युरिया मलमा बिचौलियाहरुको बिगबिगी, तरुण दलका युवाहरुले सक्रियता बढायो

0
186

हेटौंडा , भदौ १६ गते ।

मकवानपुर । पश्चिम मकवानपुरको मनहरीमा युरिया मलमा पनि बिचौलियाहरुको बिगबिगी भएको भन्दै राक्सिराङ र मनहरी गाउँपालिकाको तरुण दलका युवाहरुले सक्रियता बढाएको छ । लकडाउनको फाइदा उठाउदै अहिले किसानहरु ठगिको शिकार हुनु परिरहेको छ । किसानहरुले बोराको २५ सयदेखी ३ हजार रुपैयाँसम्म हालेर किनिरहेका छन् ।

नेपाल सरकारले अनुदान दिएको भन्ने सुनेका छौं तर हामीले पाएका छैनौं,’ राक्सिराङ गाउँपालिका वडा नं ८ की राममाया चेपाङले भनिन्, ‘खुद्रा पसलमा ५० किलोको बोरालाई २५ सय रुपैयाँसम्म तिर्दै आएका छौं । सहकारीमा २३ सय रुपैयाँ तिरेका छौं । युरिया बाहेक सरकारले डीएपीमा पनि अनुदान दिएको छ । तर चेपाङले किलोको ३० देखि ३५ रुपैयाँमा खरिद गर्दै आएको बताइन् ।

मनहरी गाउँपालिकाको किसानको भनाइ पनि चेपाङकै जस्तो छ । राक्सिराङ, कैलाश र मनहरी गाउँपालिकाको लागि अहिले मनहरी बजारमा रहेको एग्रोभेटबाट मल बिक्री हुदै आइरहेको छ । किसानले किलोमा २५ देखि ३० रुपैयाँ भन्दा बढी तिर्न बाध्य छन् । ‘युरियाको मूल्य प्रतिकिलो ३० रुपैयाँ भन्दा बढी नै पर्छ,’ मनहरीका राजन तामाङले भने, ‘अनुदान सुनेका मात्रै छौं ।’ सरकारले कृषि उत्पादन बढाउन किसानलाई सहुलियत मिलोस् भनेर रासायनिक मलमा अनुदान दिँदै आएको छ । युरियामा ७० प्रतिशतसम्म अनुदान छ । यसकै लागि वार्षिक अर्बौं रुपैयाँ बजेट विनियोजन गरिएको छ । बिचौलियाका कारण अनुदान किसानसम्म पुग्न सकेको छैन ।

जताततै बिचौलियाहरुको बिगबिगीको कारणले किसानले अनुदान पाउन सकेका छैनन् । अनुदान दिने प्रवृत्ति नै बिचौलिया र कर्मचारीको मागीखाने भाँडो भयो । सरकारले आम कृषकलाई लाभ वा सहुलियत दिने भए खुला रूपमै अधिकतम खुद्रा मूल्यमा अनुदानको मूल्य समायोजन गर्नुपर्छ । मनहरी चैनपुर रोड टोल बिकास समितिका अध्यक्ष मिलन मोक्तानले भने, ‘नीति निर्माण गर्ने योजनाकार, कर्मचारी र बिचौलियाका रूपमा काम गर्ने व्यापारी बदमास भएकै कारणले किसानहरु ठगिमा परिरहेको उनले बताए ।

किसानहरु हरेक बर्ष यस्तै ठगिमा पर्ने गरेको छ । मनहरी बजारकै एग्रोभेटहरुले राती राती मल ल्याउने र किसानलाई बोराको २५ सय देखि ३ हजार रुपैयाँसम्ममा निर्धक्कसंग बेचिरहेका छन् । उनिहरुले कानुनको डर नै नभएको जसरी दिनदहाडै सोझा चेपाङ तामाङ किसानहरुलाई ठगिको धन्दा चलाईरहेका छन् । यस्तो महामारीको बेलामा पनि ठगि धन्दा मौलाईरहेको भए पनि सम्बन्धित निकासले चासो नदिएको देख्दा उदेक लाग्छ । जसको फाइदा लिदै व्यापारीहरुले लुटिरहेको देखिन्छ । नेपाल सरकारले कृषिमा अनुदान दिने भनिए पनि सम्बन्धित निकायले बेलैमा अनुगमन गर्ने कार्यमा चासो नदिने हो भने किसानहरुलाई बिचौलियाहरुले सधै यसैगरि ठगि नै रहने छन् ।
स्रोत : स्वागतनेपाल अनलाइन ब्युरो