गजल “मेरो ज़मीन सम्पत्ति हो मेरो पूर्खाको”आनन्द श्रेष्ठ

0
71

एउटै मौक़ा दिनू, बारम्बार चाहिन्न
छप्काउनलाई खुकुरीमा धार चाहिन्न

भाइ भनेर नफकाऊनू दाइ बनेर ए !
ज़मीन दिन्न बरू तेरो प्यार चाहिन्न

हरियै छन् पहाड मेरा दाउरा बाल्नलाई
लैजा तेरो ग्यॉस तेल उपहार चाहिन्न

बॉचेका छौं आफ्नै पौरख आफ्नै गौरवले
भो भो तेरो नक्कली संसार चाहिन्न

तोरीको फूल देखाएर फकाउँदैछस् तँ
तेरो सुख्खा माहुरीको घार चाहिन्न

मेरो ज़मीन सम्पत्ति हो मेरो पूर्खाको
पूर्खाको यो सम्पत्तिलाई बजार चाहिन्न

आनन्द भो तेरो मुहार हेर्नै परेन
चाहिन्न तँ, एक दुई तीन चार चाहिन्न।