साहित्यमा गुणात्मक भन्दा संख्यात्मक बढी भयो भन्ने कुरा धेरै अघि पनि चलेको नै हो : साहित्यकार शर्मिला खड्का दाहाल

0
318

शिक्षाले  एम ए सम्म अध्ययन र १८ बर्ष  शिक्षण पेशाको अनुभव संगालिसक्नु भएकि,
लेखन विधामा : कथा, कविता,सस्मरण, लेख,समालोचना, सम्पादन,बालसाहित्य गरि
साझा बालसाहित्य बाट – २०६० मा पुरस्कृत ,
अनेसासको सर्वोत्कृष्ट नारी हस्ताक्षर स्व डिल्लीराम तिम्सिना स्मृति बाट सन २००७ मा पुरस्कृत ,
गुञ्जन प्रतिभा २०६६् मा पुरस्कृत
स्रष्टा साहित्य चौतारी बाट सन्  —२०१० मा पुरस्कृत ,
मायादेवी मातृभूमि साहित्यबाट  २०६८ मा पुरस्कृत ,
माता नरमाया खडका र पिता टिकाबहादुर खड्काका कोखबाट २०२३ साल कात्तिक १२ गते भोटेपुल,सुनसरी ८ धरानमा जन्मनु भएर हाल काठमाडौंमा बसोबास गर्दै अाउनु भएकि वरिष्ठ साहित्यकार शर्मिला खड्का दाहाल सँग सहयात्री अनलाइन खबर (हामीले) कोरोनाबाट वच्न लकडाउनको बेला अा-अाफ्नो घरमै क्वारेन्टाइनमा रहेर भलाकुसरी गरेका थियौं

प्रश्न – नमस्ते, यहाँलाई स्वागत छ, आरामै हुनुहुन्छ ?

            उत्तर –  नमस्ते , आरामै छ ।

प्रश्न  – हिजो आज तपाईँको दिनचर्या कसरी वितित हुँदैछ ?

 उत्तर – कोभिड १९ भाइरसले विश्वभर महामारी मच्याईरहेको छ । हाम्रो देश पनि यही महामारीको कारण लक डाउनमा छ । त्यसैले सामान्य धरायसी काम र लेखन पढ्नमा समय व्यतित भइरहेको छ ।

प्रश्न – वर्तमान अवस्थामा तपाईँले साहित्यलाई कसरी मुल्याकंन गर्नु हुन्छ ?

उत्तर – वर्तमान नेपाली साहित्यलाई म यसै भनेर मुल्याकंन गर्न सक्दिनँ । किनभने करीव सात आठ वर्षदेखि म नेपाली साहित्यमा निकै निस्क्रिय छु । त्यसअघि म निकै सक्रिय थिएँ । म सक्रिय रहेताका राम्राराम्रा साहित्यकारहरू हुनुहुन्थ्यो । बीचमा म व्यक्तिगत कारणले र घरायसी कारणले निकै निस्क्रिय भएँ ।  अहिले आएर केही सक्रिय हुँदै छु । त्यसबेला राम्रा सिर्जना गर्नुहुने साहित्यकारहरू साहित्यक्षेत्रबाट पलायन भएको पाएँ । त्यसकारण नेपालीसाहित्यको प्रगति सन्तोकजनक होला जस्तो लाग्दैन । यसरी राम्रा साहित्यकार पलायन हुनु राम्रो संकेत होइन । हुन त नयाँ नयाँ सर्जकहरू आउनुभएको छ तर मैले अध्ययन गर्न पाएको छैन । अब बिस्तारै अध्ययन गर्ने छु ।

प्रश्न – साहित्य लेखन कहिलेदेखि सुरु गर्नुभयो र केको लागि लेख्दै छु जस्तो लाग्छ  तपाईलाई ?

