएको छ।

न्वागी पर्वका बेला आयोजना हुने सबै औपचारिक कार्यक्रमहरु रद्द गरिएको छ । परम्परागत रुपमै गाउँघरमा पाण्डेले ढ्यांग्रो बजाएर पितृ पुजा गरी यो बर्षको न्वागी पर्व मनाउने तयारी भएको नेपाल चेपाङ संघले जनाएको छ ।

हरेक बर्ष भदौ २२ गतेलाई राष्ट्रिय चाडका रुपमा घोषणा गरी चेपाङ समुदायले न्वागी मनाउँदै आएका थिए । यो पर्वलाई छोनाम पर्व पनि भनिन्छ । न्वागी पर्वलाई आफ्नो नयाँ बर्षको सुरुवातका रुपमा लिएर पितृपुजा गरी नयाँ अन्न चढाउने र कुखुराको बली दिने चलन छ ।

“छोनाम पर्वमा नयाँ उत्पादन भएको मकै, घैया आफ्ना दिबंगत पितृलाई चढाएर मनाउने गरिएको छ”, नेपाल चेपाङ संघ मकवानपुर जिल्ला कार्यकारिणी समितिका अध्यक्ष पूर्णबहादुर प्रजा (चेपाङ) ले भन्नुभयो ।
बिगतमा बर्षहरुमा हुने गरेको सांस्कृतिक कार्यक्रमसहितका औपचारिक कार्यक्रम आयोजना नगरिएको अध्यक्ष पूर्णबहादुरले बताउनुभयो । उहाँका अनुसार राक्सिराङ, कैलाश र मनहरीका चेपाङ बस्तीहरुमा व्यक्तिगत रुपमा पाण्डे (झाँक्री) हरुले ढ्यांग्रो फलाकेर यस बर्ष न्वागी मनाइँदैछ ।
यस बर्ष बढ्दो कोरोना संक्रमणका कारण कुनै पनि औपचारिक कार्यक्रमहरु आयोजना नगरिएको संविधानसभा सदस्य एबम् संघका पूर्व केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले बताउनुभयो ।

भीडभाड नहुनेगरी चेपाङ समुदायलाई न्वागी पर्व मनाउन आग्रह – राक्सिराङ गाउँपालिका
राक्सिराङ गाउँपालिकाले चेपाङको न्वागी पर्वका अबसरमा सार्बजनिक विदा घोषणा गरेको छ । गाउँपालिकाले स्वास्थ्य सुरक्षा अनुशासन कायम गरेर भीडभाड नहुनेगरी चेपाङ समुदायलाई न्वागी पर्व मनाउन आग्रह समेत गरेको छ ।

गाउँपालिका अध्यक्ष राजकुमार मल्लले सूचना प्रकाशन गरी सार्बजनिक बिदा दिइएको जानकारी दिनुभयो । प्रकृतिसँग रमाउने र प्राकृतिक उत्पादनमा रमाउने चेपाङ समुदायको बसोबास लमजुङ, तनहुँ, गोरखा, चितवन, धादिङ र मकवानपुरमा छ।