उत्तर – मेरा साहित्य यात्रा खास भनु भने २०६० सालमा सानी छापिएपछि सुरु भएको हो । त्यो भन्दा अघि पनि म केहीकेही लेखिरहन्थे । २०५५ सालमा एउटा लघुकथा समष्टिमा छापिएको थियो । त्यतिखेर फाटफुट मात्र लेख्थे । सानी पुस्तक छापिएर पुरुस्कार पाएपछि ममा चुनौति थपियो,  हौसला बढदै गयो । त्यसपछि निरन्तर जागिर पनि छोडेर लागि परेँ । म केको लागि लेख्छु भन्ने मलाई थाहा नै हुदैन । खासमा सानो सानो घटनाले म संवेदनशील हुन्छु । मलाई धेरै दुख्छ फेरि म स्वाभिमानी पनि छु । यस्तो भएपछि मलाई छटपटी हुन्छ अनि मनको भावना शब्दमा पोखेपछि मन हल्का हुन्छ । विशेष म सिमान्तकृत, पिडित र शोषितको पक्षमा लेखिरहेको हुन्छु । शायद मभित्र चेतनप्रवाह अलिबढि छ जसले मलाई चुप लागेर बस्नै दिदैन । अनि जे देख्छु, जे ले मलाई भित्रसम्म छुन्न लेखिहाल्छु ।

प्रश्न– तपाईले अहिले सम्म के कति कृतिहरू जन्माउनुभयो र तपाईँले   कृति निकाल्नुको उद्देश्य चाहिँ ?

त्तर – मैले अहिले सम्म बालसाहित्य बाह्र वटा पुस्तक  प्रकाशन गरेको छु भने प्रौढ साहित्यको आठ वटा पुस्तक  प्रकाशन गरी सकेको छु । मैले कृति प्रकाशन गर्नुको उद्देश्य समाजमा त्यसलाई जन्म दिनु हो । किनभने कृति प्रकाशन गर्नको लागि अन्य प्रकाशनसँग मैले धेरै अनुरोध गरेँ तर कसैले प्रकाशित नगरिदिएको अवस्थामा मैले आफैले प्रकाशन गरेको हुँ । तर मैले विक्री वितरणको व्यवस्था राम्रो सँग गर्न नसकेको हुनाले कतिपय पुस्तकालयमा निशुल्क वितरण गर्दै आएको छु । मैले खासै यो बाट आर्थिक आर्जन हुन्छ भनेर सोचेको पनि छैन । 

प्रश्न – हिजो आज साहित्य गुणात्मक भन्दा संख्यात्मक विकास भयोझैँ लाग्छ यसमा तपाईँ के भन्नुहुन्छ ?

उत्तर –मैले माथि नै भनिसके नि अहिलेको नेपाली साहित्य मैले राम्रो सँग अध्ययन गर्न पाएको छैन । त्यसैले यसै भन्न सक्दिनँ तर साहित्यमा गुणात्मक भन्दा संख्यात्मक बढी भयो भन्ने कुरा धेरै अघि पनि चलेको नै हो ।

प्रश्न – अहिलेसम्म उपन्यास, गजलसग्रहसहित कविता कृति जन्माइ सक्नुभएछ, छिटफुट लेख रचना त कति पो सिर्जना गरिसक्नुभयो होला ? आफनो लखेनबाट निकै खुसी मिलेको पल र दुख लागेको पल हामीलाई सेयर गर्न मिल्छ कि ?

उत्तर – खासमा मेरो लेखन विधा आख्यान हो । त्यसमा पनि बालसाहित्यमा धेरे जसो आख्यान ने लेखेकी छु । म कविता साहै थोरै लेख्छु । मैले कवितासंगह र गजलसंग्रह निकालेको छैन । मैले गजल त लेखेको नै छैन । प्रौढ साहित्यमा कथासंग्रह, संस्मरण, समालोचना, पत्रसाहित्य प्रकाशन गरेकी छु ।

मेरो लेखनमा खुसी प्राप्त भएको भनेको सानीले साझा बालसाहित्य पुरस्कार पाउँदाको समय हो । मैले सोचको नै थिइनँ कि एउटै पुस्तकले राष्टिय पुरस्कार पाउँछ भनेर फेरि यसको दोस्रो भाग सानीको साहसले पनि अन्र्तराष्ट्रिय नेपाली साहित्य समाजको पुरस्कार पायो यसले पनि मलाई निकै खुसी दियो । साहित्यमा दुःखको क्षणको कुरा गर्ने हो भने धेरै नै छ । यही भन्ने छैन । पुस्तक बिक्री वितरण गर्दाको समयमा धेरै दुःखका कुरा छन् । त्यस्तै साहित्यिक क्षेत्रमा भएका अनेकौ खराव कुरा आरोपप्रत्यारोप,  अस्वस्थ्य प्रतिस्पर्धाहरू देख्दा साह्रै दुःख लाग्छ । सबै भन्दा खराव राजनितिमा जस्तै साहित्यमा हुने पार्टीगत भागबन्डा खराव कुरा हुन जसले निस्वार्थ साहित्यमा सेवागर्नेहरूलाई ओझलमा पारेको छ । त्यस्तै चाकडी र चापलुसी , नातावाद, कृपावाद पनि हाम्रो साहित्यमा भएका दुखलाग्दा कुरा हुन् । यी सब दुःखका कुरा बीच पनि पाठकहरूको न्यानो माया, समाजको लागि केही गर्न सकेको गौरवले र अग्रजहरूले दिनुभएको हौसला र प्रेरणाले निकै नै खुसी दिन्छ । जसले दुःखका सबै कुराहरू  बिर्साइदिन्छ

प्रश्न –  साहित्यमा लाग्ने प्रेरणाको बाट पाउनुभो तपाईँले ? अनि घरपरिवारबाट के कस्तो सर्पोट पाउनुभएको छ ?

उतर: साहित्यलेखनको लागि मैले कसैबाट प्रेरणा पाएकी होइन । समयले मलाई जन्माएको हो ।  जीवनमा घटने घटनाहरूले मलाई कलम चलाउन बाध्य बनायो । मैले घरपरिवारबाट साहित्य लेख्नको लागि त्यस्तो ठूलो सपोर्ट पनि पाएको छैन र त्यस्तो धेरै प्रोत्साहन पनि पाएको छैन । पहिलो पुस्तकले पुरस्कार पाएको हुनाले मैले लेख्नै पर्ने बाध्यता पनि हुँदै गयो । यसबाट म टाढिन पनि सकिनँ । फेरि परिवारबाट लेख्दै नलेख भन्ने पनि छैन । म आफैँ आफ्नो समय व्यवस्थापन गर्दै लेख्छु ।

प्रश्न –  तपाईँ कुन समय लेख्न रुचाउनुहुन्छ ? र समयको तारतम्य चाहिँ कसरी मिलाउनु हुन्छ ?

उत्तर  — मलाई लेख्नलाई एकान्त र प्रशस्त समय चाहिन्छ । समय त आफैँ मिलाउनुपर्छ । बिचमा म साहित्यबाट टाढा रहनुको मुख्य कारण धेरै मध्ये एउटा चाहिँ मैले प्रशस्त समय नपाउन पनि हो । एउटा महिलाले आमा भएर घरपरिवार, छोराछोरी, इष्टभित्र, परपाहुना र चाडपर्वको सबै अभिभारा बोकेर लेख्न धेरै गाह्रो हुन्छ । त्यसमा पनि आफै कमाउने हुँदा अति जटिल हुन्छ । त्यसैले पनि बीचमा मैले साहित्यमा टाढा नै हुन रुचाएँ । खासमा चाहिँ म टिभी हेर्ने समय, गफ गर्ने समय, घुम्ने समय र रातीको समय चोरेर नै लेख्ने र पढने गर्दछु ।

प्रश्न  – भावि दिनहरूमा शर्मिलाबाट आम पाठकले कस्ता खाले खुराकको अपेक्षा गर्दा होला ?

उत्तर – यो समय भनेको मेरो साहित्य लेखनको ब्रेक भएको समय हो । यो अघि म जसरी प्रेम वासना, यौनमनोविज्ञानको विषयमा लेख्थे अब म पृथकरुपमा लेख्ने सोच बनाइरहेकी छु । यो बीचको समयमा मैले महिला विषय अध्ययन गरेँ । हुन त म स्वयम् पनि महिला भएको नाताले साहित्य लेख्न त्यति सजिलो भएन । निकै नै संधर्ष गर्नु पर्यो । किन यसो भयो भनेर नै मैले महिला विषय पढन पनि रुचाएँ । जव मैले यो विषय पढेँ तब मलाई थाहा भयो कि समाजमा महिलाको अवस्था कस्तो छ भनेर । हुन त मैले व्यवहारिक भोगाइहरू त भोगिरहेकै थिएँ । अनि समाजमा पनि देखी रहेकी थिएँ जसलाई मैले मेरो आख्यानलेखनमा पनि लेखिरहेकै थिएँ । तर जब सैद्घान्तिक कुराहरू पढदै गएँ मलाई कहाली लागेर आयो । त्यसपछि मैले सोचेँ म महिला सशक्तिकरणका कुरालाई साहित्यमा ढालेर लेख्ने छु । त्यस्तै सिमान्तकृत, किनाराकृत वर्गको विषयमा पनि कलम चलाउनेछु भन्ने सोच बनाएँ । हुन त अघि पनि मैले कलम चलाएकी नै हुँ । अब लेखन यस्तै र अलिअलि दार्शनिक र अध्यात्मिक पनि हुनेछ भन्ने सोच बनाएकी छु ।

प्रश्न  – भावि पिढी जो साहित्यमा विश्वास गर्छन् र साहित्य सिर्जना गर्न रुचाउँछन् उहाँहरूलाई तपाईँ के भन्नुहुन्छ ?

उत्तर –  हुन त साहित्य सिर्जना गर्नु खुसीको कुरा हो । जहाँ रवि पुग्न सक्दैनन् उहाँ कवि पुग्छन् भनिन्छ । यसले मानिसलाई बाँच्ने कला सिकाउँछ भन्छु म यो मेरो सोचाइ हो । अहिले नयाँ स्रष्टा आउनुभएको छ । उहाँहरूलाई स्वागत छ । तर म मेरो अनुभवको आधारमा के भन्छु भने  साहित्यक्षेत्र अनुत्पादक हो । घरमा परिवार छोराछोरीलाई अत्यावश्यक कुरा पुरा गर्नसक्नु हुन्छ भने यो क्षेत्रमा आउनुहोस् नत्र तपाईँलाई बाँच्न धेरै गाह्रो हुन्छ । अघि मैले भने धेरै राम्रा राम्रा साहित्यकारहरू साहित्यक्षेत्रबाट पलायन हुनुभयो किन हुनुभयो भन्दा खासमा आर्थिकोपाजर्न एउटा कारण नै हो । त्यसपछि अन्य कुराहरूमा साहित्यिक क्षेत्रमा हुने धेरै खराव कुराहरू पनि हुन् ।

प्रश्न  – यति सोध्दासोध्दै पनि सोध्न मन लागेको कुरा तपाईँको शब्दमा भन्नुपर्दा वास्तवमा साहित्य भनेको  र साहित्य कस्तो हुनुपर्छ भन्ने लाग्छ तपाईँलाई ।

उत्तर – साहित्य भनेको समाजको ढुकढुकी हो । समाजको प्रतिबिम्ब हो । समाजमा के भइरहेछ त्यो साहित्यले देखाउनुपर्छ । साहित्यलाई समाजको गहना र सम्पत्ति पनि मानिन्छ । जुन समाज साहित्यमा अगाडि छ त्यो समाजलाई सम्पन्न मानिन्छ । तर साहित्यका बारेमा भनिएका यी व्याख्या भन्दा पर म के भन्न चाहान्छु भने साहित्य समाजको वैध वा डाक्टर पनि हो । जसरी डाक्टरहरूले मानिसको शरिरमा कहाँ रोग छ भनेर विरामीको शरिर चिरफार गरेर लागेको रोग निको पार्छ त्यस्तै साहित्यले पनि समाज भएका विकार कुरा विकृति विसंगतिलाई चिरफार गरेर देखाउनुपर्दछ । समाजमा रोगको जरा कहाँ छ भनेर देखाउनुपर्छ । साहित्यले मनोरञ्जन दिने अथवा विरेचन गर्ने मात्र होइन रोगको आकारप्रकार यसको फैलावट र भविष्यमा पार्ने असर सहित देखाउनुपर्दछ । जसरी महाकवि लक्ष्मीप्रसाद देवकोटाले मुनामदन खण्डकाव्य लेखेर मानिसलाई आनन्द दिनुभयो । विरेचन गराउनुभयो ।  तर त्यति मात्र नभई उहाँले नेपाली समाजको विदेशिनुपर्ने बाध्यतालाई त्यही बेला नै साहित्यमा ढालेर समाजलाई देखाइसक्नुभएको थियो । त्यसैले साहित्यले समाजको विगत, वर्तमान र भविष्यको रुपरेखा कोर्न सक्नुपर्दछ ।

 – अनि अर्को रमाइलो प्रश्न तपाईँको लागि यो उमेरमा त तपाईँ कविको निकै सुन्दर कविता जस्तै सुन्दर हुनुहुन्छ बेलामा कस्तो हुनुहुन्थ्यो ? त्यसमाथि साहित्यिप्रश्नक मन भएको सुन्दरीले कतिलाई घायल र कायल बनाउनुभयो ?

उत्तर –  हाँ हाँ  भाइले हँसाउनु भयो । वास्तवमा म त्यति सुन्दरी मानिस होइन । तर पनि भनिदिनुभयो । धन्यवाद छ । सुन्दरता भन्दा नि मेरा रचना पढेर निकै जना प्रभावित हुनुहुन्थ्यो त्यो बेला । वास्तवमा म साहित्यमा निकै ढिलो प्रवेश गरेकी हुँ । त्यस्तो रोमान्टिक  उमेर त मेरो थिएन तर पनि मेरा कथाहरू अलिक स्वछन्द किसिमको हुने हुनाले एकप्रकार आकर्षण हुन्थ्यो । तर हामीले सबै कुरा लेखन जस्तो ठान्नुहुन्न । लेखक त कल्पनामा रमाएको हुन्छ । लेखकीय जीवन एउटा हुन्छ अनि वास्तविक जीवन अर्कै हुन्छ । त्यसलाई विशेषत महिला लेखकले आफैँले एउटा लक्ष्मणरेखा कोर्न सक्नुपर्छ । बजारमा हल्ला त धेरै फिजिन्छन् । समाजमा भात भन्दा बातले पेट भर्नेहरू  पनि प्रशस्त नै हुन्छन् । यस्ता हल्ला कति फिजाउँथे कति ! म वास्ता नै गर्दिनथेँ ।

त्यसैले आफै नै जोगिएर हिँडनु पर्छ । त्यसो त बालसाहित्य पढेर बालबालिका पनि मोहित  हुन्थे । प्रौढ साहित्य पढेर महिला पुरुषहरू दुवै नै म प्रति आकर्षित हुनु हुन्थ्यो ।  यो त एउटा क्रेज न हो । कलाकार, साहित्यकार, खेलाडीहरूले जीवनमा पाउने उपहार हो यो । यसलाई सामान्य ठान्नुपर्छ । 

त्यो त भइहाल्छ नि ।

प्रश्न –  अन्त्यमा मैले सोध्न भुलेको केही छ कि ? अथवा अन्त्यमा के भन्न चाहानुहुन्छ ?

उत्तर  : मलाई अन्त्यमा भन्न मन लागेको कुरा के छ भने, धेरै जसो घरपरिवारले साहित्य लेखेको मन पराउँदैनन । यो कुरा मैले स्कुलमा पढाउँदा देखि नै अनुभव गरेकी हुँ । स्कुलमा नै अभिभावकहरू आफ्ना नानीहरूले कविता, गीत र कथा लेखेको मन पराउनुहुन्नथियो । त्यस्तै  धेरै जसो घरपरिवारमा पनि साहित्य लेखेर के हुन्छ कमाइधमाइ हुँदैन भन्ने मानसिकता छ । साहित्यकार भन्ने कुरा आफूले हुन्छु भनेर हुँदैन । यो त इश्वरको देन हो । त्यसैले यस्ता साहित्यिक प्रतिभालाई घर समाजले संरक्षण गरौँ । राज्यबाट पनि साहित्यलेखन गर्नेलाई साहित्यलेखनवृत्ति दिने प्रचलन गरौँ । यसो गरेमा  साहित्यलेखनले मौलाउने अवसर पाउँछ । नत्र त नेपालीसाहित्यको स्तर बढाउन निकै गाह्रो हुन  सक्छ

प्रश्न –– समय र विचारको लागि सहयात्री खवर यहाँलाई धेरै धेरै धन्यवाद सहित  यहाँको साहित्यिक उज्ज्वल भविष्यको कामना गर्दछ ।

उत्तर –– मेरो पनि सहयात्री खवरलाई धेरै धेरै धन्यवाद छ । मलाई धेरै समयपछि मनको कुरा पोख्ने अवसर दिनुभयो । तपाईलाई पनि धन्यवाद छ ।

नोट : प्रश्नकर्ता राजेश रुम्बा “अतृप्त्”
वैशाख १३ गते २०७७ चितवन